उपन्यास- लिभिड॰टुगेदर एक चर्चा

सीता अर्याल, म्याडिसन २०७५ मंसिर १९ गते १०:३१ मा प्रकाशित

नेपाली साहित्याकाशमा “गोविन्द गिरी प्रेरणा” चीरपरिचित र स्थापित नाम हो। उहाँले साहित्यको विभिन्न बिधाहरूमा २४ वटा कृतिहरू प्रकाशित गरीसक्नु भएको छ। तीमध्ये भर्खरै बजारमा आएको नबिनतम उपन्यास हो लिभिङ टुगेदर (Living Together)।

नेपाल हुँदै जापानमा समेत बिमोचित उक्त उपन्यास चर्चा-परिचर्चाको शिखरमा पुगिरहेकै बखत आफ्नो हातमा परेपश्चात् अध्ययनमा डुबुल्किन मन लाग्यो। लेखकले बिभिन्न रोचक एबं महत्त्वपूर्ण प्रसंगहरूलाई अत्यन्त मिठासपूर्वक पस्कनु भएको रहेछ।त्यसैले उत्सुकतापूर्वक एकै बसाईमा सो उपन्यास पढि सक्ने जाँगर पलायो।

यो उपन्यासको कथावस्तु मुख्यतया नेपाल र अमेरिकाको सेरोफेरोमा घुमेको पाईँन्छ । नेपाली युवा पुस्ता र जनजीवनसमेतको बिबिध कोणबाट चरित्रचित्रण गरिएको यस उपन्यासमा उच्च बर्गका पुरूषपात्रले मोजमस्तीका लागि सहवास (Living Together) को नाममा कसरी पैसाको खोलो बगाउँछन् ? आफुसँगै बसेकी महिला पात्रसँग अनुबन्धित बचनहरू कसरी तोडछन् र आपसी विश्वासका बाँधहरू कसरी भत्काउँछन् ? अनि रोमान्स, र यौनतृप्तीका लागि महिलालाई कसरी प्रयोग गर्छन् भन्ने कुरा स्पष्ट ,सरल र कलात्मक हिसावले प्रस्तुत गरेका छन् लेखकले। समग्रमामा भन्नुपर्दा महिलाहरूको यथार्थ प्रेम र अटल विश्वास एवं स्वाभाविक समर्पणप्रतिको जघन्य धोकाको कथा हो लिभिड॰ टुगेदर।

धोकेवाजहरूले धोका दिउन् र यौन पिपासुहरूले यौन चाहना पुरा किन नगरून् अपितु नारीहरू पुरूषहरूभन्दा कुनै पनि हालतमा कम छैनौँ । शिर उँचो पारेर आफ्नो धरातलमा उभिन सबल छौँ अनि कलीला मुनालाई जन्म मात्र दिदैनौँ कर्म दिन पनि सक्षम छौँ भन्ने उच्च नारी आत्मबलको कथा पनि हो यो लिभिड॰ टुगेदर।

पश्चिमी मुलुकहरूमा “ लिभिङ टुगेदर” संस्कृति फस्टाएको छ । राम्रो मानिन्छ।समाजले स्वीकारेको छ साथै क़ानूनले संरक्षण पनि गरेको छ। हाम्रो देशमा पनि युवा जगतले रूचाउन थालेका यो संस्कृतिलाई क़ानूनी मान्यता प्राप्त हुन सके पानीमाथिको वोभानो हुने पुरूष प्रबृत्तिमा परिबर्तन हुन गई सँधै महिला प्रताडीत हुने अबस्थाको अन्त्य हुन जाने थियो।

उपन्यासकार गोबिन्द गिरी प्रेरणा थोरै शब्दहरू खेलाएर पनि बृहत् परिवेश प्रस्ट्याउन सक्ने लेखन क्षमता भएका जाँगरिला लेखक हुनुहुन्छ।उपन्यासको भाषा सरल र मीठो छ।

बिदेशमा रहेर पनि सँधै नेपाली भाषा साहित्यको श्रीबृध्दिमा निरन्तर लागिरहने वहाँको दैनिकीको प्रशंसा नगरि रहन सकिँदैन। उहाँको यो कृतिले पक्कै पनि उपन्यास बिधामा एउटा दरो ईंटा थप्न सफल भएको छ। भविष्यमा यस्तै अन्य कृतिहरूको अपेक्षासहित साहित्यकार गोबिन्द गिरी प्रेरणालाई हार्दिक हार्दिक बधाई छ।

प्रतिक्रिया