कोरोना भाईरस सम्वन्धि भ्रम र सत्य

यादवराज जोशी २०७६ फागुन २३ गते २१:३५ मा प्रकाशित

यादवराज जोशी

कोरोना भाईरस सम्वन्धि विभिन्न सत्य र असत्य जानकारी सञ्चारमाध्यम र समाजिक सञ्जालमा आएका छन् । कैयन जानकारी मानिसमा भ्रम पैदा गर्ने र आतंकित पार्ने छन । यसै सन्दर्भमा कोरोना भाईरस सम्वन्धि भ्रम र सत्य के हो भन्ने बारेमा अमेरिकाको बल्टीमोरस्थित जोन्स होप्किन्स विश्व विद्यालयकी संक्रमण रोकथाम विज्ञ डा. लिजा मारागाकिसको भनाई प्रस्तुत गर्न गइरहेको छौ ।

कोरोना भाईरस (कोभिड १९) को खोप उपलव्ध छ ?

कोरोना भाईरस (कोभिड १९) को खोप उपलव्ध छैन । वैज्ञानिकहरु खोप विकास गर्न सुरु गरी सकेका छन् । तर, खोप विकास गर्न महिनौ लाग्छ । जोन्स होप्किन्स विश्वविद्यालयले मार्च ६, २०२० मा गरेको पत्रकार सम्मेलनमा खोप विकास गर्न र मानिसमा सुरक्षित निस्चित गर्न कम्तिमा ७ देखि १८ महिना लाग्ने जानकारी गराईएको थियो । विश्व विद्यालय खोप विकासमा लागि रहेको पनि जानकारी दिईएको थियो ।

ब्लिच, एसेटिक एसिड, नुन पानी, सुगन्धित तेलले कुल्ला गरेर कोरोना भाईरस (कोभिड १९) बाट बच्न सकिन्छ ?

यो असत्य हो । यो कुनै पनि उपाय काम लाग्दैन । तपाई कोरोना भाईरस (कोभिड १९) बाट बच्न चाहनु हुन्छ भने निम्न काम गर्नु पर्छः
१. साबुन र पाएसम्म तातो पानीले नियमित हात धुने ।
२. रुघाखोकी लागेका, नाक बगेका र बिरामी मानिसको नजिक नजाने ।
३. खोकी वा हाछ्छिउ गर्दा मुख छोपेर गर्ने । यसले तपाईमा कोरोना भाईरस (कोभिड १९) छ भने अरुलाई सर्न सक्दैन ।
४. कोरोना भाईरस कोभिड १९ को जस्तो कुनै लक्षण (ज्वरो, रुघा र स्वास फेर्न कठिनाई) देखिए घरमा बस्ने अर्थात आईसोलेसनमा राख्ने ।
५. ज्वरो, रुघा र स्वास फेर्न कठिनाई जस्ता सबै लक्षण देखिए उपचारका लागि नजिकको स्वास्थ्य केन्द्रमा जाने ।

कोरोना भाईरस (कोभिड १९) मानिसले बनाएको हो ?

सत्य होईन । भाईरसको रुप र गुण परिवर्तन भैरहेको हुन्छ । कुनै बेला सुंगुर, चमेरो वा चरामा देखिएको भाईरसको रुप वा गुण, वा दुवै परिवर्तन हुन्छ र मानिसमा संक्रमण हुन्छ । यसैगरी अहिलेको कोरोना भाईरस (कोभिड १९ )को जन्म भएको हो ।

चिनिया समान किन्दा वा चिनबाट मगाउदा मानिस बिरामी हुन्छ ?

हुदैन । तर कोरोना भाईरस (कोभिड १९) नयाँ भएकोले यसको व्यवहार र संक्रमण बारेमा धेरै थाहा छैन । अनुसन्धानकर्ताले अध्ययन गरिरहेका छन् । एउटा कुरा निस्चित हो कि कुनै पनि भाईरस कुनै सतहमा धेरै दिन बाच्दैन । त्यसैले चिनबाट हप्तौ लगाएर आएका वा मगाईएका समानमा भाईरसको जोखिम हुदैन ।

मास्कले कोरोना भाईरस (कोभिड १९) बाट बचाउछ ?

