ऊ वा उनी

अर्जुन थापा २०७५ फागुन २८ गते २२:५१ मा प्रकाशित

गाडीको सिसा हल्का खोल्छिन् । मिठो शितल हावाले अंकमाल गरे जस्तो हुन्छ उनलाई । सुन्दर शान्त रूपमा रहेको समुन्द्रको किनारै किनारामा बनेको बाटोमा गाडी गुडी राखेको हुन्छ । उनको ध्यान पुरै अस्ताउँदै गरेको सुर्यमा हुन्छ । गाडी रोक्ने अनुरोध गर्छिन र लस्करै राखिएको मेचमा गएर बस्छिन । आफ्नै गतिमा डुबुल्की मार्दै गरेको सुर्यको सुनौला किरण छरियर चम्किरहेको सफा आकाश । आआफ्ना वासस्थानका लागि फर्किँदै गरेका हुलका हुल पंक्षीहरू । समुन्द्रको छालले निकालेका तरूङ्ग । अंगालोमा बाँधिएर, हातमा हात समाएर बसेका जोडीहरू । सफा र स्पष्ट देखिएको दृश्यहरू, क्यानभासमा कोरिएका सुन्दर चित्र जस्तै लाग्छ उनलाई । दुई हात फिजाएर छरिएर रहेका सुगन्धलाई निमन्त्रणा गर्छिन ।

“हजुर, अब हिँड्न पाए हुने सबै हजुरको प्रतिक्षामा छन्” भनेको आवाज तर्फ फर्कदैं गाडीमा बस्छिन् ।

ठुलो हल बाहिर हजारौं संख्याको भिडको विचमा ओछ्याइएको रातो कार्पेट । सयौं संख्यामा क्यामेरा र माइकहरू लिएर फोटो खिच्न बसेका फोटोग्राफरहरू । गाडीबाट ओर्लेर रातो कार्पेट तिर बढ्दै जाँदा ताली र क्यामेराका क्लिक क्लिक गरेका आवाजहरू तथा अटोग्राफका लागि तछाड मछाड गर्दै गरेका भिडबाट बड्दै भित्र पुग्छिन् उनी । अगाडि पट्टि राखिएको मेचमा गएर बस्छिन् । कार्यक्रम शुरू भई सकेको हुन्छ ।

“हामी आजको यस कार्यक्रमको महत्वपूर्ण क्षणमा आई पुगेका छौं । यस वर्षको “मोडल अफ दि इयर, २०१८” गोज टु मिस माधुरी शाह । स्टेजबाट अनाउन्स हुन्छ ।

चारैतिर तालीको आवाज सुनिन थाल्छ । उनी विस्तारै स्टेजमा गएर सबैलाई अभिनन्दन गर्दै उक्त ट्रफी समात्छिन् ।
“यस खुशीको घडीमा केहि भन्न चाहनु हुन्छ तपाईको शुभचिन्तकहरूलाई ?” उद्घोषिकाले माइक उनको हातमा थमाउँदै भन्छिन् ।
“धन्यवाद, सबैलाई आज म जे छु मात्र तपाईहरूको कारण छु र आजको सम्पूर्ण श्रय यहाँहरूको नाममा । थ्याङ्क्यु वान्स एगेन एण्ड स्पेशल्ली फर राकेश” भन्दै अघिकै स्थानमा गएर बस्छिन् ।
८ ८ ८

विहानको दश बजेको अपोइन्टमेन्ट अनुसार पत्रकारहरू उनलाई कुरी राखेका हुन्छन् होटलको लबीमा ।
“नमस्कार, धेरै कुर्न त परेन नि तपाईहरूलाई ?” भन्दै सोफामा आएर बस्छिन् ।

“ठिक समयमा आउनु भएको छ । बरू हामीले चाँडै आएर डिस्टर्ब पो ग¥र्यौ कि ?” पत्रकारले सोध्छिन् ।
“नो, नट याट अल।”
“अब शुरू गरौं हामी ?” मुस्कुराउँदै प्रश्न गर्छिन पत्रकार ।
“प्लिज”
“सबैभन्दा पहिला त यस वर्षको मोडल अफ दि इयर अवार्ड प्राप्त गर्नु भएकोमा बधाई छ ।”
“थ्याङक्यु सो मच ।”
“विश्व भरिका मोडलहरूलाई पछि पार्दै जित प्राप्त गर्छु भन्ने लागेको थियो ?”
“जित्छु नै भन्ने थिएन । तर आशा चाहिँ धेरै थियो ।”

