राष्ट्रपति ट्रम्प खुशी : ह्वाइट हाउसले भन्यो ‘जीत ‘ ,बाइडेनद्वारा चर्को आलोचना

इनेप्लिज २०८२ असार १९ गते २०:४६ मा प्रकाशित

बाइडेनले सामाजिक संजालमा लेखेका छन्, “रिपब्लिकनहरूको यो बजेट विधेयक लापरवाह मात्र होइन, यो निर्दयी पनि छ। यसले मेडिकेड (गरिबलाई दिइने स्वास्थ्य सेवा) मा भारी कटौती गर्छ र लाखौं अमेरिकीहरूको स्वास्थ्य सेवा खोस्छ। यसले ग्रामीण अस्पतालहरू बन्द गर्छ र हाम्रा अवकाशप्राप्त सैनिक र वृद्धवृद्धाका लागि खाद्य सहायता पनि घटाउँछ।”

उनले अगाडि थपे, “यसले ऊर्जा बिजक (बिल)बढाउँछ। र ,यसले मेडिकेयर (वृद्धवृद्धाको स्वास्थ्य सेवा) मा ठूलो कटौती गर्न सक्छ, जबकि देशको घाटा ४० खर्ब डलरले बढाउँछ। यो सबै अर्बपतिहरूलाई ठूलो कर छुट दिनका लागि हो। मेहनती मानिसहरूले राम्रो व्यवहार पाउनुपर्छ।”

अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्स अर्थात् प्रतिनिधि सभाले राष्ट्रपति ट्रम्पको ठूलो कानुनलाई पारित गरेलगत्तै ह्वाइट हाउसले “जीत!” को घोषणा गर्‍यो। ह्वाइट हाउसकी छापा सचिव (प्रेस सेक्रेटरी) क्यारोलिन लेभिटले सामाजिक सञ्जालमा अब यो विधेयक हस्ताक्षरका लागि राष्ट्रपतिको टेबलमा जाने लेखेकी छिन् ।

राष्ट्रपति ट्रम्पको यो खर्चसम्बन्धी कानुनको विपक्षमा दुई जना रिपब्लिकन सांसद थोमस मेसी र ब्रायन फिट्जप्याट्रिकले मतदान गरे। साथै सबै डेमोक्रेट सांसदहरूले पनि यो विधेयकको विपक्षमा मतदान गरेका थिए।

प्रतिक्रिया