दशैँमा समाधि साधनामा एक साधु

इनेप्लिज २०७५ असोज २६ गते १०:५३ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

दशैँको अवधिमा शक्तिको साधना गर्नेहरुले अनेक विधि अपनाउँछन् । रौतहटको गरुडा बजारमा रहेको दुर्गा मन्दिरमा एकजना साधुले समाधि साधनामा देखिएका छन् । साधुले टाउको बाहिर निकालेर करीब सम्पूर्ण शरीरलाई खाल्टो खनी पुरेर निराहार साधना गरिरहेका छन् । गरुडामा रहेको दुर्गा मन्दिरअगाडि गढीमाई नगरपालिकाको बलुवा मठमा रहँदै आएका नरेश दास बैरागी पूजा अवधिभर समाधि साधना गर्ने भएका छन् ।

यसभन्दा पहिले पर्सा, बारा, सर्लाहीका साथै भारतको विभिन्न ठाउँमा दशैँको पूजा अवधिभर समाधि साधना गर्दै आएका वैरागीले रौतहटमा पनि यसअघि शिवनगर, सुकदेव चौक, बलुआमा दशैँकै अवधिमा समाधि साधना गरिसकेका छन् । विगत नौ वर्षदेखि कतै न कतै समाधि साधना गर्दै आएका वैरागीले गरुडामा भने पहिलोचोटि यस प्रकारको कठिन व्रत लिएको पूजा एवं मेला व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्रप्रसाद चौरसियाले बताएका छन् ।
समाधि साधनाको अवधिभर वैरागीले केही पनि नखाने र केही पनि नपिउने मात्र होइन बाहिर पनि ननिस्कने र दिसा–पिसापसमेत नगर्ने बताएको अध्यक्ष चौरसियाले जनाएका छन् । हिजो बुधवार घटस्थापनासँगै समाधि लिएका वैरागीले महानवमीको दिन पूजा भएपछि समाधिबाट निस्कने आफूहरुलाई बताएको अध्यक्ष चौरसियाको भनाइ छ ।

प्रतिक्रिया