रुसद्वारा युक्रेनमा युद्धकै सबैभन्दा ठूलो हवाई हमला: ५३७ हतियार प्रहार, ठूलो क्षति

इनेप्लिज २०८२ असार १५ गते १०:०३ मा प्रकाशित

युक्रेनका अधिकारीहरूले आइतबार जानकारी गराए अनुसार रुसले रातारात युक्रेनमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई हमला गरेको छ। यो बढ्दो बमबारी अभियानले तीन वर्ष लामो युद्ध अन्त्य गर्ने आशालाई थप अन्यौलमा पारेको छ।

युक्रेनी वायुसेनाका अनुसार रुसले कुल ५३७ हवाई हतियार प्रहार गरेको थियो । रुसले ४७७ मानव रहित यान (ड्रोन)को साथै ६० वटा क्षेप्यास्त्र (मिसाइल)हरू प्रयोग गरेको थियो ।

यीमध्ये २४९ वटा खसालिएका थिए भने २२६ वटा हराएका थिए । युक्रेनी अधिकारीका अनुसार सम्भवतः विद्युतीय रूपमा जाम गरिएको थियो।

युक्रेनी वायुसेनाका सञ्चार प्रमुख युरी इहनातले एसोसिएटेड प्रेसलाई बताएअनुसार यो हमला फेब्रुअरी २०२२ मा रुसको पूर्ण-स्तरीय आक्रमण सुरु भएयताकै “सबैभन्दा ठूलो हवाई हमला” थियो ।

यो आक्रमणले पश्चिमी युक्रेन सहित धेरै क्षेत्रहरूलाई निशाना बनाएको थियो जुन अग्रपंक्तिबाट धेरै टाढा छन्। पोल्याण्ड र मित्र राष्ट्रहरूले पोल्याण्डको हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न विमानहरू उडाएका थिए ।

खेर्सन क्षेत्रमा मानव रहित यान हमलामा एक जनाको मृत्यु भएको गभर्नर ओलेक्जेन्डर प्रोकुडिनले बताए, जबकि खार्किभ क्षेत्रमा एउटा कारमा मानव रहित यान (ड्रोन )ठोक्किँदा अर्का व्यक्तिको मृत्यु भएको गभर्नर ओलेह साइनिहुबोभले जानकारी दिए। चेरकासीमा छ जना घाइते भएका छन् जसमा एक बच्चा पनि परेका छन् ।

सुदूर पश्चिमी क्षेत्रमा आक्रमणपछि ड्रोहोबिच शहरको एक औद्योगिक भवनमा ठूलो आगलागी भएको थियो । युक्रेनको वायुसेनाले आफ्ना पश्चिमी साझेदारहरूले उपलब्ध गराएको एउटा एफ-१६ युद्धविमान हवाई लक्ष्यहरू खसाल्ने क्रममा क्षतिग्रष्त भएपछि दुर्घटनाग्रस्त भएको जनाएको छ। विमानका चालकको मृत्यु भएको छ।

यी ताजा आक्रमणहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार इस्तानबुलमा प्रत्यक्ष शान्ति वार्ताको नयाँ चरणका लागि मस्को तयार रहेको बताएको भनाइपछि आएका हुन्।

प्रतिक्रिया