मन परेको मान्छे

रस्मिला कवाङ “रश्मि” जर्मनी २०७६ भदौ ३१ गते १०:३४ मा प्रकाशित

रस्मिला कवाङ “रश्मि” जर्मनी। सेप्टेम्बर महिना थियो। अलिअलि चिसो थियो। मेरो मन जस्तै ।जर्मनीमा प्राय कोठाहरुमा हीटर थिए नै, तापनि हिटरले कोठा मात्र तातो बनाउछ, मन बनाउदो रहेनछ ।जति नै रफ्तारमा यो देश चलेको छ , उति नै बिस्तारै चलेको छ मेरो जीवन , तेस्तो भान हुन्छ मलाई ।आफ़्नॊ पढाइको लामो बिदा भएकोले नेपाल जाने योजना वनाए । बर्लिन एयरपोर्ट हुँदै नेपाल पुगे।घर जाने खुसीले मन यति धेरै प्रफुलित थियो कि त्यति धेरै त माइत जाने विवाहीता नारी पनि सायदै होलिन् । निर्धारित समयमै पुगेकी थिए नेपाल।एयरपोर्टबाट वाहिरी कक्षमा हिड्दाहिड्दै अनुहारमा स्वोत मुस्कान छाएको थियो । बाआमा अनि भाइहरु देख्नेबितिकै नौ मिलियन डलर वरावरको खुसि छायो मनमा। सिनामंगलदेखि भक्तपुरसम्म आइपुग्दा त ५ वर्षअघि छोडेको काठमाडौँले त धेरै नै रुप फेरी सकेको थियो भाई बाटो भरि मोटरमा भिडभाड ,होहल्ला, धपेडी ,धुलॊ अनि त्यसमाथि ट्राफिक जाम ।आधा घण्टामा पुग्ने बाटोमा पनि सवा घण्टा लाग्यो ।जम्मा पन्ध्र किलोमीटर त्यो पनि ।

जर्मनीमा त एक घण्टामा १५० किलोमीटर पुग्थें । घर पुगेपछि सुरुमा नै आफ़्नॊ कोठा हेरे, ओहॊ । जस्तॊ मैले ५ बर्षअघि छाडेकी थिएँ; उस्तै रहेछ,एउटा पन्ना पनि यता उति भएको रहेनछ । बरु भित्तामा टागिएका ती पेंटिंगहरुका कागजमा किराहरुले तिकतिक प्वालहरु चाही वनाउन भ्याए ।एकछिनपछि आमाले मिठो खानाको स्वाद चखाईहाल्नु भयो । आफ्ना छोराछोरीहरु बिदेशमा सुखसयल मै भए पनि,बाआमाको मन न हो , लामॊ समयसम्म पनि सन्तान भेट्न नपाउदाको छटपटी , घरमा मिठोमसिनॊ पकाउदा सन्तानको याद अनि चाडवाडमा टाढा हुदा हुने पीडा मैले नभोगे पनि सहजै अनुमान गर्न सक्थे।

दशैंको माहोल भएकोले पर्यावरण पनि रमाइलो नै थियो। बिशेसत : आफ़्नॊ पढाईको केहि काम नेपालमा नै गर्ने उदेश्यले आएकी हुनाले केहि दिनमै उक्त कार्यालयमा हाजीरी गर्न गएँ । गेटमा आफ़्नॊ परिचयपत्र छोडेर म उक्त कार्यालयको बगैंचा हुँदै सोधपुछतिर जादै गर्दा मेरो नजर एक हरियो साइकल डोर्याउदै गएको एउटा अग्लो केटामा गएर अडियो। कालो गगल्स लगाएको अनि कालै मान्छे पनि सोधपुछतिर जादै थियो। कस्तो ‘ ह्यान्सम’ मान्छे रहेछ, मनमनै सोचें ।सोधपुछतिर लागेपछि आफ़्नॊ सम्पूर्ण विवरण दिएपछि एकछिन सोधपुछमा नै कुरिरहें ।एकछिनपछि एकजना मान्छेले आएर आफ़्नॊ परिचय दिएर मलाई पुरै कार्यालयको जानकारी दियो। दशैंको समय भएकोले खासै अफिसमा कर्माचारीहरुको उपसथिती थिएन। पहिलो दिन भएको ले मा पनि थोरै सम य बसेर फर्कें । मन भित्रभित्रै गदगद थियो । मलाई मैले काम गर्ने कार्यालय रमाइलो लागेको थियो।

घर पुगेपछि पनि एक छिन सोचीरहें, को होला त्यो मान्छे भनेर! निलो टिसर्ट, निलो जिन्स, कालो कपाल, आँखामा कालो चस्मा, करिब ६ फीट उचाई, ठिक्कको मोटोपन , कालै वर्णको , अझै भन्नु पर्दा ‘ब्लैक बिउटी’। मैले उसको हुलिया यसरि नै सम्झें । मनमा अनेक प्रस्नहरु उठे । के त्यो मान्छे त्यहि कार्यालयमा नै काम गर्थ्यो? उमेरको हिसाबले अलि पाको नै थियो । एक आधुनिक पढेलेखेकी म जस्ती नारीले कोहि राम्रो मान्छेलाई राम्रो भन्न पाउनु त आफ़्नॊ अधिकार नै हो नि भन्दै मनमनै तर्क गरेँ । यदि यस्तै कुरा कुनै पुरुषले गरेको भए, सायद त्यसलाई अर्कै तवरले बिश्लेसन गरिन्थ्यो होला तर सबैको आआफ्नै दुइ पाटा हुन्छन् ।बसकार्यालयमा धेरै कामहरु भएकोले म प्राय त्यसमै व्यस्त रहें । नया भएकोले अरु सहकर्मीहरुसंग त्यति घुलमिल भएको थिएन।आफ़्नॊ काम गर्यो अनि बस्यो। बेलाबेलामा लाग्थ्यो, को होला त्यो मान्छे! कार्यालयमा पनि खाजा खाने समय र कफी खाने समयमा मेरा आँखाहरु त्यहि मान्छेलाई नै खोजिरहेका हुन्थे । कहिलेकाही त लाग्थ्यो कि कतै म संग भेटाउन भगवानले पठाएको मेरो सपनाको राजकुमार त होइन ऊ ? म भित्रको भगवानप्रतिको विश्वास प्रकट हुन्थ्यो । ऊसंग पहिलो दिनमा नै परिचय नगरेकोमा पश्चताप हुन थाल्यो। कार्यालयको बसमा जाँदा पनि वरिपरि हेर्ने गर्थें ताकी ऊ पनि छ कि भनेर तर कतै पनि देख्दिनथिए उसलाई । सोचें,सायद ऊ साइकल मा आउने भएकोले नदेखेकी पो हो कि भनेर एक दुइ दिन त म पनि साइकल चढेर कार्यालय पुगेकी थिएँ तापनि देखिएन कतै । अब बसमा अरु सहकर्मीहरुलाई सोध्ने कुरा पनि आउँदैन किनकी नाम , काम केहि पनि त थाहा थिएन मलाई।

दिनहरु यसरी नै बित्दै थिए । सोधपत्रका विविध पक्षहरुका कामहरुले धेरै व्यस्त थियो समय । एक त आफ़्नॊ सुपरभईजरले भने अनुसार नतिजा ल्याउनु थियो त अर्कोतिर फील्डको कामहरु धेरै थिए। बिस्तारै शिशिर याम सकेर बसन्त ऋतुको आगमन हुँदै थियो। केहि सेमिनार अनि छलफलहरुको काम पनि बाँकी थियो। लगभग ६ महिना बितिसकेको थियो अनि फेरी रिपोर्ट लेख्ने तयारीमा पनि थिएँ । कार्यालय खोज अनि अनुसन्धानमा आधारित भएकोले बेलाबेलामा विविध कार्यक्रमहरुको आयोजना हुन्थ्यो र बिद्यार्थी भएकोले प्राय:म आफु पनि सहभागी भईरहनु पर्ने थियो । थुप्रै खालका प्रेरणादायी कार्यक्रमहरुमा हुँदा आफूलाई पनि रमाइलो नै लागिरहेको थियो। कति रमाइला थिए ती दिनहरु !देख्दिनथिए अब त सहकर्मीहरु पनि धेरै नाजिकिसकेका थिए । मार्च महिना थियो। अन्तरराष्ट्रिय महिला दिवसको दिन हुन्थ्यो कार्यालयले ब्लग लेखाई प्रतियोगीता गरेको थियो। आफ़्नॊ काम पनि त्यस संग अलिकति मिल्ने भएकोले मैले पनि आफ़्नॊ समूहबाट ब्लग लेखेकी थिएँ। साथमा हप्तौ दिन देखि खेलकूद पनि भईरहेको थियो ।आफू त्यति खेलकूदमा नलाग्ने भएकीले आफ़्नॊ सहभागीता जनाएकी थिइनं । अरु सहकर्मीहरुको दबाबले आफूले पनि केहि खेलमा नाम लेखाए। जर्मनीमा हुँदा होस्टेलमा कहिलेकाहीं टेनिस र ब्याटमिन्टन खेल्ने भएकीले यी दुईमा नाम लेखाए। टेनिसमा आफ़्नॊ पालो अगाडीनै रहेछ । कस्तो होला खोइ ? मनमा डर थियो तैपनि खेल त हो नि, रमाइलो गर्न खेल्ने त हो नि भनेर गएँ साथीलाई लिएर । हामीलाई खेलाउने मान्छेतिर लागें। म त झसङ्ग भएँ। हामीलाई खेलाउने मान्छे त उही मान्छे थियो जसलाई मैले कति खोजीनिती गर्दा पनि भेटेकी थिइनं । म त हर्षले भुतुक्कै भए। आफूले खोजेको मान्छे एक्कासी आफू सामू पाउँदा त पहिला बिश्वास गर्नै गार्ह्रो भयो। कतै सपना जस्तो पनि लाग्यो। अरे थियो यो त बिपना नै हो ।

