लोकतन्त्रका १४ बर्ष र जन अपेक्षा

वीरेन्द्र रावल २०७७ वैशाख १२ गते २१:०८ मा प्रकाशित

वीरेन्द्र रावल,

यता सडकमा गणतन्त्रका नारा लाग्दै थिए उता घरका छत र सडकका पेटीमा आन्दोलनकारीहरुले लगाएका नाराहरु संगै तोते बोली बोल्ने उमेरका बालबालिकाहरु आफैले लगाएको टिर्सट,गञ्जी र टाउकाको टोली खोलेर आन्दोलनकारीहरुको सिको गर्ने नाबालकहरु यति बेला १८ देखि २० बर्षका जवान भैसके।

उनिहरुलाई आफ्ना बुवा,आमा ,काका काकी देखि लिएर ठूला बा आमाहरु समेत सडकमा आदोलन गरेर जिन्दावाद र मुर्दावादको नारा लगाउँदै गरेको देख्नु नियतिनै भैसकेको थियो । दिनभरीको आन्दोलनका कारण रातो पिरो,कालो मस्लोझै बनेर कोही घर पुग्थे,कोही प्रहरीको लाठी र बुटले टाउँको फुटालेर अस्पतालमा पुग्थे त कोही हातमा काम्रो अनि टाउँकोमा पट्टी बाँधेर घर पुगेको अवस्थामा तीं नानी बाबुहरुले आफ्ना अभिभावकलाई सोध्ने गर्दथे बाबा यो के भएको ? तोते बोलीमा ताउकोमा कसरी हगत (रगत) आको ? कस्ले पिटेको बाबा ? किन पिटेको जस्ता प्रश्न तेर्साउने नावालकहरु यति बेला बालिग बनिसकेका छन्।

उनिहरु आफ्ना बाबा ,काका काकी अनि छरछिमेकका हजुरवा र हजुर आमालाइ देख्ने वित्तिकै घरमा तोते बोलीमा निरंकुश राजतन्त्र मुद्धाबाद(मुर्दावाद) पिटेको ( लोकतन्त्र) जिन्दावाद,गणतन्त्र जिन्दावाद ,जस्ता नाराहरु लगाएर देखा सिखी गर्ने गरेका विगतका तीं झल्कोहरु अँझै ताजै छन् । बालापनमा तीं बालबालिकाहरुले देखेका र गरेका गतिविधीहरुलाइ अँझै मानसपटलमै सुरक्षितनै राखेका छन्।

हो त्यो जमात यति बेला २१ औं शताब्दीको प्रविधी संग खेलिरहेको छ । नेपालमा रोजगारी नपाएर विदेका गल्ली –गल्लीमा पसिनासंग पैसा साँटिरहेका छन् । कतिपय विदेशका खाडीमा कामको खोजीमा पुगेका छन् । कोही अरवका खाडीहरुमा ५५ देखि ६० डिग्रिको गर्मीमा ज्यानलाई हत्केलामा राखेर कष्टकर जीवन विताउन बाध्यछन्।

हिंजो लोकतन्त्र र गणतन्त्रका लागि सडकमा आन्दोलन गर्ने योद्धाहरु आज घर न घाटका भएका छन् । सडकमा प्रहरी र सेनाका लाठि ,डण्डा खाएर घर पुग्ने अनि नावालकहरुले के भयो बाबा, आमा भनेर सोध्दा पुलिसले कुटेको भनेर जवाफ दिनेहरुका छोरा छोरीहरु अहिले नत सरकारी जागरिमा छन् नत युके,जापान,बंगलादेश र अष्ट्रेलियाका महंगा बिद्यालयहरुमा उज्ज्वल भविष्यको भाग्य कोर्दैछन् । आन्दोलनकारीका छोराछोरीहरु कित नेपालका होटल कलकारखाना,कित भारतका गल्ली– गल्लीमा गोर्खेको बिल्ला भिरेर चौकीदारी गरिरहेका छन्।

