तेजाब आतंक – कहालीलाग्दो सामाजिक रोग

बाबा राजेश्वरी थापा ढकाल २०७६ भदौ २१ गते २२:२० मा प्रकाशित

भृकुटी र सिताको माइतीदेशको उच्चपदमा महिला आसीन छिन तर राष्ट्रपतिलाई व्यक्तिभन्दा संस्था भनेर उनका कमीकमजोरीलाई आसेपासेले ढाकछोप गर्दा मौन भएर टुलुटुलु हेर्न सब बाध्य छन  । एउटी किशोरी बलात्कृत भएर मृत्युवरण गरेको र त्यही मुलुकमा नारीवादीहरु महिलाअधिकारका मुद्दामा कुर्लिरहदा एउटी अर्की चेली तेजाब प्रहारको पीडामा छटपटाउदा मौन छन । मानव अधिकार र महिला सशक्तिकरणका लामा भाषण गर्नेहरु। भृकुटी र सिताका बहिनीहरु कलीयुगका रावण र दुर्योधनहरुबाट आक्रमण हुदा पनि तै चुप र मै चुप गरेर त्यो पदमा विराजमान हुन दुई छोरीकी आमा राष्ट्रपतिज्युलाई शोभा दिदैन।

दाइजोको चपेटामा जल्न र आत्महत्या गर्न बाध्य मधेसका चेलीहरुको अर्को त्रास हो तेजाब आतंक, हुन त पहाडमा पनि यो घटना नघट्ने होइन तर बुझ्न नसकेको तीतो सत्य, यस्ता गम्भिर विषयमा न त सडकमा न त सदनमा छलफल हुन्छ। प्रहरीप्रशासनले पक्कै आफ्नो कर्तव्य निभाउछ तर कानुन बमोजिम सजाय त न्यायलयले दिनुपर्छ। कानुनमा यस्तै छ वा मुलुकी एेनमा यस्तै छ भनेर सजायमा परिवर्तन गरिएन वा कुनै पनि विषयलाई गम्भीर लिइएन वा त्यस विषयमा छलफल गरिएन भने अपराध रोकिदैन।

ऋषि धमलाकी पत्नीले तीजको व्रतमा आफ्ना श्रीमानको खुट्टाको पानी खाएर ढोगेको तस्वीरमा अनेकौ विश्लेषण गरेर आफ्ना मुहारपुस्तिकाका भित्ता रंगाउनेहरुका औला किन चल्दैन । ती तेजाबको पीडामा छटपटाएकी चेलीका शिकारीलाई कडा भन्दा कडा सजाय दिन आवाज उठाउने अभियानमा ? यस्तै सामाजिक जनचेतनाको अभाव वा सही कुरा र समयमा मुखमा पट्टी बाध्नेहरुका कारण चेलीहरुको अस्मिता लुटिन्छ। कसैका सुन्दरी छोरीहरु तेजाबले पोलेको घाऊको पीडाभन्दा पनि निको भएको खाटाको कुरुपतामा जिउदो लास बनेर अनुहार लुकाउदै भाग्यलाई दोष दिदै मृत्यु पर्खिन बाध्य हुन्छन।

नारी सिर्जनात्मकरुपमै सार्है सुन्दर प्राणी हो। नारीहरु बाहिरीरुपमै सुन्दर हुनु र थप सुन्दरताको प्रयास गर्नु एक सामान्य मानवीय गुण हो तर तेजाब प्रहार पछिको कुरुपता सम्झिदा कुनैपनि मानिस झस्किन्छ तर यथार्थताको धरातलमा त्यस्तो जीवन व्यतित गर्ने चेलीको पीडा र समाजले गर्ने हेलाको मापन गर्न शायद आजसम्म कुनै यन्त्र आविष्कार भएको छैन।

तेजाब प्रहारको शिकार भएकाहरुलाई जीवन बांच्न थप उर्जा प्रदान गर्न र अपराधको न्युनीकरणको लागी एसिड प्रहार गर्नेको लागी कडा कारवाही व्यवस्था हुनुपर्छ । किनकि आज तेजाब प्रहारका शिकार धेरै महिला भएका छन, भोली त्यसको शिकार पुरुष पनि हुनसक्छन।

नेपालको कानुन अनुसार गरिएको व्यवस्था यसप्रकार रहेछ, “कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन ।

कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुनेछ । जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ ।”

कानुनमा के छ, कस्तो छ सबैलाई जानकारी नहुन सक्छ, यस्ता कुराहरुमा जनचेतना बढाउने काम प्रहरी प्रशासनको हो। यस्ता समसामयिक विषयलाई प्रहरीप्रशासनले नाटक, चलचित्र आदिका माध्यम जनमानसमा चेतना जगाउदा बढी प्रभावकारी हुन्छ। विध्यालय, क्याम्पसहरुले समेत यस किसिम कार्यमा प्रहरीसंग सहकार्य गरेमा तेजाबको जलन कसैलाई हुदैन। तेजाब आतंकको न्युनीकरण गर्ने एक मात्र उपाय कानुनमा परिवर्तन र यसको कडाईका साथ अनुसन्धान।

मुस्कानको मुस्कान फेरि फर्कियोस, उनलाई चेहरा लुकाएर होइन चेहरा देखाएर बांच्न र एक प्रेरणाको स्रोत बन्न सबको साथ मिलोस् किनकि आज मुस्कान तेजाबको शिकार बनेकी छिन भोली जो कोही यसको शिकार बन्नसक्छ। तेजाब शिकारीले लिंग हेर्दैन नत उसको उद्देश्य कसैको ज्यान लिनु हो, उसको उद्देश्य त उसको शिकार तड्पिएर बांचेरको हेर्न पाउनु हो तर अन्त्यमा, you can damage his/her face but not heart and dream“.

मुस्कानको खुशी लुट्नेको सपना जन्मभर झ्यालखानाको दलिन हेरेर बितोस्। तेजाब प्रहारका शिकार बनेकाहरुको पीडा नजिकबाट बुझ्न ,“Saving Face“ युट्युबमा समेत हेर्नसकिन्छ। तेजाब आतंकका विरुद्ध लड्नु एक सामाजिक कर्तव्यसमेत हो।

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

( कानुनको जानकारीको लागी अधिवक्ता स्वागत नेपालमा स-धन्यवाद)

प्रतिक्रिया