मेरो साहित्यिक २०७६ साल : फर्केर हेर्दा

गोविन्द गिरी प्रेरणा २०७७ वैशाख २ गते १०:४१ मा प्रकाशित

गोविन्द गिरी प्रेरणा

भर्खरै २०७६ सालले आँगनवाट विदा लिएर गएको छ । हरेक वर्ष समयले नयाँ वर्षको रुप लिएर संघारमा आइपुग्छ र वर्ष दिनपछि विदा लिएर जान्छ । यो नियमित प्रकृया हो । यो सधैं चलिरहेको छ र चलिरहन्छ । वितेको वर्ष आत्म समीक्षाको लागि हो र आगामि वर्ष अठोट र निरन्तरताको लागि हो । विगतको अनुभववाट पाठ लिएर निरन्तर उकालिको यात्रा जारी राख्नु जीवन वाँच्ने सुन्दर तरिका हो ।

साहित्यकारको हैसियतमा मेरो २०७६ साल कस्तो रह्यो, म पछाडि फर्केर हेर्ने जमर्को गर्दैछु ।

२०७६ सालमा मेरो यौटा मात्र पुस्तक प्रकाशनमा आयो -“विसर्ग” उपन्यास । तर यो मेरो एकल लेखन होइन । अग्रणी अग्रज कथाकार परशु प्रधानले शुरु गर्नु भएको उपन्यासलाई मैले अघि बढाएर पूरा गरेको हुँ र वनेको हो सग्लो औपन्यासिक कृति-” विसर्ग” । यो विसर्ग शिर्षक पनि परशु प्रधानले नै जुराउनु भएको हो । यो उपन्यासको प्रकाशनसँगै ” आकाश विभाजित छ ” बाट शुरु भएको नेपाली सहयोगी उपन्यासको लेखन प्रकाशनले यौटा नयाँ ईंट्टा थपियो नेपाली साहित्यको क्षेत्रमा ।

प्रकाशनका हिसावले मेरो गीति एल्वम ” गुनासो ” २०७६ सालकै उपलब्धि हो । गीति रचनाको क्षेत्रमा यो मेरो दोश्रो कृति हो । पहिलो गीति एल्वम ” फूलमाथि शित ” यसअघि नै प्रकाशित भएको हो । तर समयको चालसँगै गीति एल्वमहरु डिजिडल प्रविधिमा गएकाले यसपल्ट भौतिक सिडी एल्वम निकालिएन, म्युजिक नेपालको तर्फवाट विक्री वितरण गर्ने गरी व्यवस्था मिलाएर यू ट्यूव च्यानलमा सार्वजनिक गरियो ।

सग्लो कृति यिनै दुई भए पनि साहित्यिक संलग्नता र सहभागिताले यो वर्ष निकै उत्साहमय र उपलब्धिमूलक वित्यो । दुइपल्टको नेपाल यात्रामा निकै गहकिला साहित्यिक सत्सँग, साहित्यिक समारोहमा सहभागिता सकारात्मक एबम् सिर्जनशीलतामय भयो ।

अनेसास नेपाल च्याप्टर तथा नेपाल एकेडेमीको संयुक्त आयोजनामा अनेसास गण्डकीको सहयोगमा २०७६ साल बैशाख एक गते पोखरामा सम्पन्न ” नेपाली आख्यान साहित्यमा अनुदित कृति ” विषयक विचार गोष्ठी तथा कवि गोष्ठीमा सहभागिता सुन्दर तथा देश दर्शनको हिसावले पनि चाखलाग्दो थियो । यसै गोष्ठिमा लघु उपन्यासको विषयमा नेपाल प्रज्ञा प्रतिष्ठनकी गद्य विभागकी प्रमुख प्राज्ञ माया ठकुरीसँग भएको अनौपचारिक छलफलले पछि मूर्त रुप लियो ।

