बुधबार, असोज २९ २०७६
काठमाडौं १०:१४
वासिङटन डिसी 00:29

नेपाल–कालगतिले मर्न पाइने देश’

गोपाल गरतौला २०७६ असार २३ गते २२:३५ मा प्रकाशित

यति राम्रो देशलाई यति नराम्रो तरिकाले सञ्चालन गर्ने शासकप्रति आम नेपालीको गुनासो कति छ कति । तर, एक अफगान शरणार्थी भने यही नेपाललाई ढुक्कले बाँच्न पाइने देश भन्छन् ।नेपालीका लागि नेपाल के होला ? जवाफ अनेक आउन सक्छ । प्राकृतिक सुन्दरताले भरपूर यो मुलुक गरीबीले आक्रान्त छ । भ्रष्टाचारमा डुबेको छ। अव्यवस्था र विकृति सामान्यझैं बनेको छ । निराश युवा भविष्य खोज्न कहिल्यै नसहेको ताप सहदैं खाडी मुलुकमा मजदूरी गर्न बाध्य छन् अर्थात् आमजनताका लागि देशको वर्तमान आशावादी छैन ।

तर, अब्दुल बकुर शिरजाद (५०) का लागि यो देशको परिभाषा फरक छ । उनका लागि नेपाल ‘कालगतिले मर्न पाइने देश’ हो, जुन उनको जन्मभूमि हेलमण्ड, अफगानिस्तानमा कल्पना पनि गर्न सकिन्न ।

झण्डै ३० वर्षअघिको एक बिहान, अब्दुल घरमै थिए । अफगानिस्तानभित्र पसेको सोभियत सेना र अफगान मुजाहिद्दीनबीच हेलमण्डमा भिडन्त चलिरहेको समय थियो । जताततै गोलाबारी, धुवाँको मुस्लो, रौरव चित्कार सुनिन्थ्यो । वर्षाैं लगाएर बनाएका संरचनाहरु क्षणभरमै ध्वस्त भइरहेका थिए ।

यत्तिकैमा अब्दुलको घरको साँधैमा जोडिएको सहोदर दाजुको परिवारका तीनजना क्षणभरमै ‘क्रस फायर’ मा मारिए । उनको पनि देब्रेतिघ्रा र पेटको तल्लो भागमा गरी तीनवटा गोली लाग्यो । उनले डराउँदै दाजु र भतिजहरुको लाश ‘दफन’ गरे ।

त्यसपछिका दिन पनि सहज थिएनन् । स्कूल बन्द भयो । कति दिनमा एक घण्टा मात्र खुल्ने खाद्यान्न पसलमा तँछाड मछाड लाइन । पारिवारिक कमाइको मेलो ग्रिल र ट्यांकर कारखाना खिया लागुञ्जेल बन्द गर्नुपर्‍यो ।

तालिबानी शासनको आरम्भ र अन्त्य, नाटो सैनिकको प्रवेश, सैनिक फिर्ती र सरकारहरू । त्यसयता अफगानिस्तानले विभिन्न घटनाक्रम व्यहोरेको छ र तुलनात्मक रुपमा कम हिंसा भोगेको छ । तर, कति बेला कहाँ विद्रोहीको आक्रमण हुने र को मारिने भन्ने त्रास मरेको छैन ।

यही त्रासबीच पाँच सन्तानको भविष्य खोज्न अब्दुल पाँच वर्षअघि सन् २०१२ मा घरका बिक्ने मालसामान सस्तैमा बिक्री गरी लालाबाला च्यापी सपरिवार भारतको दिल्ली आइपुगे ।

दिल्लीमा अडिएन मनआफ्नो मुलुकको चौहद्दी नाघेर विरानो ठाउँमा पुगे पनि दिल्लीमा बाँच्न केही सजिलो थियो । भारी बोकेर छाक टार्थे । तर, दिल्लीमा पनि उनको मन अडेन । एक वर्ष दिल्ली बसेपछि उनी पहिले नेपाल आएका अफगान शरणार्थीको बाटो पछ्याउँदै सन् २०१३ को जूनमा बस चढेर काठमाडौं ओर्लिए ।

काठमाडौं आउने वित्तिकै उनले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर)बाट शरणार्थीको परिचय पत्र लिए। शोकमा समेत एक्लै रुने र मन बुझाउने कहालीलाग्दो स्थितिबाट काठमाडौं आउँदा उनलाई बल्ल ढुक्कले बाँच्न सकिने ठाउँमा आइपुगेको जस्तो लाग्यो । काठमाडौंका गल्लीहरूमा एक्लै रातविरात महिला र बालबालिका हिँडडुल गरेको देख्दा उनलाई अचम्म लाग्यो ।

