अमेरिकामा बुढाबुढीका साहारा कुकुर बिराला : शशी केसी

इनेप्लिज २०७६ असोज २९ गते २१:५० मा प्रकाशित

 

शशी केसी ।  दशैं सकियो। संसारभर छरिएका साथीभाईले दशैं मनाएको फेसवुकमा राखेको फोटोहरू हेर्न पाइयो। कोही बिदेशबाट बर्षौ पछि नेपाल दशैं मनाउन गएका,कसैका बिदेश रहेका सन्तानसॅंग दशैं मनाउन आमाबुबा नै आएका, कोही कोही त नेपालमा दशैंको टिका थापेर, पुर्णेको दिनसम्म फर्केर बिदेशमा रहेका आफ्ना परिवारलाई टिका लगाउन पुगेका।

जे होस, नेपालीले दशैं मनाए। यसरी बिभिन्न फोटोहरू हेर्दै जाॅंदा, धेरैले फेसवुकमा राखेको, अलिक सफासॅंग नदेखिएको,एकजना बुढा बुबाले कुकुरलाई टिका लगाइदिई रहेको फोटोमा ॲाखा पर्यो।फोटो खिच्नेले खै के कारणले खिचे, सबैले टिका लगाएर , कुकुरलाई घरको सदस्य मानेर टिका लगाईएको थियो वा कोही टिका लगाउने सन्तान नभएर लगाइएको थियो।जे होस,त्यो फोटो हेर्दा भावुक नै बनाउने खालको थियो तर फेरी सोचें, नेपाल मै हुदाॅं पनि त कति दशैं सरकारी जागिरे बुबा, टाढा जिल्लातिर हुॅंदा, दशैं मान्न, पैसा आयो, कोशेलीहरू र एक दशैं त खसी नै आयो, तर छुट्टीमा अफिस छोड्न नमिलेर बुबा आफै चैं नआएको याद छ। त्यस्तै होस्टेल बस्ने हामी केटाकेटीहरू पनि कुनै दशैं बुबाआमा दुवै जिल्लातिर हुॅंदा जान नपाएर दशैं काठमाडौं आफन्तको मै मनाएका छौं। तेस्तै कति दशैं त टिका लगाउन टिका मुछ्दामुछ्दै जुठो बार्नु पर्ने भयो, भन्ने खबर आइदिंदा, के को दशैं भएको छ !! अहिले त झन देश छोडेर बिदेश, अनलाइन दशैं पो हुन्छ त, मेसेन्जरमा ग्रुप बनाएर संसारभरबाट एकैठाॅंउमा जोडियो, एकआपसमा टिका लगायो सकियो।

हुन त अहिले बिस्तारै बिस्तारै, के गाॅंउ, के शहर, आफ्ना सन्तानहरू बिदेशतिर बसेकाले गर्दा नेपालमा बुबाआमा एक्लाएक्लै बस्नुपर्ने अवस्था आयो। तर यो अमेरिकामा त बर्षौंदेखि यस्तै त हो, आफनै टोल छिमेकमा हेर्ने हो भने प्राय: बुढाबुढीहरूमात्रै भएका कति घरमा कुकुर, बिरालो पालेको हुन्छ वा बुढाबुढी र कुकुर, बिराला। यो अवस्था,हाम्रो नेपाली समाजमा नमिल्दो/ नौलो देखिए पनि यहाॅं त यस्तै हो भनेर सजिलै लिन्छन्।

