युवापुस्ताको कुण्ठा कि बेसोमतीपन?

बाबा राजेश्वरी थापा २०७६ माघ ४ गते २०:४५ मा प्रकाशित

२०४६ साल आन्दोलन लगत्तै घटेको एउटा घटना सम्झिन मनलाग्यो जतिबेला म सानी स्कुले केटाकेटी थिए। काठमाण्डौको टेकुमा तातो पानी खन्याएर, पिटेर र अत्यन्तै निर्मल तरीकाले तीन प्रहरीको हत्या गरियो, आन्दोलनमा प्रहरी दमनको जनआक्रोस थियो त्यो। ती प्रहरी आन्दोलन दमनमा संलग्न थिए या थिएनन् कसैलाई मतलब भएन। ती प्रहरीहरु नेपाली नागरिक थिए बस् पेशाले प्रहरी थिए तर तिनीहरुलाई बचाउन वा भीडलाई रोक्न सभ्य काठमाण्डौबासीमा आंट आएन। घृणाको सीमा त्यत्ति मात्रै थिएन, त्यहां के भएको भनी हेर्न जाने समेत भने, “ए ! केही भएको होइन, पुलिस पो मारेको रहेछ।” मेरो बालमस्तिकले त्यति बेलै घृणा गर्न शुरु गरेको थियो रक्तकणमा राजनीति घुसेका मानिसहरुलाई किनकी २०४६ साल पछि बन्दुकेको सन्तान भएकै कारण ठाऊठाऊमा तिरस्कृत हुनुपर्थ्यो हामी डन्ठे र बन्दुकेका सन्तान, राजनैतिक कार्यकर्ताका छोराछोरीको लागी हाम्रा बाहरुका पेशा बाधक थियो मनपरी गर्न र उनीहरुका कुण्ठा हामीमाथि पोखिन्थ्यो ।

हिजो र आज:

दोलखामा २०४६ साल चैत २७ गते जन्मेकी आस्था राउत लोकगायक हरिबहादुर राउतकी छोरी रहिछिन। लोकगायक हरिबहादुर राउत र उनकी छोरी आस्था राउतलाई चिन्ने मौका पाइएको थिइन तर आस्थाको एअरपोर्ट तमासाले उनको सुमुधर स्वर भन्दा पनि अमर्यादित हर्कतका कारण चिन्ने मौका मिल्यो।

मायाज बार, ढुवानी र लंका चलचित्रमा तीन गीत गाएकी, सालको पात टपरी रिमिक्स गीत गाएर लोकप्रियता कमाएकी तथा सन २०१४ मा उत्कृष्ट महिला गायनमा इमेज अवार्ड, हिट्स एफ एम अवार्ड र कान्तिपुर अनर्स जितेकी आस्थाले केही एल्बम निकालेको तथ्य गुगल काकाले बताए।

कलाकार देशका गहना हुन भन्दैमा कलाकारलाई नियमकानुन खुकुलो बनाउने हो नियमकानुनको मारमा पर्ने नेपालमा उही डन्ठे र बन्दुके अनि आंशिकरुपमा निजामति कर्मचारी मात्रै हु्न्छन किनकी नियमकानुनले राजनीतिज्ञले छुदैन। युवापुस्तालाई हेर्ने हो भने ९० प्रतिशत कलाकार(टिकटक, फेसबुक र युट्युब) होलान। यो अवस्थामा नियमकानुन मान्ने को?

सामाजिक संरचना:

सामाजिक संजालमा रातारात बनेकी आस्थाका हरेक भिडीयो र फुटेज हेर्दा अनि आस्था बचाऊ अभियानमा जुटेर लागेकाको अभिव्यक्ति पढ्दा कताकता हाम्रो सामाजिक सोचाईमा परिवर्तन गर्नु पर्ने आवश्यकता देखिन्छ। युवापुस्तामा छाडापन बढेको छ। जसका कारण थुप्रै सामाजिक विकृती बढेका छन। समाज दिग्भ्रमित हुदैगइरहेको छ। केही महिना अघि आफ्नी आमालाई बिदाई गर्न एअरपोर्ट पुगेका पुर्व युवराज पारसले आफ्ना छोराको मुखमा डण्डा देखाएको भन्दै सईलाई दुर्व्यवहार गरेका थिए, त्यतिबेला पुर्व युवराजमाथि कुनै कारवाही नहुनु पनि आस्था(युवावर्ग)को कुण्ठाको प्रतिफल हो।अवश्य पनि कानुन सबैलाई समान हुनुपर्छ।

आस्थाका काण्डले उब्जाएको प्रश्नहरु:

आस्थाका नजरमा विमानस्थल सुरक्षाजांचमा खटिएका प्रहरी कसरी र कहाँ चुके?आस्थालाई सुरक्षाजांच गर्ने प्रहरी ३३ किलो सुनकाण्डको किन दोषी? विमानस्थल सुरक्षा जांचमा बस्ने प्रहरीले ढिलो गरी बोर्डिंग लागि आउने यात्री जिम्मेवारी लिनु पर्छ? कहिले कसैसंग झुक्न नसिकाएका आस्थाका बाले छोरीलाई सोमत किन सिकाएनन्? घाममा लगाउने टिलिक्क टल्केको कालो चश्मा घरभित्र लगाउने आस्थालाई समयको महत्व थाहा थिएन? के आस्था जीवनमै पहिलो पटक विमान चढेकी हुन? उनलाई सुरक्षा जाँचमा लम्बु कोट, ज्याकेट मात्र होइन बुटजुत्ता समेत खोल्न लगाइन्छ भन्ने थाहा थिएन?

युवापुस्ताको दम्भ:

गुगुल काका अनुसार उनले स्नातक पढेको थाहा लाग्यो तर उनका भिडीयो, उनले बोलेका बोली सुन्दा र रुदै गरेका आलापविलाप सुन्दा एक कलाकारमा जो देश र समाजको गहना हुन्छ, आस्थामा त्यो कुनै गुण देखिएन। भन्न त हरेक मानिसले आफुलाई शालिन र आफ्नो परिवारलाई उच्च खान्दानी सम्झिन्छन तर उसको असलियत यस्तै अपठ्यारो परिस्थितिमा उसले देखाउने व्यवहारबाट प्रस्ट हु्न्छ, ऊ कस्तो वातावरणमा हुर्किएको हो। आस्थाका गतिविधिलाई युवापुस्तामा देखिएको कुण्ठा भनेर ढाकछोप गर्नुभन्दा पनि युवापुस्ता दायित्व बोध गराउनु पर्ने आवश्यकता देखिन्छ किनकी पेशाको सम्मान गर्ने बोध कुनैपनि युवापुस्तामा देखिदैन। यदि कसैले बस चालकको काम गर्दैन भने यात्रुलाई गन्तव्यमा पुरियाउने कसले?ठीक तरीकाले सुरक्षाजांच गर्न कोही यात्रु तयार हुदैनन् अपराध रोक्ने कसले? छाडापन विरुद्ध आवाज कसैले उठाउदैन भने अनुशासनमा बस्ने को? शैक्षिक प्रमाणपत्रले बौद्धिकताको स्तर मापन गर्दैन, बौद्धिकताको मापन असहज परिस्थितिमा गरिने सभ्य व्यवहार र निर्णय क्षमताले धेरै हदसम्म गर्छ।

अभिभावकको दायित्व:

आस्थाका व्यवहार एक पेशागत त्यो पनि तल्लो तहको कर्मचारीप्रति अमर्यादित छ, हरेक अभिभावकले यसको बोध आफ्ना सन्तानलाई गराउन सक्नुपर्छ। यदि आस्थाका व्यवहारलाई युवा पुस्ताको नैराश्यता र कुण्ठा भनेर ढाकछोप गरिरहेने हो भने आफ्नो पेशागत दायित्व बहन गर्न हिच्कचाउछन।

तीतो सत्य, विमानस्थल सुरक्षा जाँच हरेक देशमा निकै कडा हुने गर्छ चाहे त्यो नेपाल होस या अन्य देश। जर्मनीका एअरपोर्टमा गरिने सुरक्षा जाँच देखेका, भारतीय एअरपोर्टमा गरिने सुरक्षा जाँचको तुलनामा नेपाली एअरपोर्टमा गरिने सुरक्षा जाँच अत्यन्तै सरल छ। हरेक मुलुकका आफ्नै नियम र कानुन हुने गर्छ। नेपालमा अचार खाने गरिएको भांगको छोप कति देशमा लागुपर्दाथको रुपमा पर्छ, नेपालको विमानस्थलबाट छिरेका यी वस्तुहरु अवैध भएर अन्य विमानस्थलमा दुख भोगेका अनुभव धेरैका होलान तर विदेशमा र विदेशीले गरेको हरेक व्यवहार सहने बानी परेका हामीलाई आफ्नैको व्यवहार असह्य लाग्छ । धन्य छ हाम्रो पारिवारिक पाठशाला।

बाबा राजेश्वरी थापा ,भियना, अस्ट्रिया

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया