ए नारनहरुलाई खुल्लापत्र

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ असोज २९ गते २१:३९ मा प्रकाशित

ए नारन हो ।

सम्बोधन र आदरका साथ पत्र लेख्नु हिन्दु, बुद्ध, इसाई, मुसलमान सबैको संस्कार हो तर विदेशमा देखिएका तिमीहरुका छाडापन, चालामाला र अहिले नेपालमा नवौं( शायद अन्तिम) अधिवेशनमा देखिएका जात्रा र तमाशाका कारण आदर र सम्बोधनका शब्दै भेटिएन्। ठाडो पत्रका कारण रिस उठ्ला तर रिस थामेर राख्नु भविष्यमा यो भन्दा ठुलो झटारो हान्दा काम लाग्ला।

“एक पटकको नेपाली सधैको नेपाली” यही भन्छौ होइन तिमीहरु? त्यही भएर होला नेताको लाज ढाक्न, उनले खुवाएको भात डकार्न, सरकारी गाडी, भवनहरु, सडकका बार भत्काउन बानी परेका कै शैलीमा तिमीहरुले एअरपोर्टमा तोडफोड गरेर आफ्नो परिचय त शुरु गरिहाल्यौ! अझै आफ्नो कर्तुतको ढाकछोप गर्न दोष ती निमुखा कर्मचारीहरुलाई लगाउदा, हिजो शरणार्थीबाट स्थायी बसोबासका लागी नेपालबाट झिकाएका अनेकौ जाली काग़ज़ातको याद आएन तिमीहरुलाई? हुन त जालझेल गरेर विदेशबाट फुत्काएको कागजको खोस्टोले तिमीहरु के सुध्रिन्थ्यौ र! आखिर “एकपटकको नेपाली, सधैको नेपाली” पो हौ क्यारे तिमीहरु!

विदेशमा आफ्नो दुनो सोझ्याउन हिन्दु भएर पनि इसाई धर्मावलंबी विदेशी बृद्दबृद्दालाई आमाबाबु बनाएर बिहानबिहान तिनीहरुका खुट्टा ढोग्ने र यता सामाजिक संजालमा नेपाल हिन्दु राज्य हुनु पर्छ भन्दै फेसबुकका भित्ताहरुमा अनेकौ अतिरंजित कुराहरु पोष्ट गर्ने तिमीहरुका किरा पर्न नसकेका हातहरुले तिमीहरुले सभासम्मेलन गरेका ठाउमा असरल्ल कागजका टुक्रा र फोहर फ्याक्दा बिदेशी भुमीमा टेक्ने बितिक्कै निजी घर, होटेल, रेस्टोरेन्टमा कुचीकारको जागिर खाएर जिवीकोपार्जन गरेको भुल्यौ तिमीहरुले?

तिमीहरुका नाटक राष्ट्रीयस्तरमा छर्लंग नभएको होइन, समावेशी बन्न नसक्नु, सधै ढुंगेयुगमा गुज्रिनु, संस्थालाई पेवा ठान्नु र समाजसेवाको नाममा चन्दा उठाएर देशको बदनाम गर्नु तिमीहरुको नीचतामा होस्टेमाहैसे गर्ने तिमीहरुका कार्यकर्ता जो दशैको मुखमा स्वास्नी छोराछोरी छोडेर नेता चुन्न नेपाल पुगेका छन, टीठ पलाएर आयो सम्झिदा पनि किनकि जो चुनाव पुग्नुपर्थ्यो की पुग्न सकेका छैनन्, जो नपुग्नु पर्थो बश ती पुगेका छन। तिम्रा राष्ट्रीयस्तरका निवार्चितहरुका कुरा गर्छौ भने, सुन! जुन देशमा ए नारन बनेर पद ओगटेका छन, तिनीहरुमध्ये कति त अवैधरुपमा बसोबास गरिरहेका छन, कुन दिन त्यो देशको सरकारले नेपाल डिपोट गरिदिने हो ठेगान छैन, यस बारेमा ध्यानपूर्वक निर्णय लिन नसक्ने शक्ति नत कुल आचार्यमा होला नत कुमार पन्तमा। समाज सेवाको नाममा हुने अवैधधन्दा रोक्ने सामर्थ्य कुनै नेतृत्वमा पनि छैनभन्दा पारो तात्ला यो पढ्दा तर होसियार माओवादोवादीको पतन तिमीहरुले बुझेकै होलाऊ ।

तिम्रा खबरले नेपालका सबै अख़बार भरिएका छन। तिमीहरुको संस्था जीर्ण भइसक्यो, अब यसलाई रंगरोगन गर्नतिर नलाग र “आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष” भनेर जस्तो पनि नगरे हुन्छ, जीर्णोद्धारमा समय र पैसो खर्च गर्नु भन्दा भत्काएर नयां निर्माण गर्नुमा सबको भलाई हु्न्छ। खाडीमा दुख भोगेको केटोको समस्या बेलायतमा बस्नेले समाधान गर्न सक्दैन, न त इजराइलमा रोजगारी गर्ने चेलीको दुख अमेरिकामा बस्नेले बुझ्छ, न त राजदुतको जिम्मेवारी तिमीहरुले लिनसक्छौ न त वाणिज्यदुतको काम तिमीहरुबाट हुन्छ।

”समय आउछ पर्खिदैन बगेको खोलो फर्किदैन, खोक्रिएका ए नारनबाट भिजिट नेपाल सफल हुदैन”

सधैभरी “एक पटकको नेपाली, सधैको नेपाली” बनेर बांदरत्व देखाईरहनु! आफ्ना अध्यक्ष/नेता/प्यानल के जातिले छोडेको वायुमा अत्तर गन्ध अनुभव गर्ने शक्ति भगवान/प्रभुले प्रदान गरिरहुन। शुभकामना, एअरपोर्ट तोडफोड गरेर नाम कमाएका तिमीहरुलाई एअरपोर्टबाट खेदेको दिन देख्न पाइयोस्।

जय ए नारन!

तिमीहरुको नौटंकी मातृभूमिप्रेमबाट आजित
अशुभचिन्तक!!

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया