अनेसास,म र नेपाली साहित्य

बसन्त श्रेष्ठ ,भर्जिनिया ,अमेरिका                                          २०७५ माघ ७ गते २३:१० मा प्रकाशित

प्रबासमा नेपाली भाषा र साहित्यको बिकासमा सक्रिय संस्था “अन्तराष्ट्रिय नेपाली साहित्य समाज” (अनेसास) लाई मैले सन् १९९५ को जुलाई महिनामा भर्जिनिया राज्यको आर्लिंगटन शहरमा प्रत्यक्षरुपमा देख्न र भेट्न पाएको हुँ । अखिल नेपाली अमेरिकी संघ (एएनए) को बार्षिक अधिबेशनको सन्दर्भमा नेपाली कविता गोष्ठीमा भाग लिन अवसर पाउदा मैले सो समाज संग भेट गर्ने मौका पाएको हुँ । म आज पनि सम्झने गर्छु डा. बिष्णु शर्मा पौड्याल “परिमल” ले संचालन गर्नु भएको सो गोष्ठीमा मैले “देश” भन्ने कविता पाठ गरेको थिएँ  ।

म आज पनि सम्झने गर्छु डा. बिष्णु शर्मा पौड्याल “परिमल” ले संचालन गर्नु भएको सो गोष्ठीमा मैले “देश” भन्ने कविता पाठ गरेको थिएँ  ।

त्यहींबाट अनेसाससंग जोडिएको सम्बन्ध झाँगिदै आज करिब दुई दशक नाघी सकेछ ।  तर अझ पनि सो संस्थासंगको सम्बन्ध र सक्रियतामा ठुलो सानो देन रहिरहेको आफुलाई पाउदा म अझै गौरवान्वित महशुस गर्दछु ।

मलाई अनेसासले जोड्नुको प्रमुख कुरा यसको भाषा र साहित्यको प्रबासमा आबश्यकता र विकासले गर्दा हो  । मानबको उत्पति र बिकास संगै भाषा, सभ्यता र परम्पराको जड भित्रै सम्म जोडिएको हुन्छ । त्यसले त्यस मानबको अस्तित्वको रक्षा र पहिचानको ब्याख्या गर्ने गर्दछ  । जस अनुसार भिन्न भिन्न क्षेत्र र बर्गको व्यक्तिलाई यस मार्फत पहिचान गर्ने गरिन्छ । आज संसार एक सानो परिवार जस्तो भएर साँगुरो भएकोछ  । तर आज भन्दा बिस बर्ष अगाडी नेपाली जाति भर्खर भर्खर बसाई सराईको नौलो अभ्यास शुरु गर्दै गर्दा आफ्नो बर्गको जातीय भाषा र संस्कृतिक परम्परा लाई जीवित राख्न अति धेरै महत्वपूर्ण र आबस्यकता थियो  ।  सानो सानो भंगालो नदीमा मिसिए पछी भंगालोको नाम हराए जस्तै, नदि गएर सागरमा मिसिएपछि नदिको नामो निसान नरहे जस्तै । सानो शहर र गाउँका हामी ठुलो र बिशाल देशमा कतै नाम गाउँ र देश नै पनि त हाम्रो हराउन सक्छ  । यसै कुरालाई मध्ये नजर राखेर आफ्नो अस्तित्वलाई कायम राख्न, कतै हराउन र बिलाउन नदिन आफ्नो भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न अन्तरास्ट्रिय नेपाली साहित्य समाजको सन् १९९१ सालमा वाशिंगटन डिसीमा स्थापना भएको हो भन्ने कुरामा म अझै पनि बिस्वस्त छुं । प्रबासमा रहदा यिनै आकर्षक कारणहरुले गर्दा म अनेसासको जिम्मेवार पदमा रहेर थुप्रै बर्ष यस संस्थाको मुख्य उदेश्यलाई साकार पर्न हर प्रकारले साथ् दिदै आईरहेकोछु ।

यसै सन्दर्भमा मैले यस संस्थाको केन्द्रीय नेतृत्वमा रहेर आम समुदायको बिचमा भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने, उत्थान गर्ने र बिकास गर्ने अभिप्रायले थुप्रै सभा, समारोह र कार्यक्रमहरु गर्ने अवसर मलाई जुटेको थियो  । मेरो दुइ बर्षको कार्यकालमा हाम्रो कार्यकारिणी सदस्यहरुको अथक प्रयास र मिहिनेतले धेरै राम्रा राम्रा कार्यक्रमहरु गर्न सफल भयौं  ।  ति सबै कार्यक्रमका बारेमा यहाँ उल्लेख गर्न मनासिब नदेखेकोले त्यस समयमा भएका केहि महत्वपूर्ण उपलब्धि र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी गराउने जमर्को गर्नेछु ।

