मृत्यु-मृत्यु छ सर्वत्र तर कसैमा डर छैन

किशोर सापकोटा २०७६ चैत १७ गते १:१९ मा प्रकाशित


आफन्त र साथीहरुले आजकल धेरै सम्झिन थालेका छन् । सम्झिने कतिपय आफन्तहरु त जीवनमा एकपटक कुराकानी समेत नभएका पनि हुन्छन् ।

सवैको एउटै प्रश्न छ – ‘अमेरिकामा त कति धेरै मानिसहरु मरे भन्छन् नि, तिमीहरुलाई त केही भएको छैन नि’ ?

मेरो उत्तरले कोहीकोही सन्तुष्ट हुंदैनन् होला या उनीहरुको मनमा मैले उत्तर दिंदा कसैलाई विर्सिएकी भन्ने पर्दो हो । परिवारका सवै सदस्यको नामनै लिएर सोध्छन्, फलानोलाई ठीक छ नि ? फलानोलाई ठीक छ नि ?

आजकल मेरो काखमा ल्यापटप र कानमा फोन छुट्दैन । ल्यापटपवाट लिएको जानकारी टेलिफोनवाट वांड्छु । अलिअलि लेख्छु । (दुइ दिन लेखिन, अमेरिकामा २०० जना मानिस मरेको दिनलाई नै त्रासदीपूर्ण भनेर लेखेको थिए, पछिल्ला दुइ दिनमा त पांच, पांच सय मानिस मरे, के भनेर लेख्नु ?)

आफन्तहरुको चिन्ता र चासो स्वभाविक पनि हो । पछिल्लो हप्ता, हरेक दुइदिनमा मर्नेहरुको संख्या दुगुना भएर गएको छ ।

जनवरी ११, २०२० मा कोरोना भाइरसको संक्रमणवाट पहिलो व्यक्तिको निधन भएको थियो । आज ७९ दिन वित्दा विश्वभरमा ३५ हजार १९ जनाको निधन भइसकेको छ । सरदरमा आंकडा निकाल्दा विश्वमा हरेक दिन ४४३ जना मानिसहरु कोरोना संक्रमणको कारण मरिरहेका रहेछन् । कोरोना भाइरसको संक्रमणको कारण मर्नेहरुको संख्या सुरुवाती दिनमा न्यून हुने गरेपनि पछिल्लो दिनमा गुणात्मक रुपले वढीरहेको छ । पछिल्ला तीन दिनमा अमेरिकामा दैनिक पांचसयको हाराहारीमा मानिसहरु मरिरहेका छन् । यो क्रम विकराल वन्दै जाने देखिएको छ ।

अहिले महामारी यसरी वढेको छ कि अमेरिकाका वरिष्ठ संक्रमण रोग विशेषज्ञ डा. एन्थोनी फौसीले प्रभावकारी नियन्त्रण हुन नसकेमा १ लाख अमेरिकीहरुको कोरोना भाइरसको संक्रमणवाट निधन हुने चेतावनी दिएका छन् । मृत्यु हुनेहरुको संख्या ३ हजार नपुग्दै यो अवस्था सिर्जना भएको छ भने १ लाखको मृत्यु हुने अवस्था कति भयावह हुने होला ?

यस्तो महामारीमा आफन्त र साथीहरुले नसम्झिए कहिले सम्झिनु त ?

वाहिरी दुनियांमा वस्दा धेरैलाई लाग्दो हो, यो कोरोनाको फुर्ति केही दिनको लागि त होलानि ? कहां सक्छ र अमेरिकालाई ?

अमेरिकाभित्र वसेर हेर्दा तस्विर फरक छ ।

अव के गर्ने ? कसरी यो समस्यालाई सम्वोधन गर्ने ? कुनै ठोस नीति, कार्यक्रम र तत्परता सरकारसंग छैन । ट्रम्प प्रशासन जे गरिरहेको छ, टालटुल मात्रै गरिरहेको छ । सानातिना राहत प्याकेजमा अल्झिएको छ । अहिले पनि कुन कुन राज्यमा डेमोक्रेट पार्टीका गभर्नरहरु छन् र तिनीहरुलाई कसरी साइजमा ल्याऊ भनेर गृहकार्यमा अल्झिएको छ । गभर्नरहरुलाई सहयोग गर्ने भन्दा पनि इवी सांध्न उद्यत छ ।

न्यूयोर्क अहिले कोरोना भाइरसको केन्द्रविन्दु वन्दै गएको छ । अमेरिकाको आर्थिक नगरी ठप्प छ । न्युयोर्क कहिल्यै सुत्दैन भन्ने आहान वद्लिएर न्यूयोर्क अव उठ्दैन भन्नुपर्ने अवस्थामा पुगीसकेको छ । तर राष्ट्रपति ट्रम्पले न्युयोर्कका लागि आवश्यक भेण्टीलेटर समेत किनिदिएका छैनन् । राष्ट्रपति ट्रम्प न्यूयोर्कलाई ४० हजार भेण्टिलेटर नचाहिने तर्क गरिरहेका हुन्छन् जहां १ हजार भन्दा वढी नागरिकले जीवन गुमाइसकेका छन् र ६० हजार भन्दा वढी प्रभावित भएका छन् । न्यूयोर्कको आपतकालिन सेवा दिने ९११ ले अहिले फोन धान्न नसक्ने अवस्था वढ्दै गएको छ । गत विहीवार मात्रै ७ हजार कल आपतकालिन सेवा ९११ मा आएका थिए, जुन संख्या सेप्टेम्वर ११ को आतंककारी आक्रमणपछि सवैभन्दा वढी हो । न्युयोर्कका अस्पतालमा दुइजना विरामीका लागि अहिले एउटा भेण्टीलेटर चलाउनु परेको छ । स्वास्थकर्मीहरुलाई यथेष्ठ पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीइ)हरु छैनन्, एउटा मास्कले पुरै सिफ्ट वा केहीदिन चलाउनु पर्ने अवस्था आएको छ । यस्तो अवस्थामा काममा जानुपर्दा स्वास्थकर्मीहरु त्रासले डिप्रेसनमा जान थालेका छन् । स्वास्थकर्मीहरु जागिर छाडिरहेका छन् । राष्ट्रपति ट्रम्प भने कहिले मिचिगनका गभर्नरसंग सिंगौरी खेल्न त कहिले वेलायतवाट राजगद्दी त्यागेर क्यानाडा हुंदै अमेरिका आइपुगेका ह्यारी र मेगेनलाई चेतावनी दिन व्यस्त हुन्छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा वसोवास गर्न आउन लागेका वेलायतका पूर्व राजकुमार ह्यारी र उनकी पत्नी मेगेनको सुरक्षा खर्च अमेरिकाले नव्योहोर्ने ट्वीट मार्फत जानकारी गराएका थिए, जुन कुरा आवश्यक थिएन र राष्ट्रपतीय गरिमाभित्र पर्दैनथ्यो भनेर धेरै मानिसले आलोचना गरिरहेका छन् । इष्टरसम्ममा अमेरिकालाई खोल्ने अभिव्यक्ति दिएपनि राष्ट्रपति ट्रम्प अहिले पछि हट्नु परेको छ, उनले अप्रिल ३० सम्मका लागि सामाजिक दुरी कायम राख्ने आदेशलाईलम्व्याएका छन्, जसले इष्टर अगाडि नै अमेरिका खुल्ला गर्ने चाहनालाई समाप्त गरिदिएको छ ।

यतिवेला अमेरिकामा सवैभन्दा प्रेसरमा भएका मानिसहरु भनेका स्वास्थकर्मी हुन्, कोरोनावाट आफन्त गुमाएका परिवारजन हुन र उनीहरुको भन्दा एक तह कम प्रेसरमा भएका व्यक्तिहरु भनेका राज्यका गभर्नरहरु र सिटीका मेयरहरु हुन् । प्रकोप वढ्दै जांदा र पीपीइको अभाव हुंदै जांदा रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी)ले पनि शायद सरकारी दवावमा परेर चिकित्सकहरुले अपनाउनुपर्ने सावधानीको मापदण्डलाई पनि फेरिदिंदा स्वास्थकर्मीहरु झन् जोखिममा परेका छन् ।