वैशाख महिनामै नई प्रकाशनले वर्षेनी प्रदान गर्ने विदेशमा वसेर नेपाली साहित्यमा योगदान पुर्याउने साहित्यकारलाई दिइने एक लाख राशीको अन्तरराष्ट्रिय पुरस्कार ग्रहण गर्ने अवसर पनि मिल्यो । राशीको हिसावले मैले पाएको यो सर्वाधिक राशीको पुरस्कार थियो ।

पेन नेपालले महेन्द्र पुलिस क्लवमा आयोजना गरेको पेनको मुखपत्रको सार्वजनिकिकरण तथा कविता वाचन अर्को महत्वपूर्ण गोष्ठी थियो । मैले पेन नेपालको सदस्यता लिएपछि भाग लिएको यो यौटा सुन्दर कार्यक्रम थियो ।

वैशाख महिनामा पोखरामा विजारोपण भएको ” लघु उपन्यास” विषयको कार्यक्रम नेपाली लघुकथा समाज सँग संयुक्त रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानले मैत्री सेवा समाज, लप्सी फेदीमा आयोजित ” लघु उपन्यास र लघुकथा अन्तर सम्बन्ध” विषयक परि सम्वाद तथा विशेष लघुकथा गोष्ठी विशेष महत्वपूर्ण थियो । नेपाली साहित्यकै ईतिहासमा लघु उपन्यासको विधामा आयोजना गरिएको यो पहिलो ऐतिहासिक कार्यक्रम थियो । यस कार्यक्रममा कार्यपत्र प्रस्तोता डा लक्ष्मणप्रसाद गौतम हुनुहुन्थ्यो भने त्यसमा टिप्पणी गर्ने जिम्मेवारी मैले पाएको थिएँ ।

सेप्टेम्वर १ र २ मा अमेरिकाको बोष्टनमा गैर आवासिय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद , नेपाली भाषा साहित्य उप समितिद्वारा आयोजित ” प्रथम अन्तरराष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन” धेरै कोणबाट महत्वपूर्ण थियो । सोही गोष्ठीमा विमोचित नेपाल प्रज्ञा प्रतिष्ठनद्वारा प्रकाशित डायस्पोरिक कथाहरुको सङ्कलन ” अन्तरदेशिय नेपाली कथाहरु” यौटा उपलव्धिमूलक प्रकाशन थियो । त्यस्तै सोही समारोहमा विमोचित अर्को कृति , उत्तर अमेरिकाका नेपाली कथाकारका कथाहरुको अङ्ग्रेजी अनुवाद ” डिस्ट्याण्ट सनरेज” अर्को महत्वपूर्ण ऊपलब्धि थियो । निसन्देह दुवै कृतिहरुमा मेरो प्रतिनिधित्व थियो ।

अक्टोवर १८ देखि २० सम्म भारतको नयाँ दिल्लीमा सम्पन्न दक्षिण एशियाली साहित्य महोत्सवमा सहभागिता अर्को कोषे ढुँगा थियो । मैले यस प्रकारको अन्तरराष्ट्रिय स्तरको साहित्य सम्मेलनमा भाग लिएको यो नै पहिलो अवसर थियो । पाकिस्तानवाहेक सार्क राष्ट्रका अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, भूटान, भारत र नेपालका परिचित अपरिचित साहित्यकारहरुसँग भेट, सम्पर्क र भविष्यमा सद्भावपूर्ण सम्बन्धको निरन्तरताको लागि विरुवा रोप्ने काम भयो । यो भ्रमणमा भेट भएका र दुइदिनमै निकट भएका हिन्दी साहित्यका प्रख्यात साहित्यकार गँगाप्रसाद बिमल मेरो मनमा सधै रहनेछन् । उनले आफ्नो घरमा आउने निम्तो गरेका थिए, त्यो पछिका लागि सारें, त्यो नै यौटा ठूलो भूल भयो । उनी केही समयपछी श्रीलङ्कामा सडक दुर्घटनामा दिवंगत भए ।

