श्रीलंकाका लागि नेपाली राजदूत प्याकुरेलले राजीनामा दिए

इनेप्लिज २०७६ असार २९ गते ९:३१ मा प्रकाशित

काठमाडाैँ, २९ असार । श्रीलंकाका लागि नेपाली राजदूत प्रा‍‍. डा. विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।

प्याकुरेलले परराष्ट्र प्रशासनप्रति असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएको बुझिएको छ । प्याकुरेल २३ बैसाख २०७४ मा श्रीलंकाका राजदूतमा नियुक्त भएका थिए ।

लामो समय अर्थशास्त्रको प्राध्यापन गरेका उनी शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा राजदूत नियुक्त भएका थिए । उनको राजीनामा साउन १ गतेदेखि लागू हुने गरी गएको मंगलबार सरकारले स्वीकृत गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले राजीनामा स्वीकृत भएको जानकारी दिदै राजीनामा दिनुको कारणबारे भने आफूलाई जानकारी नभएको बताएका छन् ।

देउवाको पालामा नियुक्ति लिएर गएका अन्य राजदूतलाई यसअघि नै फिर्ता बोलाइए पनि प्याकुरेल र जापानका लागि नेपाली राजदूत रहेका प्रतिभा राणालाई भने फिर्ता बोलाइएको थिएन।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्याकुरेललाई आफ्नो राजीनामामा पटक-पटक पुनर्विचार गर्न आग्रह गरेको बुझिएको छ ।

प्रतिक्रिया