उप निर्वाचन परिणाम र रास्वपाको मार्ग चित्र ?

इनेप्लिज २०८१ वैशाख १८ गते २१:४९ मा प्रकाशित

दीपक पन्त ,मिल्वाकी ,अमेरिका

केहि दिन देखि नेपाली राजनीति वृतमा चर्चामा रहेको इलाम क्षेत्र नं २ को उप निर्वाचनमा , अन्तत : नेकपा एमालेले जित हाँसिल गरेको छ ।

प्रधान मन्त्री प्रचण्डको राजनैतिक “यू टर्न“पछि गठ बन्धन संस्कृतिबाट मुक्त कांग्रेस , यो निर्वाचनमा एकल अस्तित्वमा होमिएको थियो ।

गत बर्ष चितवन र तनहुँमा सम्पन्न भएको उप निर्वाचनमा भारी मतान्तरले बिजयी भएको रास्वपा इलामसम्म आइ पुग्दा नराम्ररी पछि परेको छ ।

त्यसो त प्रचार प्रसार शैली , सामाजिक संजालको तामझाम हेर्दा इलाममै पनि रास्वपाको घन्टी बज्ने हो कि ? भन्ने माहोल पनि नबनेको होइन । तर परिणाम सोचे अनुरुप पटक्कै आएन ।

त्यसो त पुर्ख्यौली बिरासत भएको एमालेको ठाँउमा गत निर्वाचनमा गठ बन्धनका बिरुद्दमा एमाले नेता स्व.सुवास नेम्बाङ्गले जित हाँसिल गरेका थिए । नेम्वाङ्ग कै विरासतमा आएका यूवा नेता (नेवाङ्ग कै सुपुत्र ) लाई हराउन पक्कै सजिलो थिएन । अझ नेकपा माओबादीको समेत सहयोग / साथ पाउदा नेकपा एमाले बलियो नै थियो ।

बिगतको उप निर्वाचनमा जादुमय तरिकाले तनहुँ र चितवनमा विजय हात पारेको रास्वपा इलामको चुनाबी परिणामले झस्किएको छ ।

तै पनि स्वतन्त्र रुपमा लडेका पहिचान बादी नेताहरु र नयाँ बिचार / नयाँ दलको हुरीले पुराना दल हरुको निद् भने हराम भएकै हो ।

बिगतको उप निर्वाचनमा जादुमय तरिकाले तनहुँ र चितवनमा विजय हात पारेको रास्वपा इलामको चुनाबी परिणामले झस्किएको छ ।

निर्वाचन आयो / भयो /सकियो । जनताका ताजा जन मत आयो । परिबर्तनको नारा दिने नयाँ पार्टी रास्वपा पहिचानको मुद्दा बोकेका स्वतन्त्र भन्दा पुरानो बिरासत बोकेका एमाले /काँग्रेस मै जनताको अभिमत देखियो ।

बर्तमान परिबेशमा रास्वपालाई उल्लेखनीय जनमत नपर्नुमा मुख्य देहाय कुराहरु आंकलन गर्न सकिन्छ ।

१) रास्वपा सभापति रबि लामिछानेको बिबादस्पद छबि !

नागरिकता काण्डमा कानुनी रुपमा चुकेका रविलाई अदालतको एकै निर्णयले मन्त्री ,संसद र पार्टी सभापति पद गुमाउनु परे पनि चितवनका जनताले लगत्तै भएको उप निर्वाचनमा अत्याधिक मतदान गरेर जन्म सिद्द नेपाली नागरिक भएको कुरा अनुमोदन गरिदिए ।

राहधानी प्रकरण अझै टुङ्गिसकेको छैन् । केही समय देखि सडक र सदनमा चर्चामा रहेको “सहकारी ठगी प्रकरण” रविको सग्लग्नता बारे जनमत दोधारमा परे । गृह मन्त्रीका रुपमा रास्वपा सभापति रबि लामिछाने आफैँ रहदा पनि सहकारी प्रकरणमा मुख्य अभियुक्त भनिएका जीबी राइलाई समातेर निर्वाचन अगाबै यस बिषयको सत्य / तथ्य सार्बजनिक गर्न नसक्नु नै इलामको जनमत घट्नु मुख्य कारण हो ।

