राष्ट्रपति सीको भ्रमण र नेपाल-चीनको अबको बाटो

विश्वमान आङ्गदेम्बे, अट्लान्टा, जर्जिया, अमेरिका २०७६ असोज २६ गते २१:३२ मा प्रकाशित


विश्वमान आङ्गदेम्बे
अट्लान्टा, जर्जिया, अमेरिका ।सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ्ग जेमिनको भ्रमण पछि पहिलो पटक एक चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्पन्न भएको छ I यो २३ वर्षमा नदीमा धेरै पानी बगिसकेका छन् I त्यतिखेरको चीन अमेरिका, जापान, जर्मनी, फ्रान्स, इटली, र ब्रिटेन पछि ७औ अर्थतन्त्र थियो I अहिलेको चीन अमेरिका पछिको दोश्रो ठूलो अर्थतन्त्र बनेको छ र स्तान्दर्द चार्टर्ड बैंकको रिपोर्ट अनुसार २०२० (अर्को वर्ष) मै चीन विश्वको ठूलो अर्थतन्त्र हुने देखाएको छ I विश्वको कूल गार्हस्त उत्पादन अहिलेको २८% बाट २०३० सम्ममा ३५% एसियाको हुने र विश्वका ठूला १० मध्ये ६ अर्थतन्त्र एसियाको हुने देखिएको छ।  अर्थशास्त्रीहरुको भनाइ अनुसार पनि २१औ सताब्दी भनेको “एसियाली सताब्दी” हुनेमा चीनको उदय (पछि भारतको पनि) अनपेक्षित हैन I अहिलेको चीन आर्थिक, राजनैतिक, अनि सामरिक हिसाबले अमेरिकालाई टक्कर दिने हैसियतमा पुगेको छ I यो सबैको मूल इन्जिन भनेकै “अर्थतन्त्र” हो I उन्नाइसौं सताब्दिमा ब्रिटेनले संसारभरि उपनिवेश बनाएर संसारकै ठूलो अर्थंत्र बनेर राजनैतिक र सामरिक बर्चस्व कायम गरेको थियो I बीसौं सताब्दिमा अमेरिकाले सबैलाई उछिनेर पहिलो अर्थतन्त्र बने संगै संसारभरी राजनैतिक र सामरिक बर्चस्व कायम गर्यो र अहिले पनि कायमै छ तर उतरार्धमा छ I अर्थतन्त्रमा निकै कम्जोर पूर्व सोभियत रूस अर्थतन्त्रले उसको सामरिक र राजनैतिक महत्वाकांक्षा थाम्न नसकेर धरासायी भयो I पहिले पनि र अहिले पनि “जरो” भनेकै अर्थतन्त्र हो I अहिलेको स्थितिमा यो नेपाल-चीन वीचको बढ्दो अन्तरक्रियालाई कसरी नेपालले आफ्नो राष्ट्रियता र स्वाधिनतालाई असर नपारी दुवै राष्ट्रको हीतमा उपयोग गर्न सक्छ त?

आर्थिक विविधिकरण र सन्तुलन

यो नै नेपालको पहिलो लक्ष्य हुनुपर्दछ I इतिहासमै सम्भवत: पहिलो पटक एउटा लोकतान्त्रिक देशले अर्को लोकतान्त्रिक देशलाई ६-६ महिना सम्म “आर्थिक नाकाबन्दी” गरेको कुरा नेपालीहरुको मन र मुटुमा अझै पनि ताजा छ र कहिले पनि बिर्सने छैनन् I नेपाल जस्तो सानो देशलाई भारतले जस्तो व्यहार गर्यो, त्यसो गर्नसक्नुमा एउतै कारण थियो – भारतमाथि नेपालकोआर्थिक परनिर्भरता I अहिले पनि नेपालको कूल आयातको करिब ७०% भारतबाट हुने गर्दछ I यसैलाई भारतले नेपाललाई घुंडा टेकाउने अस्त्रको रूपमा प्रयोग गर्यो जुन हदै सम्मको अदूरदर्शी कदम थियो, अमानबियको त कुरै नगरौं I अब नेपालमा स्थायी सरकार भएको अवस्था संगै नेपाललाई यो अवस्था भविष्यमा हुन नदिन “व्यापार विविधिकरण र सन्तुलन” गर्न जरुरि छ I चीनसंग करिब ४०%, भारत संग करिब ४०%, र यूरोपियन संघ संग करिब २०% मा कायम गर्नु तर्फ़ नेपालको ध्यान हुनुपर्छ I कुनै एउटा देशसंग नेपालको आर्थिक परनिर्भरता नहोस I

२ राजनैतिक हस्तछेपको अन्त्य

नेपालको आन्तरिक राजनीतिमा भारतको राजनैतिक हस्तछेपले गर्दा नेपाललाई धेरै घाटा भएको छ I भारतले नेपाललाई भुटानको नजरले हेर्यो I अंग्रेजीमा भन्नुपर्दा “टेकन फर ग्रानटेड” को रूपमा लियो I यसमा नेपालकै नेताहरुको पनि ठूलो दोष छ I २००७ साल देखि २०४६ साल सम्म भारतकै छायामा हामीले प्रजातन्त्रको लडाई लडेकोमा भारतको छाया हामीले छोड्न सकेनौ I अस्थिर सरकार अनि नेताहरुबीच सक्तिको लागि दिल्ली धाउने कु-प्रबितीले देशलाई घातक भयो I आफ्नो पार्टी र व्यक्तिगत स्वार्थको लागि जब अन्तरिक राजनीतिमा वैदेशिक हस्तछेप निम्त्याइञ्छ तब देशले “स्वाधिनता” गुमाउदै जान्छ I बल्ल नेपालमा २५+ वर्ष पछि पूर्ण बहुमत र स्थायी सरकार आएको छ I यसका पनि धेरै आन्तरिक कमजोरी (केहि घातक) छन् तर वैदेशिक सम्बन्धमा भने नेपाल एउटा चट्टान जस्तो मजबूत बनेको छ I नेपालको प्रधानमन्त्री बन्न विदेशी सक्तिको आशिर्वाद लिनु पर्ने दिन अब गए भन्दा हुन्छ I