अमेरिकामा बस्दै जाॅंदा मैले अनुभव गरेको, यहाॅं केटाकेटीहरू स्कुल पढुन्जेल बाबुआमा असाध्य व्यस्त हुन्छन्, केटाकेटीको स्कुलले पढाई हाल्छ भनेर ढुक्क नपरि, उनीहरूको रूची अनुसार, बेसबल, फुटबल, सकर, स्विमिंग, भ्वाइलिन, गितार, बिभिन्न नाच क्लास, हिसाव क्लास जस्ता अतिरिक्त क्रियाकलापतिर दिनदिनै र शनिवार, आइतवार,आफु सके आफै नै जाने नसके साथीहरूसंग आलोपालो गरेर लग्ने/ ल्याउने गर्छन। तेस्तै यहाॅं प्राय: सबैले आफ्ना केटाकेटीलाई सरकारी स्कुलमा पठाउॅंछन र सरकारले घर/ बसेको ठाॅंउ अनुसार स्कुल तोकेको हुन्छ, त्यहाॅं बाहेक नेपालमा जस्तो बानेश्वर बस्नेले पाटन, पाटनकाले भक्तपुर पठाउन पाइन्न। केहीले मात्र पैसा तिरेर प्राइभेटमा पठाउॅंछन् तर थोरैमात्र हुन्छ यस्ता स्कुल। यसरी सरकारले तोकेकै स्कुलमा पठाउनै पर्ने बाध्यताले गर्दा स्कुले शिक्षा त केटाकेटीले घरबाट गएर पुरा गर्छन । तर क्याम्पस त पैसा तिरेरमात्र पढन पाइन्छ, अनि धेरै महंगो। बाह्र क्लास सकिनेबेलामा सबैले आफ्नो इच्छा ,रूची, आर्थिक अवस्था आदी हेरेर अमेरिकाका बिभिन्न ठाॅंउमा क्याम्पस पढन फर्म भर्छन र सबै मिलेको,आफुले भनेको जस्तो ठाॅंउमा पढ्न जान्छन् ।

एउटा रमाइलो प्रसंग( नेपालमा हुॅंदा उहिले सुनेको “अमेरिकामा त अठार बर्ष भएपछि छोराछोरीलाई घरबाट निकालिदिन्छन रे ” नेपालमा सुन्दा अचम्म लाग्थ्यो, अहिले आफै अमेरिका आएकोपनि अठारै बर्ष भयो। बिभिन्न मान्छेसॅंग भेट भयो, पढ्दा, काम गर्दा, छिमेकी यताउती तर खै कसैले पनि अठार बर्ष भएपछि छोराछोरी निकालेको सुनिएन,हुन त शुरूका बर्षहरू सबै प्रवासी जस्तै आफ्नै चाॅंजोपाॅंजो मिलाउॅंदै व्यस्थ पनि भइयो र ख्यालपनि आएन कसैसॅंग यसबारेमा सोधखोज गर्ने, तर जुनदिन छोरा अठार बर्ष भयो, स्कुल सकेर क्याम्पस,घरबाट ३-४ घण्टा टाढा गाडीबाट पुगिने ठाॅंउमा गयो अनि बल्ल अर्थ बुझियो, अमेरिकामा कसरी अठार बर्षपछि छोराछोरी निकालिने/निक्लने रहेछन्।)

खासमा यसरी क्याम्पस पढ्न घरबाट निक्लेका केटाकेटाहरू क्याम्पस पछि जागिरतिर हुॅंदै बाहिर बाहिरै, हो छुट्टीमा बेलाबेलामा घर त आउॅंछन् मिलाएर तर सॅंधैलाई होइन।यसैलाई नै त निकालिएको भनेको होला शायद!

अव रहयो बुबाआमा, नेपालमा भन्ने गरेको जस्तो छोराछोरी त बाटो लागे, घर त शुन्य ! केटाकेटीहरू स्कुल पढुनजेल व्यस्त रहेकाहरूको फुर्सद नै फुर्सद, अनि आफ्नो रूची अनुसार कुकुर बिराला पाल्यो समय कटाउन ! हेर्दा लाग्ने “अमेरिकामा बुढाबुढीका साहारा कुकुर बिराला”

अन्त्यमा नेपालीहरूले मान्ने चाड तिहार आउॅंदै छ। अरूबेला कुकुरलाई जति नै छि छि र दुर दुर गरेपनि, संसारमा एउटै देश” नेपाल” नै होला तिहारमा कुकुर पुजा गर्ने !

शुभकामना कुकुर तिहारको!!!!

 

प्रतिक्रिया