नेपाली झर्रोवादी आन्दोलनका अगुवा तथा वरिष्ठ साहित्यकार चुडामणी रेग्मीलाई इन्जा श्रष्टा सम्मान

इनेप्लिज २०७६ फागुन ३ गते २:१६ मा प्रकाशित

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित यस वर्षको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र वाजुराका पत्रकार प्रकाश सिंहले संयुक्त रुपमा प्राप्त गर्नु भएको छ । १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार पत्रकार ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र पत्रकार सिंहको हिमाल खवर पत्रिकामा प्रकाशित ‘कुपोषित वाजुरा’ शीर्षक आलेखले प्राप्त गरेका हुन् ।

सन् २०१९ भरीमा प्रकाशित ३ सय ५१ वटा समाचार तथा फिचर प्रतिश्पर्धामा सामेल थिए । वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटाको छनौट समितिले निर्धारण गरेको मापदण्ड अनुरुप दुवै आलेखले वरावर नम्वर प्राप्त गरेकोले संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय भएको हो । पत्रकार ढुंगानाको ‘म छाउपडी रिपोर्टर’ आलेखमा छाउपडी कुप्रथाले निम्त्याएको सामाजिक संकट र सो सम्वन्धी समाचार संकलनका क्रममा उत्पन्न चुनौतिहरुको चित्रण गरिएको छ । छाउपडी विरुद्धमा सक्रिय रुपमा कलम चलाउंदै आएकी ढुंगानासंग आफै पनि छाउपडीमा वसेको तीतो अनुभव छ ।

पत्रकार सिंहको ‘कुपोषित वाजुरा’ शीर्षक आलेखमा वाजुरामा कुपोषणको कहाली लाग्दो चित्र प्रस्तुत गरिएको छ जसले नेपालका धेरै जिल्लाहरुको अवस्थाको प्रतिनिधित्व गर्दछ । यसैगरी १ हजार डलर राशीको यसवर्षको इञ्जा श्रष्टा सम्मान पुराना पत्रकार, वरिष्ठ साहित्यकार तथा प्राध्यापक ८५ वर्षीय चुडामणी रेग्मी (चुमरे)लाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली झर्रोवादी आन्दोलनका अगुवा रेग्मीलाई धेरैले ‘पूर्वको मोतीराम’ भनेर सम्मान गर्ने गर्छन ।

झापाको युगज्ञान साप्ताहिकवाट पत्रकारिताको सुरुवात गर्नुभएका रेग्मीले यथार्थ कुरा पाक्षिकको सम्पादन गर्नुका साथै साहित्यिक त्रैमासिक जुही प्रकाशन समेत गर्नुभएको थियो भने आफ्नो जीवनको अधिकांस समय साहित्यिक गतिविधिमा विताउनुभएको छ । झापावाट चर्चित भएका धेरै साहित्यकारहरुलाई प्रोत्साहित गर्न जुहीले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको थियो ।

इञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणी दाहाल, साहित्यकार अम्विका गुरुङ र अनेशास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तीमगर रहेको समितिले वरिष्ठ साहित्यकार रेग्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

सो पुरस्कार तथा सम्मान आगामी मार्च १, २०२० मा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम रहेको छ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) पुरस्कार प्राप्त गर्ने पत्रकार ढुंगाना र सिंह तथा सम्मान प्राप्त गर्ने वरिष्ठ साहित्यकार रेग्मीलाई हार्दिक वधाइ ज्ञापन गर्दछ ।

 

प्रतिक्रिया