२) उम्मेद्वार छनौटमा कमजोरी

भर्खरै नेकपा माओबादीबाट अलग भएका बिबादस्पद युवालाई नयाँ र फरक भन्ने पार्टीले बोकेर हिड्दै टिकट दिनु कति न्याय संगत थियो ? आदिबासी जनजातिको बाहुल्य रहेको इलाममा अल्प संख्यक जनजाति प्रति छुचो टिप्पणी गर्ने व्यक्तिलाई नेतृत्वमा पठाउन इलामेली जनता राजी भएको पटक्कै देखिएन ।

३) रास्वपा नेतृत्वले सत्ता /गृह प्रति देखाएको मोह प्रति शंका

त्यसो त राजनीति गर्ने भनेकै सत्ता प्राप्त गर्नका लागि हो । छोटो समयमा नै रविले पाएको अपार सफलता प्रति रविले दोषारोपण गरेका केही मिडियाहरु र केहि राजनीति कर्मीहरुले रविको क्रेज प्रति इर्श्या देखाएकै हुन् । तर रविले पर्ख र हेरको बिबेकपूर्ण निर्णय गरेको पटक्कै देखिदैन । हतार “बालहट” जस्तो गृह बिना चल्नै नसक्ने गरी प्रचण्ड / केपिका कठपुतली बन्न सरकारमा आफैँ जाने कुरा त्यति सहजै ढंगले पचाउन सकेको देखिदैन् । डेलिभरीको मुद्दालाई भजाएर सरकारमा सामेल भएको भन्ने ढाढसले लाज छोप्दै आए पनि रास्वपा भित्र एकसे एक नयाँ सक्षम अनुहारहरु भएको अबस्थामा रबि स्वयंको गृह मोहले “दालमा कुछ काला हे” भन्ने गन्ध आएको आंकलन गर्न सकिन्छ ।

बिगतको उप निर्वाचनमा जादुमय तरिकाले तनहुँ र चितवनमा विजय हात पारेको रास्वपा इलामको चुनाबी परिणामले झस्किएको छ ।

अर्थ ब्यबस्थापनको ज्ञाता भनेर चिनियका डा. स्वर्णिम वाग्ले देखि मधेशी जन प्रतिनिधि मृदुभाषी मनिष झा, दलित प्रतिनिधि सन्तोष परियार वा चितवनका युवा नेता हरि शर्मा, वा सोभित गौतम वा नव प्रवेशी सफल ब्यबस्थापक / ब्यंकर अनिल केसरी शाह, वा युवा नेत्री उर्मिला भुर्तेल सम्म जो कोहीलाई सरकारमा सामेल गराएर आफू अबसरको पर्खाइमा प्रधान मन्त्री नै हुने अबस्थालाई कुर्न सकेनन् ।

मिसन “८४” नाराले उचाइ ग्रहण गर्दै गर्दा इलामको नतिजाले रास्वपाको जन उभारको ग्राफ तल झारी दिएको छ ।यसमा रास्वपा नेतृत्वले आत्म समिक्षा पक्कै गर्नेछ ।

त्यसो त रास्वपाको सपनामा देश बदल्न चाहनेहरू केवल रास्वपाको घन्टी बोकेर हिड्ने २/४ जना मात्र हैनन् । लाखौ लाख प्रवासमा बसेका नेपाली जन समुदायको चासो/चिन्ता र मायाँ छ रास्वपासँग । सयौं आमाहरुको मुहारमा आफ्ना सन्तान घर फिर्ने आशा जगाएको पार्टी रास्वपामा आफ्नो पेशा ब्यबशायमा सफल रोल मोडल भइ सकेका अनिल शाह देखि स्वर्णिम वाग्ले जस्ता व्यक्तित्वहरुको संलग्नताले यसको आयतन खुम्चनु हुँदैन भन्ने जन आभाष थियो ।

