आवश्यक छ प्रवासमा दिनहु नयां संस्था?

बाबा राजेश्वरी थापा इनेप्लिजको आधिकारिक सम्पादक अस्ट्रिया २०७६ मंसिर ५ गते २२:४४ मा प्रकाशित

हातका औला र खुट्टा औलाले गनेर भ्याउने जनसंख्यामा छन नेपालीहरु अस्ट्रियामा तर यति थोरै जनसंख्या भएको समाजमा दिनहु संस्था खोल्नु भनेको समाज भाड्न सिंडिकेटको प्रक्रिया लागु गर्नु सरह हो। कतिपय सामुदायिक संस्था सिमीत समुदायलाई माथि उठाउन जरुरत पर्छन किनकी त्यस्ता सामुदायिक संस्थाहरुले सामाजिक विभेद भएको समाजमा त्यो समुदायका व्यक्तिहरुलाई सक्षम बनाउन पक्कै सहयोग गर्छ र समाजमा समावेशी वातावरण सिर्जना गर्नुको र संस्कृतिको आदान-प्रदान गरी लोप हुन लागेका भाषा र संस्कृतिहरुलाई जगेर्ना गर्न ठुलो सघाऊ पुर्याउछ।

हालै अस्ट्रियामा नयां संस्था अर्थात इनासको औपचारिक स्थापना भएको कुरा सामाजिक संजाल र दुईचारवटा अनलाइन खबरपत्रिकाहरुमा प्रकाशित भएकाछन। संस्थाको उद्देश्य नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रीयस्तरमा परिचित गराउने भनेर प्रचार गरिएको छ। संस्था जुनसुकै उद्देश्यले खोलिए पनि दुखलाग्दो कुरा संस्थामा पद ओगट्ने व्यक्ति तिनै छन् जो एनआरएनको जिम्मेवार पद ओगटेर बसेका छन वा अन्य कुनै समकक्षी संस्थाको पद ओगटेर बसेकाछन।हास्यास्पद कुरा आफु एउटा जिम्मेवार पदमा बसेर नयां संस्था खोलेर त्यसको प्रचारप्रसारमा ज्यान दिएर लाग्ने परिपाटी शायद अस्ट्रियाबाटै शुरु भएको हुनुपर्छ। आफु एउटा संस्थाको पद ओगटेर बस्दाबस्दै अर्को संस्था खोल्नु कुनै बुद्धिमानी त पक्कै पनि होइन। नयां संस्था खोलेर समाज जोडिनु भन्दा धेरै विभाजित नै हुन्छ।

एउटै व्यक्ति किन धेरै संस्थाको पद ओगटेको भनी स्तम्भकारले जिज्ञासा राख्दा मान्छे कम भएकोले एउटै व्यक्ति दुईतीनवटा संस्थाको पदाधिकारी बन्नु परेको भन्ने जवाफ आयो। जब संस्था चलाउने व्यक्तिकै खडेरी परेको मुलुकमा जथाभावी खोलिएका संस्थाले समाज र भावी पुस्तालाई कुन दिशा तिर लैजान्छ भन्ने कुरा भविष्यले त देखाउने नै छ भने विगतका तीता अनुभवले शिक्षा दिन खोजेकै हुन।

संस्थाको स्थापना र आवश्यकताको सम्बन्धमा अस्ट्रियानिवासी एक भलादमी आफ्नो फेसबुकमा पेजमा लेख्नुहुन्छ,” संस्थामा बसेर काम गर्न सजिलो छैन, खट्नु पर्छ छुचो हुनु पर्छ, समय दिनु पर्छ अनि त्यसको साथ साथै उपलव्धि पनि त हुनु पर्छ । दोसल्ला र पद खोजेर बस्न चाहने अध्यक्ष नै हुन मन गर्ने भावनाले धेरै ओतप्रोत भएपछि संस्था धेरै जन्मन्छ ।” हालै अस्ट्रियामा स्थापना गरिएको इनासको प्रारम्भिक उद्देश्य पनि त्यही नै देखियो, विज्ञापन छापेसरी विभिन्न अनलाइन खबरहरुमा एउटै समाचारको झ्याली पिटाइएकोछ।

कलाकार देशका गहना हुन, उनीहरुको संरक्षण गर्ने काम सरकारको हो तर कुनै पनि निजीस्तरबाट खोलिएका संस्थाले कलाकारको हकहितमा काम आफ्नो स्वार्थपुर्तिको लागी मात्रै गर्छ, शायद कलाकारको त्यति ठुलो इज़्ज़त हुदो हो त कयौ निजी संस्थाहरुसंग सम्बद्ध भएर काम गरेका कलाकारहरुका लागी सामाजिक संजालहरुमा चन्दा उठाइदैन थिए होलान। कतिपय संस्थाहरुले कलाकारहरुलाई करारनामा गराएर आफ्नो इसारामा नचलाएका पनि होइन र कतिपय संस्थाले कलाकारहरुको श्रम शोषण पनि गरिरहेकाछन।

प्रवासमा नेपाललाई अन्तर्राष्ट्रीय समुदायमा परिचित गराउने उद्देश्यले हालको नेपाली जनसंख्याकै आधारमा प्रति व्यक्ति गोटा एक अर्थात् तीन करोड संस्था खुलेपनि नेपाली नाचगान र संस्कृतीको महत्व शिर्फ नेपाली समुदायलाई मात्र हुन्छ र कलाकारको सम्मान त्यहां हुन्छ जहां उसले श्रम अनुसारको पारिश्रमिक पाउछ र कलाकारको कला बेचेर कोष खडा गर्ने उद्देश्यले खुलेका संस्थाले कलाकारको हकहित होइन आफ्नै हकहितको जगेर्ना गर्छ।

यदि इनास अस्ट्रियामा सफल हुन चाहने हो भने सबभन्दा पहिले संस्थाको पद ओगट्ने व्यक्ति भन्दा क्षमतावान व्यक्ति जो इनासलाई समय र श्रम दिन सक्ने व्यक्तिको चयन गर्न सक्नुपर्छ र नयां कलाकारहरु जन्माउन सक्नुपर्छ। संस्था सफल अध्यक्ष र उपाध्यक्षको संख्याले हुने होइन न त अनलाइन खबरपत्रिकाहरु विज्ञापन छापेसरी समाचार छाप्दैमा सफल हुने हो।

इनास अस्ट्रिया जुन उद्देश्यले खुलेको हो त्यही उद्देश्य प्राप्त होस्, नेपाली समुदायमा मेलमिलाप र एकता सधै क़ायम होस्, तछाडमछाड नहोस, साढेको जुधाईमा कुनै बाछा नमिचिऊन।

बाबा राजेश्वरी थापा
इनेप्लिजको आधिकारिक सम्पादक अस्ट्रिया

प्रतिक्रिया