सत्य होईन । प्रत्यक्ष बिरामीसंग काम गर्ने चिकित्सक वा नर्सहरुलाई राम्रोसंग फिट हुने एन९५ जस्तो मास्कले संक्रमण रोक्छ । तर, सर्व साधारणको हकमा प्रयोग हुने विभिन्न प्रकारका मास्कले संक्रमण रोक्दैन । राम्रो पिट नभएको मास्क बेलाबेला मिलाउदाँ संक्रमण खतरा बढन सक्छ । स्वस्थ्य मानिसले मास्क लगाउनु जरुरी छैन । तर, रुघा खोकी लागेका व्यक्तिले भाईरस अरुलाई नसरोस भनेर मास्क लगाउनु राम्रो हो ।

A cropped shot of a young woman washing her hands in her bathroom

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यस्तै कोरोना भाईरस (कोभिड १९ )बाट बच्न अमेरिकाको सेन्टर फर डिडिज कन्द्ररोल एण्ड प्रिभेन्सनले थप केही सावधानी अपनाउन भनेको छ । ति निम्न छन्ः
१. हात नधोई नाक, आँखा, मुख नछुने ।
२. कोरोना भाईरस (कोभिड १९) को बिरामीले छोएका भाडाकुडा, सतह र अन्य घरायसी समान सफा गर्ने ।
३. साबुन पानीले कम्तिमा २० सेकेण्ड हात धुने । मुख्यतः बाथरुम गएपछि, खाना खानु अगाडि, नाक, मुख, अनुहार छानु अगाडि र पछाडी ।

कोरोना भाईरस (कोभिड १९ ) संबmमण भएको देश वा क्षेत्रमा भ्रमण नगर्ने । अत्यावश्यक काम नभई भिडभाड हुने ठाँउहरु सपिड.मल, बसपार्क, रेल स्टेसनमा नजाने । कोरोना भाईरस (कोभिड १९) संक्रमण भएको क्षेत्रमा विशेष काम नगरी बाहिर ननिस्कने ।

अब नेपाली माझ चलेका भ्रमका कुरा गरौ । बेसार, टिमुर, लसुन, कागति खाँदा कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट मुक्ति मिल्ने कुरा समाचार माध्यम र समाजिक सञ्जालमा आएका छन् । यो कुरा सत्य होईन । कोरोना भाईरस (कोभिड १९) नै लक्षित कुनै औषधी र खोप बनेको छैन । तर, बेसार, टिमुर, लसुन हामीले परापूर्व कालदेखि प्रयोग गर्दै आएका रुघाखोकीमा घरेलु औषधी हुन । यिनको सेवनले रुघाखोकी निको पार्छ कोरोना भाईरस (कोभिड १९) को संक्रमण होईन । कागतिले सेवनले रुघाखोकी सन्चो हुन आवश्यक भिटामिन सि पूर्ति हुने भएकोले यो पनि फाईदा जनक छ तर औषधी नै होईन ।

कोरोना भाईरस (कोभिड १९) ठिक पारे जस्ता दावी पनि समाचार र समाजिक सञ्जालमा देखिन्छन । यो केवल भ्रम छर्ने मात्र हो । अहिलेसम्म यसको कुनै औषधी छैन । रोगसंग लडने मानिसको क्षमताको र चिकित्सकको निगरानीमा रुघाको औषधी प्रयोग हुदै आएको छ । त्यसैले कमजोर प्रतिरोध क्षमता हुने बृद्ध र साना बालबालिकाको मृत्यु बढी छ ।

स्रोतः जोन्स होप्किन्स विश्वविद्यालयको वेवपेज र पत्रकार सम्मेलन, सेन्टर फर डिडिज कन्द्ररोल एण्ड प्रिभेन्सनको वेवपेज, डब्लुएचओको वेवपेज र अन्य

नोटः लेखक/प्रस्तोता यादवराज जोशी समीर जोशी नामले पनि चिनिन्छन ।

प्रतिक्रिया