यहाँ कोरोनाका भाईरसहरुले ताण्डव मच्चाईरहेको छन्

लव कुमार,लस एन्जेलस क्यालिफोर्निया २०७७ वैशाख ११ गते ०:३४ मा प्रकाशित

यहाँ कोरोनाका भाईरसहरुले ताण्डव मच्चाईरहेको छन्
यहाँका अग्ला अग्ला भवनहरुका बिच बिचमा
सर्लक्क परेका चिल्ला बाटाहरुमा
ग्रोसरी सपका तखेता तखेताहरुमा निस्फिक्री घुमिरहेका छन् कोरोनाका भाईरसहरु

थाहा छैन झ्याल बाट छिर्ने हुन् कि ढोकाबाट
किनकि जताततै हल्ला मच्चाँउदै घुमिरहेका छन्
कोरोनाका भाईरसहरु

छोरो अमेरिका पुग्दा गर्वले चौडा भएको बाबुको छाती
यहाँ बढ्दै गईरहेको संक्रमण र मृत्युका खबरले
खुम्चिएको होला बाबुको छाती

राति निद्रा नलागेर छट्पटिदै कोल्टे फेर्दा फेर्दा थाकेर
झ्याल बाट बाहिर हेर्छिन् होली आमा
सात समुन्द्रपारी पुगेको छोरो
आमाको कोमल मनले बोलाउँदैमा के फर्किन्थ्यो
तैपनि झ्यालबाट अझै तन्किएर अँध्यारोमा बिलाउदै गईरहेको छायाँ पछ्याउछिन् होली आमा
सुनसान अँध्यारोमा त्यो छायाँ पनि हराउँदा
टप्प टप्प आँशु खसाल्दै अतासिन्छिन् होली आमा
निसासिन्छीन् होली
किनकी कोरोनाका भाईरसहरुले
ताण्डव मच्चाईरहेको शहरमा
छोरो थुनिएको छ
हो म एउटा कोठामा लुकेर बसेको छु
किनकी बाहिर कोरोनाका भाईरसहरुले गस्ती गरिरहेका छन्
यहाँ कोरोनाका भाईरसहरुले ताण्डव मच्चाईरहेको छन्

प्रतिक्रिया