एकछिन त बस शिर देखि पाउ सम्म हेरिरहें । सपना नदेख्ने को पो छ र ? सपनाबिनाको जिन्दगी के जिन्दगी र । अत्यन्तै राम्रो मान्छे, सरल स्वभाव, अनि मिजासिलो , बर्णन गर्दा पनि कम हुन्थ्यो । उसले अरु टिमका सहकर्मीहरुलाई खेलमा गाईड गर्दै थियो। टेनिस खेल्न गएकी म ,उसलाई एकटकले हेरिरहें । उसले मलाई चिनेको थिएन; चिन्ने त के , देखेको पनि थिएन । देख्न त मैले मात्र पो देखेकी थिएँ र एक देखाईमा नै ऊप्रति आकर्षित हुनु पनि आश्चर्य थियो। उसको बोली पनि पहिलोपटक सुनें । हुन त राम्रा मान्छेको सबैथोक राम्रा नै लाग्छन् भन्थे ; हो जस्तो पनि लाग्यो। उसको अनुहार एक झलक देख्ने बितिकै अरु केहि नसोचीकन राम्रो लागेको मान्छे थियो ऊ ।ऊसित बोल्न मन लागिरहेको थियो ; बोलाउन मन लागिरहेको थियो तर कसरी बोलाउने , किन बोलाउने , यस्तै सोचिरहें । कठै । कसैसंग बोल्ने मन हुँदाहुँदै पनि बोल्न नसक्नुको पीडा कति गहिरो हुँदो रहेछ। मलाई आत्मा ग्लानीले पोल्यो । फेरी ऊ कार्यालयमा कुन स्थानमा के काम गर्दॊ हो। या त अर्कै कार्यालयमा काम गर्दॊ हो कि। अनि म कुन आधारले यति बेचैन हुँदैछु यसरी। ऊ त मात्र सामान्य मान्छे हो, आफूभन्दा नि अलिकति पाको उमेरको। अनि सोचें -‘ यो सब मैले एउटा साथीको नाताबाट सोचिरहेकी छु , बस त्यति हो । साथी हुन त कुन उमेरले छेक्छ र?’ यो दिमाग र मन पनि कति अस्थिर हुने रहेछ । पछि एक सहकर्मीलाई सोधें उसको बारेमा । अरे । ऊ त कार्यालयको कुनै एक विभागको प्रमुख रहेछ । म त छक्क परें। त्यस्तो ठुलो पदमा रहेर पनि कति साधारण हुन सकेको भाई अझ त लवाइखवाई त हाम्रै उमेरको जस्तो ।

मेरो मनको बाँधले कत्तिखेर बोलुजस्तो भयो। फेरी म बोल्ने कुरामा त्यति पछि नपर्ने, जे पर्लापर्ला, आफूलाई लागेको कुरा त बोल्नुपर्छ भन्ने लाग्छ मलाई। आफू पालोमा टेनिस खेलिसकेपछि नजिक गएर सोधें -‘ तपाईं कता काम गर्नु हुन्छ?’ उसले हाम्रै कार्यालयको एक विभागमा गर्ने बतायो। मैले यो भन्दा अघि त कहिले पनि देखिनँ नि तपाईंलाई । भनेर सोधें । अरे । म पनि कस्ती। प्रमुख जस्तो मान्छे थोडी न हरेक विभागमा गएर गफ गर्दा हो र। आफूलाई थोरै भए पनि बोलेकोमा खुसी लाग्यो। पेशाले ऊ एक इञ्जिनिएर रहेछ तर ब्यबहारले भने कति मिजासिलो । पछि फेसबुकमा पनि रेक्यस्ट पठाए । उसले पनि स्वीकार्यो । मैले मेरा सबै जिज्ञासा राखें ।उसले कति सरल तरिकाले जबाफ दियो। अचम्म त के थियो भने त्यही कार्यालयमा हुँदाहुँदै पनि ६ महिनासम्म, त्यो पनि विभागीय प्रमुखलाई नचिन्नु थियो; मैले सिधै यो कुरा उसलाई पनि भनेकी थिए । उसले कति मिजासिलो रूपमा लियो ; म त यत्तिकै हुरुक्क थिए ; झन् त मिजासिलो पाराको अझ फ्यान भएँ । उसले हास्दै भनेको थियो- ‘ तपाईंलाई त चिन्छु नि म तर नामले मात्र ।’ किनकी हाम्रो सम्पूर्ण विवरण पहिला ऊकहाँ जाने रहेछ । मैले पनि जिस्किंदै भनें -‘ उसो भए त अब हामी केहि काम पर्यो कि सिधै तपाईंकहाँ आउँछौँ नि ।’ उसले पनि भैहाल्छ नि भनेपछि त अरु के नै चाहियो र ।

