बरिष्ठ गीतकार एवं एसपी टेक तामाङको चौथो ‘नाता’

इनेप्लिज २०७५ मंसिर २९ गते १५:०५ मा प्रकाशित

बरिष्ठ गीतकार एवं एसपी टेक तामाङको चौथो गीति एल्वम अनुश्री पाख्रिनको प्रस्तुतिरहेको ‘नाता’ विशेष समारोहबीच शुक्रबार सार्वजनिक भएको छ । नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित समारोहमा सार्वजनिक गरिएको एल्वममा ८ वटा गीत समावेश रहेका छन्।

कार्यक्रम बरिष्ठ साहित्यकार उषा शेरचनको सभाध्यक्षता र बरिष्ठ गीतकार रत्नशमशेर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सोही समारोहमा एल्वममा समाविष्ट दुई म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । अञ्जु पन्तद्वारा स्वरबद्ध र अभिनित ‘तिमीलाई माया गर्छु….’ र मेलिना राईको स्वर रहेको ‘नजिक यति….’ भिडियो प्रदर्शन गरिएको थियो ।

भिडियो सार्वजनिक लगत्तै समिक्षक बरिष्ठ गीतकार भुपाल राईले अप्रासंगिक गीतमा अनुप्रास मात्रै मिलाउने परम्परागत ढर्रालाई तोडेर उत्कृष्ट शब्द विम्ब ल्याउन सकेकोमा गीतकारलाइ बधाइ दिए । उनले थपे– सुगम संगीतमै रहेर सामाजिक जागरणका गीतहरू पनि लेखिनुपर्ने सुझाए । यसैगरी बरिष्ठ साहित्यकार पूर्व अर्थमन्त्री एसपी कोइरालाले साहित्यकै विधाको गीत लेखनलार्इ निरन्तरता दिएर साहित्यिक इट्टा थपेकोमा तत्कालीन आफ्नो विद्यार्थी तामाङप्रति गर्व गरे । सभाध्यक्ष शेरचनले बन्दुक नामैले मात्रै पनि अत्यन्त कठोर लाग्छ उनको गीत भने अत्यन्तै कोमल ! पेशागत हिसाबले नेपाल प्रहरीको एसपी सिर्जनागत हिसाबले गीतकार । एल्बम नातामा सबै नारी स्वर रहेकोमा गर्व गर्दै गायिका पन्तलार्इ पहिलो पटक अभिनय गराउन सफल भएकोमा गीतकारलाइ बधाइ दिए ।

समारोहमा बरिष्ठ संगीतकार बुलु मुकारूङ, बरिष्ठ गीतकार राजेन्द्र थापा, गीतकार संघ नेपालको अध्यक्ष चुडामणि देवकोटा पूर्व डिआइजी देवीलाल तामाङ, समाजसेवी चन्दा थापा तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए । सोही क्रममा गायिका र संगीतकारलाइ प्रस्तुतकर्ता अनुश्रीले सम्मान गरेका थिए ।

एल्बममा रहेका गीतहरूमा तिमीलाई… स्वर अञ्जु पन्त, संगीत अर्जुन पोखरेल, मन पर्छ… स्वर संगीता राना प्रधान, संगीत किशोर खतिवडा, स्वर्ग सुख…. स्वर मेलिना रार्इ, संगीत कन्काइष्ट रार्इको रहेका छन् । यसैगरी अंगालोमा बेरिरहु… स्वर अञ्जु पन्त, संगीत पावल चाम्लिङ, ढिलो चाँडो… स्वर जिना रसायली र संगीत कन्काइष्ट रार्इ, नजिक यति… मेलिना राइ , संगीत कन्काइष्ट राइ , झर्न खोज्ने… दिपा लामा र संगीत कन्काइष्ट राइ र सैलुङकै पाखामा… ओंङ्बु लामा र संगीत बुद्ध स्याङ्बा लामाको रहेका छन् । नेपाल प्रहरीमा कर्तव्यनिष्ठ भएर व्यस्तताको बाबजुत पनि तामाङले राष्ट्रिय, लोक, आधुनिक, लोकपप शैलीका करिब एक हजारभन्दा बढी गीत लेखिसकेका छन् ।

प्रतिक्रिया