म बोस्टन, म्यासाचुसेट्स राज्यमा सन् १९९६ देखि २००० साल सम्म बसोबास गरेकै समयमा अनेसासको बिभिन्न पदहरुमा रहेर यसको बिकासको लागि मैले उल्लेखनीय कार्य गर्दै गरेको हुँ । अनेसासको मुख पत्र “अन्तर्दृष्टि” को सम्पादक, अनेसासको महासचिव र अध्यक्षको पद पनि बोस्टनमा हुदा नै कार्य गरेको हो  ।

अनेसासको मुख पत्र “अन्तर्दृष्टि” को सम्पादक, अनेसासको महासचिव र अध्यक्षको पद पनि बोस्टनमा हुदा नै कार्य गरेको हो  ।

सन् १९९८ देखि २००० सम्म यस संस्थाको अध्यक्षको पदमा रहदा यस संस्थालाई वाशिंगटन डिसी देखि अरु राज्यमा पनि विस्तार गर्ने र यस संस्थाको साहित्यिक क्षेत्रमा नेतृत्व फैलाउने र फुलाउनेकार्य सफलताका साथ् सम्पन्न गर्न सकेकोमा आफुलाई गौरवान्वित महशुस हुन्छ  । यस छोटो आलेखमा अनेसास संग आबद्ध भै बिभिन्न कार्यक्रममा भाग लिएको बिस्तृत विवरण पेश नगरी म अध्यक्ष रहेको समयमा नेपाली भाषा र साहित्यको संरक्षण, सम्बर्धन र बिकासको लागि के कति र कस्तो ठोसकार्य हरु गर्न सकियो त्यसको फेहरिस्त भनौ या विवरण छोटकरीमा उल्लेख गर्न गईरहेको छु  । यसमा मुख्य र ठोस कार्यक्रमको उल्लेख मात्र गरिएकोछ ।

सन् १९९६ सालमा अखिल अमेरिकी नेपाली संघ (ANA) को सन् १९९७ सालमा बोस्टनमा भएको बार्षिक अधिबेसनमा “अन्तराष्ट्रिय नेपाली कविता महोत्सब” को शुभारम्भ गरियो ।  त्यस प्रतियोगितात्मक  कविता कार्यक्रममा एएनए का संस्थापक अध्यक्ष डा. हरि शर्मा मुडभरी द्वारा स्थापित “शर्मा मुडभरी पुरस्कार” स्थापना गरि जम्मा तिन सय डलरको पुरस्कार वितरण गर्न सुरुवात गरियो ।

सन् १९९९ सालमा अनेसासको मुखपत्र “अन्तर्दृष्टि” लाई व्यापक रुपमा प्रचार प्रसार गर्नको लागि नेपाल स्थित साहित्यिक पत्रकार संघ, नेपाल संगको सहकार्यमा नेपाल बाट “अन्तर्दृष्टि” प्रकाशित गरिएको | बर्ष ७, अंक ३, फागुन २०५६ सालमा नेपाल बाट प्रकाशित सो पत्रिकामा नेपाल, अमेरिका र थुप्रै अरु राज्यका रचना र साहित्यिक समाचार पनि समाबेस गरिएका छन्  । कबि राधेश्याम लेकालीको सम्पादनमा प्रकाशित भएको अन्तर्दृष्टिको सल्लाहकारमा बसन्त श्रेष्ठ र हेमन्त श्रेष्ठ सल्लाहकार थिए ।

सन् २००० सालमा जर्जिया राज्यको एटलान्टा शहरमा भएको अमेरिकामा बसोबास गर्ने नेपालीहरुकै ठुलो संस्था NASEA, ANMA र  ANA को संयुक्त बार्षिक अधिबेशन “UNITY 2000” को नाममा अमेरिकी स्वतन्त्रता दिबसको समय जुलाईमा सम्पन्न भएको सो अधिबेसनमा नेपाली भाषा र साहित्यको कार्यक्रम सफलताका साथ सम्पन्न गरेको थियो ।

अनेसासले नेपालबाट समेत निम्त्याईएको बरिष्ठ साहित्यकारको प्रमुख आतिथ्यमा सम्पन्न भएको त्यो एक ऐतिहासिक अधिबेसन थियो । त्यस कार्यक्रममा नेपालबाट बरिष्ठ साहित्यकार डा. तारा नाथ शर्मा, साहित्यकार डा. अरुण सायमी, कबि रमेश खकुरेल, कबि गोबिन्द गिरि प्रेरणा र कबि बिश्व बिमोहन श्रेष्ठको उपश्थिति थियो  । अनेसासको नेतृत्व र डा.शिब गौतमको संयोजकमा सम्पन्न त्यस ऐतिहासिक कार्यक्रममा पुरस्कृत कविहरुलाई क्रमसः अमेरिकी डलर प्रथम, द्वितीय र तृतीय लाई पांच सय, तिन सय र दुइ सय प्रदान गरिएको थियो  । त्यस समयमा भएको यस प्रकारको कार्यक्रमको लागि सो पुरस्कार रकम निकै गहन र ठुलो धनरासी मानिन्छ।