त्यसपछि त कार्यालय जानु जत्तिको रमाइलो अरु केहि भएन। उसको एक झलक हेर्न भए नि म र मेरी साथी खाजा खान क्यान्टिन जान थाल्यौं ।जब कि अरुबेला हामी घरबाट नै खाना ल्याएर कार्यालयको छतमा घाम तापीतापी खान्थ्यौं । अब त उसलाई हेर्न र ऊसंग हेल्लो भनेर बोल्न भए नि क्यान्टिन जाने भयौँ । क्यान्टिन बाहिर ठुलो बगैंचा थियो । ऊ खाना खईसकेपछि त्यहि बगैंचाभित्र टेनिस खेल्थ्यो । म भने बगैंचामा ऊ टेनिस खेलेको हेरीरहन्थें । सुन्दर बगैंचाको वरिपरि विविध किसिमका चराहरु चिरविर गर्दै रमाईरहेका हुन्थे ।बगैंचाको छेउमा आफ़्नॊ फरक लालिरूप रंग बोकेको गुलाब बोल्न खोजिरहे जस्तो। मखमली, सूर्यमुखी फूलहरुले आफ़्नॊ शक्तिले भ्याएसम्मको यौवन छछल्काइरहेको हुन्थे । सुर्यको चमकभन्दा फूलको चमक बढी भएको अनुभुती हुन्थ्यो ।

ऊ अनलाइनमा हुँदा प्राय: म उसको बारेमा सोधीरहन्थें । हाम्रो कुराकानी अनलाइनमा भइरहन्थ्यो। हरेक दिन क्यान्टिनमा पनि हुन्थ्यो । कुनै दिन मात्र पनि ऊ नआउंदा न्यास्रो लाग्थ्यो । यता मेरो सोधकार्यको काम पनि बिस्तारै सकिँदै थियो। बस दिनहरु रमाइलो तवरले बितिरहेको थियो । उसलाई पनि प्राय: म विविध रमाइला केहि लेख भेटाएँ भने इमेलमा पढ्नुस भनेर पठाउथें । ऊ साइकलिङ्ग पनि गर्थ्यो । त्यहि भएर केहि रोचक सामाग्री पाए भने पठाईहाल्थें। मलाई त ऊ संग बोल्ने बहाना चाहिएको थियो । ऊ बेलाबेलामा क्यान्टिनको बगैंचामा आएर कफी पिउँथ्यो ।म र मेरी साथी पनि क्यान्टिनमा आएर लस्सी पिउँथियौं । कहिले हाम्रो भेट हुन्थ्यो त कहिले हुँदैनथ्यो ।प्राय : सेमिनारमा पनि म सधैं जान्थें , ऊ पनि आउँछ कि भनेर । कति कार्यक्रम हुँदाखेरी त हामी संगै पनि काम गर्यौं ।कस्तो रमाइलो हुन्थ्यो अनि त आफूले गरेको काममा पनि दिलोज्यान लगाएर काम गर्ने प्रेरणा मिल्थ्यो उसलाई सम्झिन्दा मात्र पनि । जब दिनभरी आफ्ना कामहरु सकाएर जान कोठामा पुग्थें, मनमस्तिष्कमा उसकै यादहरु आउँथे । साच्चैं, उसलाई देखेपछि , भेटेपछि अनि बोलेपछि मेरो दैनिकी धेरै रमाइलो भएजस्तो आभास हुन्थ्यो । मनलाई एउटा प्रस्न गरेँ – ‘ ऊ को हो ? किन उसलाई यति धेरै प्रेम भावले हेर्दैछु म ?’ प्रेम गर्ने मान्छेहरु देख्दा रंगमंचमा नाटक प्रस्तुत गर्ने नाट्यकर्मी जस्तै लाग्ने गर्थ्यो , तर अहिले किन मेरो मनमा दीगॊ प्रेमको न्यानॊ अनूभूति भएको होलाआफ्नै मन संग कुरा गर्थें यसरी नै म । सायद समयलाई मैले चाहेर रोकिने भए, ऊसंगको त्यो पहिलो भेट, पहिलो हेराई अनि पहिलो मुस्कानलाई रोकीरहन्थें होला।

