महामहिमलाई खुल्ला पत्र

दिपक पुडासैनी २०७६ असोज १२ गते १५:१४ मा प्रकाशित

दिपक पुडासैनी।

नेपालको तर्फबाट राजदुत नियूक्त भएर कार्यभार संहाल्न भर्खरैमात्र कतार आईपुग्नु भएका महामहिम राजदुत डा. नारदनाथ भारद्घवाजलाई यसै पत्र मार्फत स्वागत गर्दै कार्यकाल अबिश्मरणीय एबं उच्च प्रशंसनिय रहोस भन्ने शुभकामना ब्यक्त गर्न चाहन्छु ।

राजदुत नियुक्त भएर भर्खरै आइपुगे पनि समय सुचना र प्रबिधीको छ त्यसैले तपांइ कतार र कतारमा श्रमरत नेपालीबारे त्यतिधेरै अनबिज्ञ हुनुहुन्छ जस्तो मलाई लाग्दैन । राजदुतकोलागी सिफारिस भएर नियुक्ती हुंदै कतार अबतरण गर्दा सम्मको लामो अबधिमा पक्कै पनि तपांइले यहांको बारेमा धेरै जानकारी लिई सक्नु भएको छ । यसैले पनि म यहांको बारेमा धेरै भन्न चाहन्न ।

कतारमा दुतावास स्थापना भएयता तपांइ ५औ राजदुत, पहिलो स्यामानन्द सुमन, दोश्रो प्रा.डा.सुर्यनाथ मिश्र, तेस्रो मायां कुमारी शर्मा चौथो डा.रमेश कोइराला । उहांहरुलाई कुन दलले सिफरिस गरे भनेर म राजदुतको मर्यादा माथी प्रश्न उठाउन चाहन्न । संबैधानिक ब्यबस्था अनुसार मन्त्री परिषको सिफरीसमा राष्ट्रप्रमुखलेनै तपांइलाई जस्तै नियुक्त गर्नु भएको हो ।

कतारमा श्रमरत नेपाली श्रमिकको हितमा राजदुतबाट भएको कार्यसंम्पादनलाई एउटा साधारण नागरिकको आंखाबाट हेर्दा भने सुर्यनाथ मिश्र बाहेक अन्य राजदुतले जागिर खाने यहांका मानब ब्यापारी तथा देशबाट अर्शिबाद दिने मुखियालाई खुसि पार्ने बाहेक खासै उल्लेखनिय काम भएको देख्न सकिएन ।
अर्को सिराबाट पनि प्रस्ट्याउन चाहें, स्यामानन्द सुमन आफ्नो कार्यकाल सकेर फर्किसकेपछी मात्रै म कतार आएको हुंदा उहांको बारेमा धेरै टिका टिप्पणी गर्न चाहिन तर तत्कालिन समयका पिडीत श्रमिकका गुनासालाई आधार मान्ने हो भने आफ्ना गुनासा र समस्या सुनाउन राजदुत भेट्नु पर्यो भने पिडक मानब ब्यापारीलेनै सिफारीश गरिदिनु पथ्र्यो रे, अन्यथा भेट असंम्भब ।

सुर्यनाथ मिश्रको पालामा संम्पुर्ण नेपाली श्रमिकको लागी राजदुतको कार्यकक्ष र मोबाईल २४सै घण्टा खुल्ला थियो । कुनै श्रमिक कतै अलपत्र परे भनि आधा रातमा फेन गरेपनि झर्को नमानी फोन उठाएर तत्काल आफ्नै गाडी र ड्राईबर पठाएर उद्घार गरेको घटनाको साक्षी हुं । दूतावासमा ३ जना कर्मचारी, श्रमिकका बिकराल समस्या, अनि हरेक दिन दुतावासको आश्रय स्थलमा शरण लिने १५ देखी ५०,५५ जना पिडीत नेपालीहरुको गुनासा र ब्यबस्थापन कम चुनैतिपुर्ण थिएन । त्यसमाथी नेपालबाट सरकारको सहमति नहुंदा नहुंदै जागिर धरापमा राखेर गरेको श्रमिकको तलब बृद्घि । समाजसेबीका मुखुण्डो लगाएका मानब ब्यापारीहरु जो हरेक शुक्रबार श्रमिक हितमा भाषण ठोक्थे र आफैले काममा लगाएका श्रमिलाई ६, ८ महिना सम्म तलब दिदैन थे दिए पनि अत्यन्तै न्यून, जुन पैसा खान र आफ्नो घरमा फोन गर्नपनि पर्याप्त थिएन । त्यस्तालाई सहिमार्गमा ल्याउन सहज पक्कै थिएन ।