बिगतको उप निर्वाचनको नतिजा हेर्दा तनहुँ,चितवन जस्तो राजनीतिको केन्द्रमा जन उभार ल्याएको रास्वपा देखी पुराना दल ने.का. / एमाले भित्र भित्रै डराएको यथार्तता छिपेको छैन् । त्यसैले त् महेश बस्नेत देखि गगन थापा सम्म युवाहरु नै रविको पछि हात धोएर लागेका छन् । रवि जोडिएका प्रश्नमा यसरी कुर्लनछ्न ,लाग्छ उनिहरुको पार्टीमा ति/त्यस्ता गतिविधिमा सग्लन आज सम्म कोही सामेल भएका छैनन् ? महेश ,गगन कै पार्टी भित्र हेर्ने हो भने पनि दर्जनौ पी. आर धारी नेता देखि ठूला ठुला भ्रस्टाचारमा सग्लन भएका व्यक्तित्वहरु संसदमा हाइ काटी रहेको देखिन्छ । तर नयाँ र फरक भन्ने पार्टीमा पनि उहिँ पुरानै शैलीमा कुशासनको गन्ध आएको भान भएकाले जनताको अभिमत पुरानै लयमा फर्केको हो कि ? भन्ने अनुमान रहेको छ ।

प्रबासमा रहेका लाखौँ नेपाली देखी स्वदेशमा रहेका पार्टीका क्याडेट बाहेक आम सर्वसाधारणको लहर बैकल्पिक राजनीति मै हो । तर त्यसको इमान्दारिता र लक्ष्य प्रष्ट हुनु पर्यो । पुराना भएन भन्ने भएको छ । तर नयाँ कसको कोटको सहारा खोज्ने भन्ने अलमलमा नेपाली राजनीति डुब्न लागेको देखिन्छ । यस्तो तरल अबस्थामा रास्वपा सभापति रबि लामिछानेले आफू डुबे पनि आफ्नो देश उठ्ने निर्णय लिनु पर्छ । आफूले स्थापना गरेको पार्टी उठ्ने निर्णय लिनु पर्दछ । देश उठाउने स्वर्णिम अवसर छ । परिबर्तनको पक्षमा देखिएको जुन जन लहर छ ,त्यसमा आफू एककदम पछि हटेर भएपनि आफ्नो देश,आफ्नो पार्टी जित्ने अबस्थामा आफू कालकुट बिष पिएर भए पनि “निलकन्ठ ” बन्न सक्नु पर्दछ । अन्यथा: “अर्जुन” बन्ने व्यग्रतामा श्रीकृष्ण जस्तो सारथि पाएनौ भने “कर्णको” जस्तो स्वर्णिम मृत्यू पनि नजुर्न सक्छ ।

प्रबासमा रहेका लाखौँ नेपाली देखी स्वदेशमा रहेका पार्टीका क्याडेट बाहेक आम सर्वसाधारणको लहर बैकल्पिक राजनीति मै हो ।

त्यसैले इलामको जनमतलाई स्वीकार गर्दै “मिसन ८४ ” का लागि तयार हुनु पर्दछ । म ,मेरो भन्दा माथि देश, जनता भएको पार्टी बनाउन हिड्नु नै आजको जनमत हो । यही नै देश बिदेशमा रहेका रास्वपा तथा परिबर्तन मुखी जनताको सुझाब हो । अब ८४ सालको लागि “चौबाटो बनाउदै “जन रोड” खन्ने कि गृहको आडमा जिबि राई लुकेको प्वाल टालेर बस्ने ? रबिकै जिम्मा ! आफ्ना बिरोधीहरुले लगाएको “भौमान”को ट्यागलाई बास्तबिक “भगवान”मा बदल्ने कि ? “भौ” हटाएर “बेइ” थप्ने तपाइकै जिम्मा रास्वापा सभापति ज्यू ?

दीपक पन्त

मिल्वाकी,अमेरिका

प्रतिक्रिया