पाकिस्तानमा नरसंहार: आत्मघाती हमलामा १३ सैनिकको मृत्यु तथा दर्जनौं घाइते ,बालबालिका पनि परे चपेटामा

इनेप्लिज २०८२ असार १५ गते ९:४३ मा प्रकाशित

उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको उत्तर वजिरिस्तानमा भएको एक भीषण आत्मघाती हमलामा कम्तीमा १३ सैनिकको ज्यान गएको छ भने दर्जनौं अन्य घाइते भएका छन्।

शनिबार मीर अलीको खाडी बजार क्षेत्रमा भएको उक्त आक्रमणमा एक आत्मघाती आक्रमणकारीले विस्फोटक भरिएको सुरक्षासहितको सवारी साधन समूह तर्फ ठोक्काएपछि शक्तिशाली विस्फोट भएको स्थानीय सञ्चारमाध्यम ‘खैबर क्रोनिकल्स’ले जनाएको छ।

सुरक्षा स्रोतका अनुसार बम निस्क्रिय इकाई नजिकै विस्फोट गराइएको थियो। यस आक्रमणमा २४ जना घाइते भएका छन्, जसमा १४ जना सर्वसाधारण रहेका छन्।

विस्फोटका कारण दुई घरको छाना भत्किँदा ६ बालबालिका समेत घाइते भएका छन्। अल जजिराका अनुसार यो हालका महिनाहरूमा सुरक्षाकर्मीमाथि भएको सबैभन्दा घातक एकदिने आक्रमणमध्ये एक हो।

यस आक्रमणको जिम्मा पाकिस्तान तालिबान (टीटीपी) को एक सशस्त्र गुट हाफिज गुल बहादुर समूहले लिएको छ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान पुनः सत्तामा फर्किएपछि पाकिस्तानमा विशेषगरी सीमावर्ती क्षेत्रमा हिंसात्मक घटनाहरू तीव्र भएका छन्। पाकिस्तानले अफगान भूमिमा आतंककारी गतिविधिलाई प्रश्रय दिएको आरोप लगाए पनि तालिबानले त्यसलाई अस्वीकार गर्दै आएको छ।

एएफपीको विवरणअनुसार यो वर्षको सुरुदेखि हालसम्म खैबर पख्तूनख्वा र बलुचिस्तानमा विद्रोही समूहद्वारा गरिएका आक्रमणमा करिब २९० जनाको मृत्यु भइसकेको छ, जसमा अधिकांश सुरक्षाकर्मी छन्।

प्रतिक्रिया