त्यही सम्मेलनका वेला पाइएको सो सम्मेलनकी अध्यक्षा सुप्रसिध्द पंजावी साहित्यकार अजित कौरको उपन्यास ” गौरी” को नेपाली भाषामा अनुवाद सकें । यो अचानक मनमा आएर शुरु गरेको प्रोजेक्ट थियो । यसलाई पनि म गत वर्षको यौटा महत्वपूर्ण ऊपलब्धि मान्दछु ।

नेपालमा र विशेष काठमाडौंमा काग तिहारको दिन हास्यब्यँग्यात्मक साहित्य उत्सव ” आलु पार्टी ” गर्ने गरेको समाचार पढ्ने गर्थें, गफ सुन्ने गर्थें । यसपाली आफैं सहभागी हुने अवसर जुट्यो । रामकुमार पाण्डेको जावलाखेलस्थित निवास ” पाँडे प्याराडाइज ” मा सम्पन्न सो कार्यक्रम अविष्मरणीय रह्यो ।

मेरो लेखकीय जीवनको यौटा नयाँ मोड आयो गत वर्ष । मैले लहडले केही कविता अँग्रेजीमा लेखे पनि गम्भिरतापूर्वक लेखेको थिईंन । तर अमेरिकाको म बसेको राज्य भर्जिनियाको अमेरिकन कविहरुको समूह ” नोभा वार्डस्” सँग म जोडिएँ । उनीहरुको नियमित कविता वाचन र कविता कार्यशालामा सम्मिलित भएँ र अँग्रेजीमा कविता लेख्न थालें र त्यसको कार्यशालामा भाग लिएपछि म अँग्रेजीमा लेख्न सक्छु भन्ने आत्म विश्वास भयो । नोभा वार्डस् को वार्षिक प्रकाशनमा मेरा अनुदित र मूल अँग्रेजीमा लेखिएका कविताहरु स्वीकृत भए । यो निसन्देह मेरो लेखकीय जीवनको अत्यन्त महत्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ ।

लेखनको विषयमा भने बर्ष २०७६ अभुतपूर्व नै रह्यो । मैले झण्डै २० बर्षअघि थालेको पारिजातको जीवनी लेखनका लागि गरेको अध्ययन र अनुसन्धानको प्रतिफल पारिजातको समग्र जीवनी यही बर्ष लेखें । करिव सवालाख शब्दको ५०० पेजभन्दा कम नहुने त्यो कृति मेरो लेखकीय जीवनकै महत्वाकाँक्षी योजना हो । फूटकर रुपमा कथा, कविता, निवन्ध, समीक्षात्मक लेखहरु पनि मैले निरन्तर लेखिनै रहें । यस बर्ष विशेष गरी ” अनलाईन खवर डटकम” का लागि भनेर लेखिएका र त्यसमा प्रकाशित नेपाली साहित्यका जीवित तथा दिबङ्गत हाहित्यकारहरुको संस्मरणात्मक जीवनी लेखहरु पाठकहरुले अत्यधिक रुचाएर पढिदिनु भयो र त्यस्ता झण्डै २० वटा जति लेखहरु लेखें । यो पनि मेरो लेखकीय उपलब्धिको यौटा सानो सानो शिखर हो भन्ने लाग्छ ।

समग्रमा मेरो लागि वर्ष २०७६ साहित्यिक रुपले उपलब्धिको वर्ष नै भयो । अहिले कोरोनाले विश्वब्यापि महामारी फैलाइरहेको वेला भारतको बृन्दावनमा बसेर नियमित लेखिनै रहेको छु । मैले गत बर्ष भन्दा यो बर्षलाई अझ ठूलो उपलब्धिको वर्ष बनाउनु पर्छ । मसँग त्यसका लागि यथेष्ट उर्जा छ । विजेता मानसिकता मसँग यथावत छ । प्रतिदिन झन्झन् उर्जाशील र झन्झन् सिर्जनशील भएको महशूस गरिरहेको छु ।

२ वैशाख २०७७
बुन्दावन, भारत ।

प्रतिक्रिया