पुरुषले हाँकेको मोटरसाइकल पछाडि महिला बसेको वा महिलाले पुरुषलाई पछाडि राखेर मोटरसाइकल निष्फिक्री गुडाएको, अझ महिलाले गाडी कुदाएको देख्दा उनलाई उदेक लाग्थ्यो ।

परिवारमा तीनपुस्तासम्म एउटै छानोमुनि अटाएको र एउटै भाँडाको भात खाएको देख्नु पनि उनका लागि अर्को अचम्म थियो । जुन त्रासको भुमरीमा रहेको अफगानिस्तानमा सम्भव थिएन ।

सडक किनारमा घण्टौं सवारीसाधन पार्किङ गर्दा पनि कसैले क्षति नपुर्‍याएको वा चोरी नभएको देखेका उनी भन्छन्, “यस्तो शान्ति र सहज अफगानिस्तानमा कल्पना बाहिरको कुरा हो ।”

शोकमा समेत एक्लै रुने र मन बुझाउने कहालीलाग्दो स्थितिबाट काठमाडौं आउँदा उनलाई बल्ल ढुक्कले बाँच्न सकिने ठाउँमा आइपुगेको जस्तो लाग्यो । काठमाडौंका गल्लीहरूमा एक्लै रातविरात महिला र बालबालिका हिँडडुल गरेको देख्दा उनलाई अचम्म लाग्यो ।

कान्दाहारमा रहेकी बहिनी र केही नातेदारहरु अफगानिस्तानमा छन् । उनीहरुसँग झण्डै पाँच वर्षदेखि अब्दुलको सम्पर्क छैन । उनी अब्दुल यूरोप वा क्यानाडा पुनर्वासका लागि यूएनएचसीआरलाई अनुरोध गरिरहेका छन् । छोरा अब्दुल शिरजादले मजदूरी गरी परिवार पालिरहेका छन् ।

“मर्नेहरुले दुःख लुकाए, म छिन्नभिन्न दुःखको भारी बोकेर भौतारिरहेको छु”, रुस—अफगान युद्धका घाइते उनी भन्छन् ।

त्यसो त काठमाडौं बसाइ पनि उनीजस्ता ‘अनिच्छित पाहुना’का लागि सजिलो छैन । यूएनएचसीआरले शरणार्थीको रुपमा परिचयपत्र दिए पनि उनीहरु नेपाल सरकारको नजरमा अवैध आप्रवासी हुन् । बसुन्धरामा मासिक रु. १५ हजार तिरेर डेरामा बसिरहेका उनीहरुले कतैबाट सहायता पाउँदैनन् । बढिसकेका छोराछोरीको जातमिल्दो व्यक्तिसँग विवाह हुन नसक्नु, एक्लो महशुस हुनुको अलग पीडा त छँदैछ ।

“त्रासविना बाँच्न पाएकोमा स्वाभाविक रुपमा खुशी त छौं” अब्दुल भन्छन्, “तर ईद र रमादान जस्ता पर्व भने एकदमै खल्लो हुन्छ ।” दुःखसुख सबैमा आफन्त छेउछाउ चाहिँदो रहेछ भन्ने उनलाई काठमाडौं आएपछि अझ गढेको छ । काठमाडौंमा अब्दुलजस्तै झण्डै ७० जना अफगान शरणार्थी छन् ।

लाग्छ, अब्दुल सही समय नेपाल आइपुगे । २०५२–०६२ को दशकमा उनी यहाँ आइपुगेको भए सशस्त्र हिंसाका कारण अकालको ज्यान जानेहरूको ठूलो संख्या यहाँ पनि देख्ने थिए । अहिले फेरि उही पुरानै माओवादी विद्रोहीको आवरणमा एउटा समूह मर्नेमार्ने खेलमा लागेको छ । अकालको मृत्यु फेरि शुरु भएको छ ।

तर, नेपाललाई फेरि ‘कालगतिमा मर्न पाइने देश’ बनाउनु परेको छ । अब्दुलहरूको यो देशप्रतिको प्रभाव र आश्चर्यहरुलाई जीवित राख्नुपरेको छ ।

 

प्रतिक्रिया