एक दिन फेरी कार्यालयमा एउटा कार्यक्रम थियो। वातावरण दिवसको अवसरमा सरसफाइको कार्यक्रम थियो गोदावरीको जंगलमा ।ऊ त्यो कार्यक्रमको संयोजक थियो, त्यसैले म नजाने त कुरै थिएन । त्यो दिन बिहानै कार्यालय पुगेका थियौं हामी सहकर्मीहरु। पानी पनि सिमसिम परिरहेको थियो तापनि हामी रमाइलो गर्दै गयौं । ऊ साइकलमा आयो । त्यसपछि हामी कार्यक्रममा लाग्यौं । त्यो दिन हामी दिनभरी संगै काम गर्यौं र धेरै कुरा गर्ने मौका पनि पायौं । अघिल्ला वर्षहरुमा साइकलिङ्ग हुँदोरहेछ तर यो वर्ष भने सामान्य सरसफाईको मात्र कार्यक्रम भएको रहेछ। मैले उसलाई किन साईकलिङ्ग कार्यक्रम नगर्नुभएको , नत्र हामी साइकलिङ्ग गर्न हुन्थ्यो नि भनेर जिस्कीएँ। ऊ मुसुमुसु मात्र हासींरहयो । उसलाई मैले त्यो दिन धेरै नजिकबाट वुझ्ने मौका पाएँ । ऊ कति असल , कति राम्रो । त्यो त वयान गरेर साध्य छैन । ऊ वास्तबमा मान्छे नै धेरै राम्रा। कार्यालयमा पनि धेरै केटीहरु ऊ भनेपछि भुतुक्कै हुने रहेछ ।

एकदिन ऊ अनलाईनमा आउँदा मैले उसलाई जिस्क्याए कि उसलाई कार्यालयमा सबैले मन पराउँछन्, माया गर्छन् भनेर । ऊ अलि भावुक हुँदै सोध्यो -‘ अनि तपाईंले नि? ‘लौ किन भुतुक्क हुनु र नि हामी भनेर मैले हाँसेर टारीदिएँ। मनमा त थियो नि ऊप्रति अथाह प्रेम तर बाहिर प्रकट गरेर कहाँ आत्मासमर्पण गर्नु र। तर जति नै अपार माया गरे पनि जिन्दगीमा मायाले मात्र त कहाँ पुग्दॊ रहेछ र नि। हामी बिचमा माया त छ नि धेरै तर त्यो भन्दा पनि अरु धेरै कुराहरु थिए । म नेवार समुदाएकी अनि ऊ छेत्रीको छोरा । हुन त आधुनिक समाज धेरै नै अघि वढीसकेको छ ; हामीजस्ता नरनारीले कहाँ यस्ता कुरा गरेर हुन्छ जस्तो नि लाग्छ तर अर्कोतिर हामीले समाज र परिवारको भावना पनि वुझ्नुपर्ने हुन्छ । जर्मनीमा हुन त बिहे नै गर्दैनन् प्राय : मान्छेहरुले। आफूलाई मनपर्ने मान्छेसंग बस्ने अनि येदि बस्न मन लागेन भने छुट्टै बस्ने चलन छ । यस्तो कुरामा छोराछोरीको मात्र सहमति नभई परिवारकै सहमती हुन्छ र त प्राय : बिकसित देशहरुमा बिहे गर्ने र जातका कुरा त्यति हुँदैनन् । जस्तोसुकै वातावरणमा बसे पनि हामी नेपाली संस्कृतिको धरातल बोकेका मनोवृति बोकेकाले हामीलाई यस्ता कुराले यो आधुनिक २१ सौं शताब्दीमा पनि प्रभाब पार्दॊरहेछ । मलाई पनि यस्तै कुराले प्रभाब पार्यो। जर्मनीमा पढेर पनि त्यहि भएर म पनि हाम्रो सामाजिक संस्कृतिबाट अछुतो रहिनँ। हुन त मैले साहसी भएर भन्न नखोजेकी पनि होइन तर आफ़्नॊ स्वार्थ मात्र हेर्दा, त्यसले समाज र परिवारमा पर्ने असर पनि हेर्नु पर्दॊरहेछ।

एकदिन हामी सहकर्मीहरु मिलेर शनिबार चित्लाङ्ग जाने कार्यक्रम बनायौं । मलाई कति डर थियो कि ऊ त्यो टूरमा नआउँला भनेर । बल्लबल्ल हामीले सबै कार्यक्रम मिलायौँ । शनिबार बिहान हामी शहिदगेट भेट्ने कुरा थियो । ऊ सातदोबाटोबाट आउने भएकोले लगनखेलबाट संगै जाने कुरा भयो। हामी बसमा बस्यौं चित्लाङ्गको लागी । बाटाभरि दोहोरी गाउँदै , नाच्दै गयौं । ऊ बसेको सीटसंगै म पनि बसेकी थिएँ । मैले पनि ऊसंग गफ गर्दै, बाटामा देखेका रमाइला दृश्यहरु क्यामेरामा कैद गर्दै गएँ । मैले उसलाई एक्कासी भनें – ‘ म तपाईंलाई धेरै मन पराउँछु ।’ ऊ अक्क न बक्क पर्यो । अरु सहकर्मीहरु गीत गाउँदै ताली पिट्दै नाचीरहेका थिए ।म पनि अगाडी सीटमा गीत गाउन गएँ । आफूले बोलेको शब्दले आफैलाई गिज्याएझैं लाग्यो । खुलेखानीतिर धेरै लामो जाम थियो। हाम्रो बस पनि सडकको एक्कापट्टि थियो। मैले पछाडी फर्केर उसको आँखामा पुलुक्क हेरें । कलेटी परेको उसको ओठले केहि बोल्न खोज्दै थियो सायद । गोधुली सन्ध्या बिस्तारै ढल्किदै थियो। त्यति बेला लाग्यो; अनगिन्ती ताराहरु मध्ये एउटा तारा चमक्क चम्किरहेको थियो; त्यो हो हाम्रो प्रेम ।

बल्ल २ घण्टा जाम पछि खुलेको बाटोमा बिस्तारै बस गुड्न थाल्यो। हामी बेलुकातिर पुग्यौं चित्लांग ,त्यो सुन्दर गाउँ । पुग्नेबितिकै मकै र चियाले स्वागत गरियो । झरीको समय भएकोले जुकाको बिगबिगी थियो त्यहाँ । हामी घरिघरि आफ्ना खुट्टातिर आँखा डुलाउँथ्यौं , कतै जुक्का छ कि भनेर । हामी कटेजमा बस्यौं । हामी ससनॊ समूह बनेर आआफ़्नॊ कोठामा गयौं । साँझतिर अरु सहकर्मीहरु क्यामफ़ाईरिङ्ग गर्ने भनेर बाहिर निस्किए । बाहिर सबैजना गोलो भएर बसीरहेका थिए । ऊ पनि त्यहीं रहेछ । मलाई अलि अपठ्यारॊ लाग्यो उसलाई देखेर। मैले ऊ संग आँखा जुधाउनै सकिन । म कस्ती स्वभावकि छु , राम्रोसंग आफूलाई पनि थाहा छैन तर मलाई नजिकबाट चिन्नेहरु भन्थे कि म हक्किस्वभाब की छु, बोलेको कुरा गरेरै छाडछे । सहकर्मीहरु गीत गाउँदै नाच्न थाले । मलाई पनि नाच्न त कति मन थियो नि तर ऊ त्यहाँ भएकोले मैले राम्रो संग कुरा पनि गर्न सकिन। हाय ।  यो कस्तो क्षण आईपरेको जिन्दगीमा, अगाडी नभए नि छटपटी , भए नि छटपटी !

ऊ एकछिन पछि चुरोट सल्काउन्दै अर्को टेबलनेर गयो । हातमा रक्सीको ग्लास समाउदै। मलाई अलि कस्तो कस्तो लाग्यो। गितार बजाउदै एक सहकर्मीले गीत गाउँदै थियो -‘ यो सम्झिने मन छ, म बिर्सू कसरी:::::’ लाग्यो त्यो गीत मैले नै गाइरहेकी थिएँ मात्र उसको लागि । अब लाग्यो उसले मलाई वास्तै गर्न छोडी सक्यो किनकी ऊ चुरोट सल्काउन्दै रक्सि पिउंदै आफ्नै धूनमा थियो। बाहिरबाट राम्रो देखिने मान्छेहरु भित्रबाट सार्है कपटी हुन्छ जस्तो लाग्यो। एक मनले त लाग्यो , आजकालको जमानामा नपिउने को हुन्छ र ? अरुको त के कुरा। जर्मनीमा हुँदा म आफै पनि त कति बियर पिउथें। हरेक साताको अन्त्यमा रातभरी पार्टी गर्दै हिडथिए । अर्को मनले सोचें – ‘ अरे। त्यो त विदेश पो हो, त्यहाँ त स्वतन्त्रता छ । कसैलाई कसैको मतलब हुँदैन, तर यो त नेपाल पो हो अनि हामी नेपाली । आफ़्नॊ नेपाली संस्कार त बिर्सनु भएन नि। यस्तै भावनाहरुको अन्तरद्वन्द गीतको पृष्ठभुमिमा चलिरहे । वास्तबमा जिन्दगीहरु शरीरभन्दा बढी भावनाहरुको नदी हो, जुन नदीले बाटो फेर्छ, त्यतिबेला धेरैको तहसनहस हुन्छ । अनि जब सपनाहरु भावनाको भंगालो वनेर निस्किन्छन; त्यसको क्ष्यतिपूर्ति सधैं अपुरै हुन्छन् । हैट जुन रमाइलो टुरमा आउँदा नि नाना भाँतीका कुरा गरेर बसेकी होला भनेर अरु सहकर्मीसंगै नाच्न थालें । अब पिउदिन त भनेकी थिएँ नि तर के छ र जिन्दगीमा भनेर एक ग्लास वाईन पिएँ। सबैलाई मात लागेपछि बिस्तारै आफ्नू कोठामा लाग्यौं सबैजना । मोबाइल हेरें । मेसेंजेरमा उसकै मेसेज आएको रहेछ । निन्द्राकै सूरमा हेरें । लेखेको थियो -‘ के तपाईं मसंग बिहे गरेर मेरो घरबार सम्हाल्नुहुन्छ?’ अर्ध निन्द्रा मै पढेर हाँसो उठ्यो। अरे । मैले त उसलाई मनपर्छ पो भनेकी थिए, बिहे नै गरेर घर समाल्न त भनेकी छैन नि। एकतिर वाईनले टाउको दुखिरहेको थियो भने अर्कोतिर उसका कुराले पारॊ तातीरहेको थियो। ठिक छ बाबा , मन परेपछि माया गरिन्छ र बिहे पनि गरिन्छ अनि अन्तत : घरबार पनि हेरिन्छ तर यी सब कुरा भनेका त पछि आफसेआफ बहन गर्दै जाने कुरा हुन, सांसारिक नारीका जिम्मेवारीहरु हुन् , उसले सिधै यी उसका जिम्मेवारीहरु नारीमाथि थोपार्नु त अन्याय हो। म मनमनै मुर्मुरीए। पहिला पढ्थें कि लोग्नेका निम्ति सबै सपनाहरु कसरी मनको चिहानघारीमा गाड्न सक्छन् नारीहरु भनेर । अहिले आएर सो कुरा आफैमा लागू हुँदा आफैमाथि दया जाग्यो। लाग्यो सायद नारी मनको चिहानघारी उत्खनन् गर्ने हो भने त , सपनाका कंकालहरु कति भेटिन सक्छन होला  त्याग र तपस्याकी प्रतिमूर्ति नारीलाई पुरुष मनॊविज्ञानले किन वुझ्न सक्दैनन् होला तपस्या उफ। कति साघुरो छ नारीप्रति पुरुष मनको सोचाई। यस्तै कुराले दिमागमा कुस्ती खेल्दै थियो।

भोलि बिहान सहकर्मीहरुको हल्ला सुनेपछि बल्ल निन्द्रा खुल्यो । टाउको भारी थियो, लाग्यो सपना देखेर मनमस्तिस्क सबै आलश्य भइरहेको छ । चिया खाने समय भएर हामी सबिजना बैठकतिर लाग्यौं । अरु सबैजना पनि हस्याङ्ग फस्यंग गर्दै आइरहेका थिए। मैले चियाको चुस्की मात्र के लिएकी थिएँ , ऊ पनि आयो चिया खान पुलुक्क हेरें अनि अलिअलि रिस पनि उठ्यो हिजोको कुराले । उसले पनि वरिपरि हेरेर केहि मन्द मुस्कान दियो। मनमा नपोखिएका रिस हुँदाहुँदै पनि ऊ नजिक हुँदाखेरि आभाष भने छुट्टै आनन्दको थियो। सायद यो उसकै प्रेमको प्रभाब थियो। हुन त मन पराएर मात्र त के नै हुन्छ र । हामी बीच धेरै कुराहरु को भिन्नता थियो। हुन त यी यस्ता यावत कुराहरु भनेका हाम्रो समाजमा रहेका कुरा हुन् । यी सोच्दा त कहिलेकाँही उदेक लाग्छ। यस्ता कुराहरु भनेका हाम्रो समाजमा बिधेमान पुराना सोचाईहरु हुन्; यसलाई अलि परिमार्जन गरेर लैजान सकिन्थ्यो यदि हामीले आफ़्नॊ सोंचलाई अलिमाथि उठेर सोच्यौं भने तर सोचेजति सजिलो भने पक्कै छैन। केहि वर्ष बिदेशमा बस्दा सोंचमा परिवर्तन नआएको पनि होइन तर त्यसलाई व्यवहारिकतामा लागू गर्न त्यति नै मुस्किल हुँदो हो। जसरि अहिलेको अवस्थामा छ ।