३ चीन र भारतको फरक राजनैतिक स्वार्थ

चीनको मूलत एउतै मात्र राजनैतिक स्वार्थ छ – एक चीन नीति I उसलाई ठूला देखि साना राष्ट्रले उसको “एक चीन नीति” लाई प्रतिकूल असर पर्ने खालको कुनै पनि कुरा र कदम चालेको पाच्य हुदैन I उसलाई अर्को देशको आन्तरिक मामिलामा खासै चासो भएको देखिन्न जब सम्म त्यो देशको राजनीतिले उसको आफ्नो नीतिलाई असर पर्ने देख्दछ I भारतको हकमा उसले नेपाल र भुटानलाई आफ्नो (हुन नसकेको) प्रान्त जस्तो व्यहार गर्यो I छिमेकीको अन्तर्मनको कुरा, चासो, अनि हीत लाई राम्रो संग बुझ्ने प्रयास गरेन I एउटा संकुचित चस्मा र बुझाईबाट हेर्ने प्रयास गर्यो I बदलिएको समयमा उसले पुरानो हैकमको व्यहार गर्यो I नेपाललाई अर्को ठुलो देशसंग अन्तरक्रिया गरेको उसले रुचाउने कुरा भएन तर अहिले उसले बाध्य भएर चुप लग्नु परेको छ I आज आएर उसेल पुरानो “ठुलो दाई” सोचाइमा आधारित छिमेकी सम्बन्ध अबको समयमा काम नलाग्ने चेतेको छ I बंगलादेश, श्रीलंका, र मल्दिव्स देखि भुटान सम्म भारतसंगको सम्बन्ध लै सन्तुलन गर्ने तिर लागिसकेका र सफल पनि भएका छन् I

४ विकासको राजनीति

अहिलेको संसार भनेको “व्यापार” को संसार हो I अहिलेको राजनीति भनेको “विकासको राजनीति” हो I संसारका अधिकांश देश लोकतन्त्र भए पनि एक-दलिय साम्यवादी चीनसंग व्यापार नगरी सुखै छैन I वास्तबमा चीनको अर्थतन्त्र पनि “बजारमुखी पूँजीवाद” नै हो I राजनीतिक प्रणालीमा आधारित “दर्शन र मान्यता” अनि आर्थिक आवश्यकतामा आधारित “वास्तविकता” विचको सन्तुलन कायम गर्न जरुरि छ I वीपी कोइरालाले भने झैं “माग्नेको स्वाभिमान हुन्न I भोको पेटको राष्ट्रियता हुन्न I ” नेपाल पहिले आर्थिक रूपमा बलियो बन्नु पर्छ I सबै नेपाली जनतालाई “निरपेक्ष गरिबी” बाट माथि उठाउनु पर्छ I अन्य देशहरु संगको सम्बन्धमा आफ्नो “राष्ट्रिय स्वार्थ” को ख्याल गर्नुपर्छ I लोकतन्त्र भनेर मात्र हुन्न – नत्र अमेरिकाले किन साउदी अरब जस्तो “निरङ्कुश” सासन र शासकलाई “वाक स्वतन्त्रताका दुत” एक पत्रकारलाई खुले-आम मारेको पुष्टि हुँदा पनि समर्थन गरेको छ I अमेरिकाको पनि आफ्नो राष्ट्रिय स्वार्थ छ – अमेरिकाको “स्वतन्त्रता” अमेरिकीको लागि हो, जरूर छैन साउदी वा तुर्किहरुको लागि I फेरी नेपाल जस्ता गरिब देशहरुमा पश्चिमा देश आएर “आधारभूत संरचना” मा लगानी गर्न आउने हैनन् I क्षणिक लाभको सोचैले ग्रसित पश्चिमा कम्पनीहरु नेपाल जस्तो देशमा लामो समयको लगानी गर्न आउने हैनन् I आउने भनेका उही “वर्ल्ड बैंक” र “एसियाली विकास बैंक” जसमा आधारित लगानीहरु हामीले देखिसकेका छौँ I अब फरक तरिकाले विकास गर्ने समय आएको छ I टाढाको देउता भन्दा नजिकको भूत नै कम लाग्ने देखिएको छ I चीनको दूरदर्शी विकासको मोडेल, विशेषत “आधारभूत संरचना” (जसमा लामो समय सम्मको लगानी आवस्यक पर्दछ) बाट नेपालले फाइदा लिन सक्नु पर्छ I यसो भन्दै गर्दा, श्री लंका जस्तो “निल्न नसक्ने गरि चपाउने” काम पनि गर्नुहुन्न I

नेपालले चीन र भारतसँग एक्काइसौँ सताब्दीको “विकासको राजनीति” मा आधारित सम्बन्ध कोर्नु जरूरी छ I दाजु-भाई हैन कि परस्पर समानता र सम्मानमा आधारित  “समकक्षी छिमेकी” को सम्बन्ध बढाउनु जरूरी छ Iअनि मात्र हामी दुई ठूला छिमेकीसंगको सम्बन्धमा आफ्नो राष्ट्रिय स्वाधिनतालाई मूर्तरूप दिन सक्छौं I

२० बुंदे समझदारी सम्बन्धि लिंक

https://www.enepalese.com/2019/10/248903.html

प्रतिक्रिया