प्रवासका नेपाली संघसस्था- नयां शीशीमा पुरानै रक्सी

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७६ मंसिर १ गते १:०० मा प्रकाशित

It is not enough to be compassionate. You must act. -Dalai Lama

बाबा राजेश्वरी थापा भियना ,अस्ट्रिया । हालसालै प्रकाशित एक तथ्य अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुको तीन महिनाको अवधिमा १८४ वटा शव नेपाल भित्रिएको छ। विदेशमा जस्तोसुकै कठीन जीवन गुजार्नुपरेपनि जुझारू नेपालीहरु संघसंस्था खोलेर विभिन्न पद हत्याएर आफै र आफ्ना समकक्षी संघसंस्थाले आयोजना गरेका कार्यक्रममा आशन ग्रहण गर्न र खादा लगाउन भने भुल्दैनन्।

समाजसेवाको विकृती:

खाडी मुलुकहरु, बेलायत, संयुक्तराज्य अमेरिका र अस्ट्रेलियामा प्रचुर मात्रामा नेपालीहरुको संख्या रहेको छ, त्यसको तुलनामा युरोप र अन्य देशमा कम छ तर जुन देशमा जति थोरै या धेरै प्रवासी नेपालीहरु भएपनि त्यो जनसंख्यालाई उछिन्ने गरी संघसंस्था खोलिएका छन र ती सबै संघसंस्थाका उद्देश्य बाहिरीरुपमा भाषा, कलासंस्कृति र समुदायको सम्बर्धन गर्दै नेपाललाई विश्वसामु परिचित गराउने नै हुने गरेकोछ । यही असंख्य मात्रामा खुलेका संघसस्थाले एकआपस बीच एकता नभई वैमनस्यता कायम गर्ने र समाज झनै भाड्ने काम गर्नुको साथै संघसंस्थालाई सामाजिक नभई व्यक्तिवादी र नेपाली समाजलाई पनि त्यतिकै संकुचित बनाउदै गएको छ। सानो समाजमा मिल्न र एकजुट हुनुपर्नेमा समाज अझै रुढीबादी पिछडित हुदै गएको छ।

राजनीतिलाई पेशा मानिने देशमा जन्मिएर होला, विदेश टेक्ने बितिक्कै नेपालीहरुलाई संघसस्थाको खाचो परिहाल्छ। दुईचारजना आफ्ना विश्वासका मानिस जम्मा गरेर संघसंस्था खोल्नु प्रवासी नेपालीको फेशन नै भइसकेको छ । र कतिपयले समाजसेवाको नामबाट कोष संकलन गरी त्यसको फर्जी हिसाबकिताब देखाई व्यक्तिगत प्रायोजनका लागि खर्च गरिरहेकाछन। कतिपयको विदेशमा संघसस्था खोल्ने र नेपालमा आफन्तलाई गैर सरकारी संस्था खोल्न लगाउने अनि विदेशमा जम्मा गरेको कोष आफन्तको एनजीओ मार्फत आफन्तको हातमा पुर्याउने समेत रहेकोछ।

संगठनात्मक विकासमा कमी:

नेपालबाट विदेश टेकेर त्यस देशको विकास देख्ने बितिक्कै हरेक प्रवासीको दिमागमा ज्ञान र विवेकको घैटो भरिन्छ। विदेशमा जीवन सोचेजस्तो हुदैन भन्ने मान्यता धेरैको रहेको छ। प्रवासी जीवन कठोर र कठीन सम्झनेको संख्या पनि प्रशस्त छ तर वास्तवमै भन्ने हो भने इमान्दार भएर काममा व्यस्त हुनेहरुको जीवन नेपालमा पनि कठीन छ। नेपालमा सजिलो भनेको बाबुआमाले थुपारेको सम्पति उडाउनेहरुको मात्रै जीवन सजिलो छ।त्यही कठीन प्रवासी जीवनलाई सहज बनाउन संघसंस्थाहरु खुल्ने गरेकाछन्। संघसस्था खोलिसकेपछि त्यसको सफलताको लागी व्यवस्थापकीय पक्ष सबभन्दा महत्वपुर्ण हुन्छ तर त्यही व्यवस्थापकीय कमजोरीका कारण कतिपय संघसस्था र तिनका पदाधिकारीहरु हांसोमजाकका पात्र बन्ने गरेकाछन् । त्यति मात्र नभएर एउटै व्यक्ति विभिन्न संघसंस्थाको पद ओगटेर बस्ने र आफ्ना पक्षका मानिस बाहेक अरुलाई संस्थामा छिर्नै नदिने प्रक्रियासमेत चलनचल्तीमा रहेको छ। यसले किसिमको हाबीले प्रवासमा, संस्था र समाज दुवैमा निरंकुशता बढ्दै गएकोछ।

दोस्रो पुस्तामा नकारात्मक असर:

हरेक संघसस्था र तिनका पदाधिकारीहरुले भावी पुस्ता र नेपालको लागी संघसस्था खोल्नु नै आफ्नो उद्देश्य बताएपनि दोस्रो पुस्ता आफ्ना अभिभावकको संघसस्था प्रेममा खासै आकर्षित भएको देखिदैन किनकि आफु जन्मेकै देशमा शिक्षादिक्षा हासिल गर्ने र त्यही देशकै रहनसहन र संस्कृतीलाई स्वीकार खोज्दा आउने पारिवारिक दबावका कारण दोस्रो पुस्ता आफुलाई घरको न घाटको भएको अनुभव गर्छन्। कतिपय परिवारमा पहिलो पुस्ताले नेपालीपन छोड्न नसक्दा र दोस्रो पुस्ताले नेपालीपन अपनाउन नसक्दा ठुलो पारिवारिक संकट समेत परेको पाइएकोछ।

चन्दादाताको वेवास्ताको फाइदा:

विदेशमा संघसंस्था दुबोसरी मौलाउनुको कारण कोष संकलनमा रहेको आकर्षण हो किनकी विभिन्न बहाना बनाएर कोष संकलन गर्दा यसबाट राम्रै आम्दानी हुनेहुदा नेपालीहरु विदेशमा संघसंस्था खोल्न बढी लालायित हुने गरेकाछन। कोष संकलन गर्न कुनै एउटा बहाना बनाउने र यसबाट प्रचुर कमाई हुने, यसको हिसाबकिताब कतै बुझाउनु नपर्ने वा यसमा कर समेत तिर्नु नपर्ने हुदां समाजसेवामा लागेका व्यक्तिहरु संघसंस्थाका कारण आर्थिकरुप मोटाउनुले पनि संघसस्था प्रवासीका आकर्षण हुन। विश्वासलाई नै मुल आधार बनाउने चन्दादाताहरुले आफुले दिएको चन्दा कहाँ, कसरी र कति खर्च भएको छ, त्यसको आधिकारिक विवरण नमागेकै कारण सामाजिक संघसस्थामा छाडापन देखिएको हो।

सबै संघसस्थालाई आर्थिकरुपमा अनुशासित बनाउने मापदण्ड चन्दादाताले आर्थिक पारदर्शिताको विवरण माग्नु हो। कतिपय संघसंस्थाले हालै आएर कुन कार्यक्रममा कति रकम जम्मा भयो भनेर पारदर्शिता देखाउने कार्य शुरु गरेपनि कुन कार्यक्रममा कति चन्दा प्राप्त भयो र त्यसको आम्दानीखर्चको विवरण विरलैरुपमा पारदर्शी हुनेगरेको छन।जसका कारण प्रवासी संघसस्थामा आर्थिक नियन्त्रणको अपरिहार्यता महशुस हुन्छ।

 

प्रतिक्रिया