मैले उसलाई छड्के नजरले एकटकले हेरीरहें। धेरै माया लागेर आयो किनकी अखिरमा मन परेको मान्छे थियो ऊ। उसलाई हेरिरहें भने अझै सदियौं हेरी रहुँ जस्तो लाग्ने लागेर उफ । यो छोरीको जात; अर्काको घर जानु पर्ने ।सदियौं देखि चल्दै आएको चलन मैले मात्र त के फेर्न सक्थें र।आधुनिक युगकी केटी भएर पनि उसको अगाडी कसरी झुक्न पुगें म।अरु कसैले कुनै काम गर्न बाध्य बनाउन खोजेको भए ठाडै प्रतिकार गर्नलाई केहि गार्हो हुने थिएन तर आफूलाई मन पर्ने मान्छेसंग भिड्न धेरै गार्हो हुँदो रहेछ ।बल्ल अनुभूती गरेँ ।

उसले एकदिन मेसंजेरमा उसले शनिबार भेट्ने कुरा गरे । मैले नि भोलि क्यान्टिनमा भेटौला नि भनेर हासीदिएँ । उसले बाहिरै भेट्ने कुरा गर्यो। मनमा खुल्दुली भयो किन होला भनेर । कुर्ता सुरुवाल लगाएर अलि सजिएर गएँ । एउटा कफी शपमा कुर्दै थियो ऊ। निलो सर्ट र निलो जिन्स मै थियो ऊ। सायद उसको ड्रेसकोड नै थियो। देख्ने बितिकै सिरदेखि पाउसम्म नियाल्दै थियो ऊ मलाई। कफी मगायो र आयो पनि। अनि चिनी हाल्दै उसले भन्यो -‘ हेर्नुस , तपाईं हामी भनेको धेरै फरक छौँ ।’ उसको कुरालाई बिचमै काटेर मैले जे भन्नु छ सिधै भनुस भनें । उसको मोबाइलमा देखाउदै यो के हो भने । मैले ‘तपाईं ‘ भनें । उसले गम्भीर हुँदै मलाई ऊ बाट टाढा हुन को लागि सम्झाई रहेको थियो।

उसले भन्दै थियो कि कसैलाई प्रेम गर्नु कुनै पाप होइन तर त्यो प्रेमले गन्तब्य पाउनु ठुलो कुरा हो । मैले भनि हालें – ‘ उसो भए तपाईं किन यो कुराबाट मोड्न खोज्नु हुन्छ? स्वीकार किन गर्नुहुन्न? ‘ मेरो प्रश्नले ऊ चुप भयो र अतितका कुराले सायद उसलाई चिन्तित वनाएको हुनुपर्छ। मैले आफू मात्र, आज र भोलिको सरोकार रहेको कुरा भनें । उसले लामॊ सुस्केरा तान्दै भन्यो -‘ सोचे जति जीवन सहज छैन, त्यही भएर प्लिज , मेरो कुरा स्वीकार गर्नुस , किन भनेर नसोध्नुस प्लिज ।’ उसको यस्तो कुरा सुनेर छक्क परें म एकछिन। तर पनि उसको भावनालाई कदर गर्दै चुप बसें । मनमा त थियो नि हजार कुराहरु उसलाई सोध्न । तैपनि उसको अनुरोधलाई टार्न सकिन र भरि मन लिएर फर्कें। फर्किने बेलामा उसले एकटकले मलाई हेर्यो। त्यसै त्यसै आँखा भरिएर आए । अरे  । म कहाँ त्यस्ती रुन्चे केटी हो र भन्दै आफुलाई समालें । उसको धेरै माया लाग्यो मलाई यतिबेला । उसलाई दिल खोलेर भन्न मन थियो कि म तिमीलाई धेरै माया गर्छु , उस्को लालीजस्तै न्यानॊ अनि चोखो , तर भन्ने आँट आएन । घर पुगेपछि मोबाइलमा मेसेज आयो। उसकै रहेछ। लेखेको थियो – ‘ तिम्रो मन परेको मान्छेले तिमीलाई अथाह प्रेम गर्छ, तिम्रो त्यो पहिलो हेराई अनि मुस्कानलाई माया गर्छ किनकी मेरी मन परेकी मान्छे तिमी ।

मेसेज पढेर एकछिन अलमलिए- ‘अखिरमा मन परेको मान्छे ऊ कि म।

 

!’

प्रतिक्रिया