सन् २००० सालमा नेपालका राष्ट्र कबि माधब प्रसाद घिमिरे लाई अभिनन्दन गरियो  । भर्जिनिया राज्यको अनानदेल स्थित नर्दन भर्जिनिया कम्युनिटी कलेजमा सम्पन्न भएको सो अभिनन्दन समारोहको प्रमुख अतिथिमा तत्कालिन नेपाली दुताबासका राजदुत महामहिम दामोदर प्रसाद गौतम हुनुहुन्थ्यो ।

सन् २००० सालमा महाकबी लक्ष्मी प्रसाद देबकोटाको जन्म जयन्तीको उपलक्ष्यमा अनेसास लाई आर्थिक सहयोग रकम जम्मा गर्नको लागि वासिंगटन डिसी मेट्रो एरियामा “लक्ष्मी जयन्ति तथा सांस्कृतिक कार्यक्रम” को आयोजना गरियो । अनेसासको ईतिहासमा आर्थिक सहयोग रकम जुटाउनको लागि गरिएको यस प्रकारको सांस्कृतिक कार्यक्रमले समुदायमा आफ्नै विशिष्ट स्थान ओगटन सफल भएको थियो  । भर्जिनियाको फैरफ्याक्स स्थित जर्ज मेसन बिश्वबिध्यालयमा सम्पन्न भएको सो बृहत सांस्कृतिक कार्यक्रममा नेपालका रास्ट्रीय स्तरका कलाकारहरुको प्रस्तुति रहेको थियो  । तत्कालिन अनेसास सचिब तथा लोकप्रिय चलचित्र कलाकार सरोज खनालको संयोजकत्वमा सम्पन्न सो सांस्कृतिक तथा बिबिध कार्यक्रम आज सम्मको अनेसासको ईतिहासमा पहिलो र अन्तिम नै हो ।

प्रत्यक्षत माथीका उल्लेखित कार्यहरु म अनेसासको केन्द्रीय अध्यक्ष्य रहेको समयमा हामीले गरेका केहि महत्वपूर्ण कार्यहरुको अभिलेख मात्र हुन्  । सन् १९९९ साल सम्म अनेसासको पहलमा नै “अन्तराष्ट्रिय नेपाली कविता महोत्सब” को कार्यक्रम एएनए अधिबेसन स्थलमा कार्यक्रम सम्पन्न गर्न सक्रिय रुपमा संलग्न भै कार्यक्रम सम्पन्न गर्न सकेकोमा आफुलाई गौरवान्वित महसुश गर्दछु ।

मेरो कार्यकालमा रहनु भएका कार्यकारिणी पदाधिकारी मित्रहरु यस प्रकार थिए –

सन् १९९८ – २०००

अध्यक्ष –  बसन्त श्रेष्ठ

उपाध्यक्ष – खेम भट्टचन

सचिब  –  सरोज खनाल

उपसचिव – कल्पना सत्याल

कोषाध्यक्ष – आनन्द रेग्मी

प्रशासन प्रमुख – पुरु सुबेदी

 

सलाहकार मण्डल

डा. श्याम कार्की / दिब्य राज हाडा  / डा. जगदिश्वर देबकोटा / डा. महेश मास्के  / किरण ढुंगाना / डा. प्रल्हाद पन्त

प्रतिनिधि मण्डल

बेलायत – पुष्प श्रेष्ठ

नेपाल – शिब प्रसाद सत्याल “पिठ”

जापान – रबि तुलाचन

क्यानाडा – डा. लक्ष्मण त्रिपाठी

अष्ट्रेलिया – गोपाल रेग्मी

सम्पादक मण्डल

सन् १९९८ – १९९९

अतिथि सम्पादक – डा. बिर देब बिस्ट

प्रमुख सम्पादक –  होमनाथ सुबेदी

अतिथि सम्पादक – दामोदर घताने

सम्पादक –   सरला श्रेष्ठ / सरोज शुक्ला / नगेन्द्र पौडेल / प्रकाश सुबेदी / कल्पना सुबेदी / आनन्द

रेग्मी / पुरु सुबेदी

सन् १९९९ देखि २००० साल सम्मको लागि सम्पूर्ण कार्यकारिणी पदाधिकारीहरु पुन निर्बिरोध निर्बाचित भएको कारणले सलाहकार मण्डल र प्रतिनिधि मण्डलमा कुनै परिबर्तन गर्न आबश्यक भएन ।  तर अनेसासको मुख पत्र “अन्तर्दृष्टि” को सम्पादक मण्डलमा केहि हेर फेर गरिएको थियो  । सो सम्पादक मण्डलमा निम्न उल्लेखित ब्यक्तिहरु समाबेश थिए ।

सम्पादक मण्डल

सन् १९९९  – सन् २०००

अतिथि सम्पादक – जय छाँगछा राई

प्रमुख सम्पादक –  होमनाथ सुबेदी

उप सम्पादक –    दामोदर घताने

सम्पादक –       कल्पना सुबेदी / आनन्द रेग्मी / सीता रेग्मी / पुरु सुबेदी

यी त भए बिगतमा मैले अनेसासको बिभिन्न पदमा रहेर गरेका महत्वपूर्ण कार्यहरुको छोटो अभिलेख | अब म केहि छिन अनेसासले गर्नु पर्ने केहि कुराहरु राख्न अनुमति माग्दछु ।

आज बिश्वमा नेपाली भाषा र साहित्यको संरक्षण, सम्बर्धन र बिकासको लागि हर बखत लागिरहने अग्रणी साहित्यिक संस्थाको नाम हो अनेसास  । आज धेरै देशमा यस संस्थाको च्याप्टर खडा भै सकेको छ  । यस संस्थाले साहित्यिक कार्यक्रम, पुस्तक र पत्रिका प्रकाशन मा पनि उलेख्य रुपमा सफलता हासिल गरिसकेको नै छ  । अब यस संस्थालाई प्रचार प्रसारको आबश्यकता महसुस छैन ।  प्रबासमा स्थापित एक अग्रणी साहित्यिक संस्थाले अब ठोस र मूल कार्य गर्नु पर्ने आबश्यक बोध भै सकेकोछ  । तसर्थ मेरो बिचारमा अब अनेसासले चाल्नु पर्ने केहि आबश्यक कदमका बारेमा म यहाँ उल्लेख गर्दछु ।

१. सन् १९९१ मा स्थापित अनेसासको आज सम्म संसार भरी सय भन्दा बढी च्याप्टर भै सक्दा पनि यस संस्थाको केन्द्रीय कार्यालय स्थापना हुन् सकेको छैन जुन अबिलम्ब गरिनु पर्ने मुख्य कार्य हो ।

२. बिभिन्न दाताहरुले नेपाली भाषा र मुर्धन्य साहित्यकारको सालिक सहयोग बापत उपलब्ध गरिएता पनि स्थानको अभाबले सो सालिक सार्बजनिक स्थलमा बिधिबत रुपमा खडा गर्न नसकिएको ।

३. अनेसासले अन्तरास्ट्रिय स्तरको सभा, समारोहको आयोजना गर्नु र संसार भर छरिएर रहेका नेपाली भाषा तथा साहित्यकारहरुलाई एकत्रीत गरि सम्मान र अभिनन्दन गर्नु पर्ने ।

४. अनेसास बिशुद्ध नेपाली भाषा तथा साहित्यको बिकासको लागि स्थापना भएको साहित्यिक संस्था भएको कारणले यसले आयोजना गर्ने प्रत्येक कार्यक्रमहरु नेपाली भाषा तथा साहित्य प्रति केन्द्रित हुनु आबश्यक छ ।

५. सम्पूर्ण च्याप्टरको काम, कर्तब्य र अधिकारको बारेमा सामन्जस्यता र एकरुपता ल्याउनको लागि केन्द्रीय कार्यालयले एक समन्वय समिति गठन गरि योजना कार्यन्वयन गर्न प्रतिलिपि नगरी उदेश्य प्राप्तिको लागि कार्यक्रम अघि बढाउन सहयोग गर्ने ।

६. नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनको लागि नेपाली विशिष्ट साहित्यलाई विभन्न अन्तराष्ट्रिय भाषामा अनुबाद गर्दै लानु पर्ने ।

७ जति सिर्जना अमुल्य हुन्छन त्यो भन्दा सर्जक बहुमुल्य हुन्छन भन्ने भनाई लाई चरितार्थ गर्न सम्पूर्ण नेपाली भाषी साहित्यकारको सहयोगको लागि साहित्यकार राहत कोष गठन गर्नु पर्ने ।

अनेसाससंग लामो सहकार्य र यसले गर्ने हरेक कार्यक्रमको नजिकसंग नियालिरहेको कारणले गर्दा मैले यी माथिका आफुलाई लागेको सुझाव बुंदाहरु यहाहरु सम्मुख पेश गरेकोछुं । अनेसासमा रहनु भएका जिम्मेदार व्यक्तित्वहरुले मनन गर्नु भै यथासक्य अनेसास लाई सुधार तथा प्रगतिउन्मूख दिशा तिर लगाउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छुं ।

नेपाली भाषा, साहित्य र अनेसासको जय होस् !!!

धन्यबाद !

 

प्रतिक्रिया