धेरै स्वास्थकर्मीहरुले आफ्ना पीडालाई सामाजिक सञ्जाल मार्फत रुंदै व्यक्त गरेका छन् । काम गरिरहंदा कतिपय नर्स र डाक्टरहरु आफुलाई सम्हाल्न सक्दैनन् र वाथरुममा पसेर रुन्छन् । केहीवेरमा सुन्निएका आंखा लिएर फेरी विरामीको सेवामा जुट्छन् । कोरोना संक्रमणको कारण मृत्युवरण गरेका व्यक्तिका आफन्तहरु परिवारको सदस्यको अन्त्येष्टिमा सहभागी हुन पाएका छैनन् । कोरोना संक्रमण भएर मृत्युवरण गरेका व्यक्तिहरुको शवलाई ३ दिनसम्म अस्पतालमा नै राख्नुपर्ने नियम छ र त्यसपछि अन्त्येष्टिमा एकदम कम मानिसहरु सहभागी हुने गरी र संक्रमण नफैलाउने गरी परिवारलाई शव त दिने नियम त छ तर परिवारको सदस्य नै कोरोना संक्रमणको कारण मृत्यु भएका कारण परिवारका अधिकांस सदस्य सेल्फ क्वारेन्टाइनमा वस्नुपर्ने नियमले गर्दा अन्त्येष्टिमा सहभागी हुन सक्दैनन् । परिवारको सदस्य विरामी हुंदा न त अस्पतालमा कुरुवा वस्न पाइन्छ, न त दाहसंस्कारमा सरिक हुन सकिन्छ । मृत्यु कति भयानक भइरहेको छ आजकल ।

सुन्दा कहाली लाग्दो लागे पनि अहिले पनि ससर्ती हेर्दा अमेरिका त्यति डरलाग्दो त छैन । आज दिउसो म वस्ने शहर लुइभेलको एउटा वालमार्टमा छिरे । वालमार्टमा यो भयावह अवस्थाको छायांं कतै पनि देखिएन । अनुहारमा मास्क लगाएका मानिसहरु सयमा एक पनि थिएनन । जति आह्वान गरेपनि सोसियल डिस्टेन्स पटक्कै कायम छैन । न त रजिश्टरमा वस्नेहरुले मास्क लगाएका छन् न त सामान्य पञ्जा नै । धेरै मानिसहरुले छुने भएकोले सामान हाल्ने कार्टको हेन्डिल पुस्न प्रत्येक वालमार्टका प्रवेशद्वारमा वाइप्सहरु राख्ने गरिएको हुन्छ तर आज वाइप्स पनि थिएन । मानिसहरुले वास्तै नगरी कार्टहरु ठेलिरहेका थिए । कोरोनाको प्रभाव केवल केही आयल्सहरुमा परेको छ, अझै पनि ट्वाइलेट पेपर र हेन्ड सेनेटाइजरहरुको भने अभाव छ । अरु वजार सामान्य भइसकेको छ ।

म फर्कदै गर्दा मेरो सव डिभिजनभित्र धेरै घरहरुमा वारवीक्यू पार्टी चल्दै थियो । न त कसैले कोरोना संक्रमणवाट मर्नेको परिवारमा के वितिरहेको छ भन्ने चिन्ता छ, न त यो विपत्तिमा स्वास्थकर्मीहरुले कसरी काम गरिरहेका छन् भन्ने चासो छ, न त अन्य देशहरुमा झै स्वास्थकर्मीहरुको प्रशंसामा वेलुका ताली वजाउननै कोही जुटेका छन् । सांझमा फेसवुक हेरे, धेरै साथीहरुले आफुले खान तयार गरेका मिष्ठान्न भोजनका तस्विरहरु शेयर गरिरहेका थिए । टेलिभिजन स्क्रिनमा अझै पनि मानिसहरुलाई समुद्रीतटमा जान नदिन सुरक्षाकर्मीहरुले गर्नुपरेका संघर्षका फुटेजहरु आइरहेका थिए । यस्तो लाग्यो, जताततै मृत्यु मृत्यु हुंदा पनि मानिसको मनमा अझै भय छैन । नत्र सरकारले भनेको किन मान्दैनन् ?
(पत्रकार सापकोटाको फेसवुकवाट)

प्रतिक्रिया