“नेपालको सानो गाउँमा जन्म लिएर यहाँ सम्मको यात्रा पार गर्न कत्तिको गाह्रो भयो ? केहि बताई दिनुहुन्छ तपाईका शुभचिन्तकहरूलाई ।”
“रियल्ली द्याट वाज…… दुःखका पिडाका साथ बितेका समयको चाङ्गका चाङ्ग किताबहरू छन् । मानसिक द्वन्द्व, विरोधाभास र आफ्नैले दिएका चोटका आलो चिहान, जुन अझै खोतल्दै छन् र पुर्दै छु म ।”
“कहाली लाग्दैन ति सब सम्झिंदा ?”

“पहिला धेरै लाग्थ्यो । साँझ पर्न पाएको छैन खुट्टाहरू डरले काँप्न थाल्थे । मलाई नै किन यस्तो बनायौ भनेर मन्दिर अगाडि धेरै रोएको छु ।”
“केहि व्यक्तिगत प्रश्न गर्न सक्छु ?”

“हा हा हा ! खुल्ला किताब हु म । के नै लुकेका छन् र मेरो कुराहरू ।”
“तपाईले हिजो अन्तिममा राकेश भनेर सम्बोधन गर्नुभएको थियो उहाँ नै हो तपाईको प्रेरणाको स्रोत ?”
“आज म एक डाक्टर तथा मोडल हुनुमा ठुलो हात छ उसको । असल मित्र हो मेरो उ ।”
“तपाई र तपाईको टिम एउटा ठुलो अनुसन्धानको चुचुरोमा पुगी सक्नु भएको भन्ने सुनेका छौं । केही जान्न सक्छौं ?”
“समय आएपछि सबै थाहा पाउनु हुनेछ । हामी धेरै नजिक पुगिसकेका छौं ।”
लामो इन्टरभ्यु पछि उनी कोठामा फर्किन्छिन् । होटलको ठुलो पर्दा उघारी बाहिर देखिएको निलो समुन्द्रलाई हेर्न थाल्छिन् ।
थाहा पाउने भएदेखि घरमै दाजुभाई हरूबाट अपहेलित हुनुपरेको उनलाई हरेक कुरामा पक्षपात गरिन्थ्यो । घर, आफन्त, साथीभाई र समाजबाट हरेक पल भोग्नु परेका पिडाहरू । उनका लागि प्रयोग गरिने अपशब्दहरू र ति सब सुनेर बस्न बाध्य थिईन उनी । साथीभाईका त कुरै छाडौं आफन्तैबाट पटक पटक यौन हिंसाको सिकार हुनुपरेको थियो ।

ज्योतिको किरण बनेर आएको थियो उनको जिवनमा राकेश । छोटो समयमै एउटा असल मित्रबाट धेरै माथि पुगिसकेका थिए दुवै । अँध्यारो रातलाई सुर्यको किरणले ढाकी दिए जस्तै अन्धकार बनिरहेको उनको जिवन एकपटक प्रकाशमय भएको थियो ।

“तिमी जे छौ त्यसैमा रमाउन सिक, कसले के भन्यो भनेर मन दुखाएर बस्यौ भने यस दलदलबाट कहिल्यै माथि निस्कन सक्ने छैनौं तिमी । जे हौ त्यसैमा गर्व गर्न सिक र यो समाजलाई देखाई देउ कि मान्छेले चाहेमा जे पनि गर्न सक्छ । जुन समाजमा हामी बाँची राखेका छौं । त्यस समाजले हामीलाई हेर्ने दृष्टिकोेणलाई नै बदल्न सक्नुपर्छ अनि मात्र सफल हुने छौ । हो, यो काम भने जस्तो सजिलो छैन तर आँट गरेर राम्रो गर्छु भन्नेलाई सदैव भगवानको साथ हुनेछ । तिमी, म र सबै जना उनै भगवानको सृष्टि हौं ।” भन्दै उनलाई सम्झाएको थियो ।

आफन्त, साथीभाई तथा समाजले उनीहरूको सम्बन्धलाई मजाक बनाएता पनि संधै उनको साथ दिन्थ्यो राकेश । उसले देखाएको बाटोलाई पछ्याउँदै एम.वि.वि.एस क्लिएर गरेर फुल स्कलरसिपमा अगाडिको पढाईको लागि यु.के. आएकी थिईन् । पढाई संगसंगै आफ्नो सौखलाई निरन्तरता दिँदै आज एक मोडल बन्न सफल भएकी थिइन् ।

यु.के. आएकी केहि महिनामा नै उनीहरूको प्रेममा ग्रहण लाग्न पुग्यो । एउटा सच्चा साथी, प्रेमी र आदर्शको रूपमा लिएकी थिइन राकेशलाई । जसले एक शब्द नसोधी अर्कै संग विवाह गरेको थियो । प्रेमको अर्थ सिकाएर बाच्नुको आभाष दिलाएको मान्छेले बिच बाटोमै अलपत्र छाडिदिएको थियो उनलाई । राकेशको साथमा एउटा छुट्टै संसार बनाउँछु भन्ने सपना तुहिएको थियो उनको ।

“आमाबाबु, आफन्त र समाज वा तिमी मध्ये एक छान्नु पर्ने बाध्यतामा लाचार भएर यो निर्णय लिए मैले । माफीको म योग्य छैन तर पनि तिम्रो मन ठुलो छ । मेरो बाध्यतालाई बुझ्ने छौ भन्ने आशा राखेको छु ।” अन्तिम पटक म्यासेज गरेको थियो राकेशले ।

जमेको सिमेन्टी जस्तै आफैभित्र, अव्यक्त रूपमा खाली हात, रित्तो मन लिएर कयौं दिन आफुलाई एउटै कोठामा थुनि राखिन, रक्सिमा डुबाएर । चुरोटका धुँवामा उडाएर र अन्तमा यो निक्र्योल निकालीन कि मायामा पाएर मात्र खुशी हुनुभन्दा पनि जे जति राकेशको साथ र माया पाइन त्यसलाई एउटा ढाल बनाएर अगाडि बढ्ने र जुन कारण आज राकेशले उनको साथ छोड्यो । समाजले उनलाई अलग ग¥यो । ति सबको अगाडि आफु एक नमुना बनेर देखाउँछु भन्ने अठोटका साथ अगाडि बढिन् ।

“हेल्लो, बधाई छ तिमीलाई । हाम्रो अनुसन्धान सफल भएको छ । भोली प्रेसको माध्यमबाट संसार भरि यो खुशीको खबर बाहिर आउने छ ।” साथीले फोनमा भन्छ ।

खुशीका आँशुहरू तप तप झरिराखेको हुन्छ उनको आँखाबाट ।
“सानो देश नेपालबाट त्यसमा तेस्रो लिङ्गी हुँखा हुँदै पनि एकपछि अर्को सफलता हात पार्नु भएकोमा बधाई छ ।”
“कल्पना नै गर्न नसकिने अद्भुत चमत्कारको रूपमा एक पुरूषले पनि बच्चा जन्माउन सक्छ भन्ने वैज्ञानिक चमत्कारको सफल परिक्षण गर्नु भएकोमा बधाई छ ।”
“कहिले सम्ममा ति पिडित व्यक्तिहरूले यसको फाइदा लिन सक्छन् ?”

“आफु स्वयम पुरूषबाट नारी हुन भएकै कारण यसमा सफलता मिलेको भनेर भन्दा गलत हुन्छ कि हुँदैन ?”
“विवाहको बारेमा के योजना छ ? तपाईको मन चोर्ने राजकुमार भेटाईसक्नु भएकोे छ कि छैन अझै ?”
“तेस्रो लिङ्गी भएको कारण पहिला तथा अझै भेदभाव हुन्छ कि हुँदैन तपाई संग ?”
यस्ता एकपछि अर्को प्रश्नहरूको जवाफ उनले मधुर स्वरमा दिँदै गईन ।

अर्जुन थापा

धुम्बाराही, काठमाण्डौ

कथा

[email protected]

प्रतिक्रिया