जुन दलको सिफारिसमा राजदुत नियुक्त भएर आएका थिए त्यहि दलको भातृसंगठनका नेताहरु सुर्यनाथ मिश्रको कार्वाहिको पहिलो पंक्तीमा परेका थिए । उहांको भनाई थियो “मलाई राजनैतिक दलले सिफरिस गरेको भएपनि यहां आइसके पछी म दलको हैन देशको प्रतिनिधी हुं र हरेक नेपालीको हकहितको संरक्षण गर्नु मेरो पहिलो कर्तब्य हो ।”

त्यसैले होला उहांलाई ६दर्जन भन्दा बढि नेपाली संघसंस्थाले मात्रै अभिनन्दन गरेनन कतारका सम्माननिय अमिरबाट समेत सम्मन थापेर बिदा हुनुभयो ।
अर्को राजदुत मायां कुमारी शर्माको बारेमा धेरै कुरा नगरेकै राम्रो श्रमिक प्रतिको उहांको अपहेलना मात्रै हैन, कतारका कम्पनीहरुलाई बोलाएर ब्यापारीहरु संगको सांठगांठ पछि र आफ्नो पदिय मर्यादा ख्याल नगर्दा कतार सरकारले नेपाल सरकारलाई अनुरोध गरेरै फिर्ता गरेको कुरा जगजाहेरै छ ।

रमेश कोइरालाले जागिर र तलब खानु भयो तर अपेक्षाकृत काम भने श्रमिक हितमा गर्न सक्नु भएन किनकी उहां एउटा घेराबाट बाहिर निस्कनै चाहनु भएन । निस्कन दिएनन भन्दा अरुमाथी आक्षेप लगाएर आफु उम्कने कुरा मात्रै हुन्छ । गर्न चाहने र स्वबिबेकीलाई कसैले रोकेर रोकिन्न । उहांको बिदाईमा केहि ब्यापारी र नेता मात्रैले चासो देखाउनुले पनि उहांले कसकालागी समय खर्चनु भएको थियो भन्ने प्रष्ट हुन्छ ।

कतार सरकारले श्रमिक हितमा धेरै नियम कानुन र ब्यबहारमा सुधार गरेपछी पछिल्लो समय श्रमिक समस्या न्यून हुंदै गएको छ । नेपाल सरकारले पनि कतार दुतावासलाई सक्षम बनाउंदै जनसक्ती दर्जन हाराहारमिा पुर्याएको छ । यो अबस्थामा भर्खरै आउनु भएका महामहिमज्यूलाई श्रमिक हितकालागी उचित निति बनाउंदै अगाडी बढ्को लागी राजमार्ग निर्माण भएको छ । तर त्यसका लागी इच्छाशक्ति बढाउंदै घेराबन्दि तोड्नु पर्ने छ ।

महामहिमज्यूलाई यि सुझबहरु राख्दै गर्दा यहांका केहि तत्वहरु फेरी पनि मलाई मलुक फर्काउने कसरतमा लाग्ने छन जसरी पहिले लागेका थिए । यहिकारणले फर्काइनु परे पनि गुनासो रहने छैन किनकी २ बर्षको लागी भनेर आएको कतारमै दर्जन बर्ष नाघि सक्यो ।

हो महामहिम ज्यू, यि मेरा दलका कार्यकर्ता, यि मेरा दलका ब्यापारी, यिनिहरुको देशका नेता, मन्त्री, प्रधानमन्त्री सम्म पहुंच छ, यिनले भने अनुसार नगरे मेरो पद खुस्किन्छ, जागीर जान्छ, मौका पाएर कमाउन आएको हुं यिनैलाई हात लिएर कमाउनु पर्छ भन्ने सोचाई र योजनामा हुनुहुन्छ भने मेरा यि गन्थनको कुनै मुल्य र मान्यता रहने छैन ।

हैन नेपालको प्रतिष्ठा, नेपालीको श्रमिकको श्रमको उच्च कदर, नेपालको समृद्घिका लागी कतारबाट नेपाल बिभिन्न क्षेत्रमा लगानी, सिप, बिश्वासिलो वाताबरण भित्राउने सवालमा सोच्नु भएको छ भने र पैसा भन्दा प्रतिष्ठा प्यारो छ भने आफ्नै बिबेक प्रयोग गर्दै केहि ब्यापारीको निहित स्वार्थ, दलका भातृसंगठनका रुपमा गठन भएका तर श्रमिकमाराहरुको समुह र तिनको स्वार्थी अनि सांघुरो घेराबाट तपांइ बाहिर निस्कनै पर्ने हुन्छ ।

म तपांइलाई मायां कुमारी शर्मा जस्तो हैन सुर्यनाथ मिश्र भन्दा पनि सम्मानित भएर बिदा भएको हेर्न, सुन्न र तपांईको नाम र काम प्रति गौरब गर्न चाहन्छु । बांकी तपांईको आफ्नै मर्जी ।

दोहा, कतार ।
०९.०६.२०७६

प्रतिक्रिया