विद्यालय वा क्याम्पस पढाउन सक्नेका छोरा छोरीहरु कोही २० देखि २१ पार गरेका युवाहरु क्याम्पसमा अध्ययन गरिरहेका छन् । त कोही घरायसी काममा आमा बुवालाई सघाई रहेका छन् कित नेपालका राजनीतिक दलका नेताहरुका लागि गाउँघरमा झेलेका रुपमा प्रयोग गरिएका छन् । उनिहरुका बुबा आमाले कतै सरकारी जागिर वा पुलिसमा लगाई देलानकी नेताहरुले भनेर आश मानि –मानी दलहरुका झण्डा बोक्न लगाईरहेका पनि छन् । भने नेताहरुबाट उनिहरुले यस्तो आशापनि राखेकै अवस्था छ की पार्टीहरु सरकारमा गएपछि कतै छोराको जागिर भैहाल्छकी । आफु त अगाडी बढ्न सकिएन, छोरा छोरीलाई नेताहरुले जागरि लगाइ दिए भैहाल्थ्यो भन्ने आशामा उनिहरुले जीवन पार्टीका लागि सुम्पे– सुम्पे तर छोरा छोरीहरुको जागिरका लागि पनि उनिहरुले पार्टीका कार्यक्रमहरुलाइ चटक्कै छोड्न सकिरहेका पनि छैनन् । दलमा लागेर नत आफु बन्नु भयो, नत हामीहरुलाई जागिरनै लगाउन सक्नु भयो भन्दै प्रत्येक साँझ विहान सन्तानहरुको गुनासो र किचकिच सुन्न बाध्यछन् नेपालका पिडित राजनीतिककर्मीहरु।

यो त भयो शान्तिपूर्ण रुपले लोकतान्त्रिक आन्दोलनमा सहभागि भएकाहरुको रामकहानी । उता १० बर्षे शसस्त्र जनयुद्ध लडेका तत्कालिन नेकपा माओवादीका सहिदका परिवारहरुको पिडा पनि उस्तै छ । जनयुद्धमा लागेकाहरुका बुवा आमाले जनयुद्धमा सहादात प्राप्त गरे भने यता तत्कालिन नेपाली सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीमा कार्यरत जवान देखि उच्च तहका कतिपय कर्मचारीहरु माओवादीको आक्रमणमा मारिन पुगे । तत्कालिन अवस्थामा राज्य र गैर राज्यको चेपुवामा परेर १७ हजार नेपालीहरुले अनाहकमै ज्यान गुमाउन पुगे । त्यसपछि सडकमा निरंकुश राजतन्त्रका विरुद्धमा सडकमा सात राजनीतिक दल र जंगलबाट नेकपा माओवादीले चर्को आन्दोलन गरिरहेको अवस्थाका बिचमा नेकपा माओवादी र सात राजनीतिक दलहरुका सबचमा १९ दिने संयुक्त जनआन्दोलन थालियो । त्यसैको बलबाट नेपालमा २४० बर्षे निरंकुश राजतन्त्रको अन्त्य भई देशका लोकतान्त्रिक गणतन्त्रको स्थापना हुन पुग्यो । गणतन्त्र ल्याउनका लागि पनि नेपालमा थुप्रै मानिसहरु अंगभंग हुन पुगे भने कतिपय मानिसहरुले साहदात गर्न पुगे त कतिपय मानिसहरु अँझै पनि अपाङ अवस्थामा घरमै उपचार नपाएर वेवासिे बन्न पुगेका छन्।

तत्कालिन नेपालका सात राजनीतिक दलहरुले गरेको लोकतान्त्रिक आन्दोलन र नेकपा माओवादीले गरेको शशस्त्र जनयुद्धको मकसद भनेको नेपालमा दिगो शान्ती,समृद्धि र विकासनै थियो । नेपाली जनताले नेपालका राजनीतिक दलहरुबाट तीन वटा कुराहरुको आशा राखेर जनआन्दोलनमा सहभागिता जनाएका थिए । एउटा लोकतन्त्रको स्थापना, देशमा स्थाई शान्ति र विकासनै थियो । जनताको तत्कालिन प्रमूख आशा देशमा शान्ति वहाली गर्नुनै थियो । तर आज नेपालमा लोकतन्त्र आएको ठिक १४ बर्ष पुरा भएको छ।

नेपालीमा एउटा उख्खान रहेको छ कि १२ बर्षपछि त खोला पनि फर्किन्छ भनेर । रामायणमा राम १४ बर्ष वनवास बसेको पनि किम्वदन्ती छ । तर नेपालको राजनीतिमा नत रामले वनबास बसेको धार्मिक उपलब्धीको सार्थकता पाएझैं हुन सक्यो नत १२ पछि जनताले खोजेका शान्ति,समद्धि र विकासको चाहनालेनै सार्थकता पाउन सक्यो।

आज १४ बर्ष अघिका युवाहरु र जन आन्दोलनमा लागेका युवा देखि वृद्धहरु यो लोकतन्त्रको सहि सदुपयोग नभएको भन्दै बिष वमन गरिरहेको अवस्था बिद्यमान रहेको छ।

हिंजोका तोते बोली बोल्ने बालकहरु यति बेला युवा अवस्थामा परिणत भएका छन् । त्यति बेला उनिहरुमा कुनै पनि राजनीतिक चेतना थिएन तर दलहरुले गल्लीमा लगाएका नाराहरुको कहानी गर्न उनिहरु अहिले पनि सक्छन् । उमेरले १८ देखि २० बर्षका छन् उनिहरु । उनिहरु यति बेला समृद्ध नेपाल ,सुखी नेपाली र स्वरोजगार युक्त नेपाली युवा समाज भएको देखन चाहान्छन । देशमा रोजगारी,शिक्षा ,स्वास्थ्य संग ै विकासका लहरहरु पनि राजनीतिक दलहरुले सृजना गर्न सकुन भन्ने उनिहरुको भित्री चाहाना छ । काम विदेशमा होईन ,आफ्रनै भूमिमा पाईयोस् , रगत र पसिना स्वदेशमै बगाउनु परोस् भन्ने चाहि रहेका छन् तर नेपालमा नत विकास,नत शान्ति,नत गुणस्तरीय शिक्षा र स्वास्थ्यको उपलब्धतानै छ । तसर्थ त्यो पिंढीले अहिले नेपालका राजनीतक दलहरु र सरकारका स– साना कुराहरुको पनि बिश्लेषण ,विरोध र राम्रो कुराहरुको समर्थन गरिरहेका देखिन्छन् । सरकारले केही राम्रो गर्न खोज्यो भने त्यस कुराको खुलेर समर्थन र गलत गरेको खण्डमा खुलेरै सामाजिक सञ्जाल वा विभिन्न सञ्चार माध्यमहरु मार्फत विरोधहरु गरिरहेको पाईन्छ ।नेपालको राजनीति र लोकतन्त्रलाई खराव सिद्ध गर्ने एकखालको तपकाको हुईयउाँको पछाडी पनि त्यहि युवा जमात खुलेर समर्थन गर्दे लागि परेको देखिन्छ । बुवा आमा जून पार्टीको होस् उनिहरुलाई कुनै मतलवनै छैन । उनिहरुले त वर्तमानमा खोजेका कुरा तत्काल प्राप्तीको बाटो रोजिरहेको अवस्था नेपालमा बिद्यमान छ।

चेतनाको सहि व्यवस्थापन : लोकतन्त्रमा जेपनि गर्न पाईन्छ ,बोलन पाईन्छ वा अधिकारको दुरुपउयोग गर्न पाईन्छ भन्ने जुन खालको चेतनाको विकास भएको छ त्यसको सहि ढंगले नेपालमा व्यवस्थापन हुन सकेको छैन । हो नेपालमा राजतन्त्रको अन्त्य पछि संघीय लोकतान्त्रिक गणतन्त्रको त स्थापना भयो । संघीयतामा हरेक क्षेत्र समुदायका मानिसहरुको अधिकारको ग्यारेन्टी गरिएको छ , त्यहि बिषयलाई तत्काल मुद्धा बनाएर यसो भएन उसो भएन भनेर लोकतन्त्रलाई अफाप्य सिद्ध गर्ने जमातको पनि नेपालमा कमि छैन । तसर्थ नेपाल सरकार र नेपालका राजनीतक दलहरुले जनताको चेतनास्तरमा आएको परिवर्तनलाई सहि व्यवस्थापन गर्ने दिसामा पहल गर्न जरुरी देखिन्छ ।

लोकतन्त्रको विकल्प छैन : नेपाली जनताले लोकतन्त्रको लागि त्यसै लडेका पनि होईनन् । र लोकतन्त्रको विकल्प पनि छैन । नेपालका राजनीतिक दलहरुमा विकसित भैरहेको अराजनैतिक संस्कार,सत्ता मोह,बहुदलिय प्रतिस्पर्धाको संस्कारको कमि,रचनात्मक प्रतिपक्षको भूमिकाको कमि देखिन्छ । तसर्थ लोकतन्त्रको जगलाई बलियो रुपले स्थापित गर्नका लागि नेपालका राजनीतिक दलहरुले कशम खाएर दलिय स्वार्थ त्यागेर नेपाली जनताको दिगो शान्ति,समृद्धि र विकासको चाहनालाई परिपूर्ति गर्ने दिसा लाग्नका लागि लोकतन्त्र दिवसको अवसरलाई उपयुक्त रुपमा सदुपयोग गर्न जान्नु पर्छ।

[email protected]

मो. ९८४८४२२२४१,९८५८४२०६४३

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया