जग्गाको नापी गरी लालपूर्जा दिन आतुर छौं ः धामी

इनेप्लिज २०७४ पुष २ गते १२:५९ मा प्रकाशित

कञ्चनपुर, २ पुस  ः कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नरबहादुर धामीले वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गाको नापी गरी स्थानीय जनतालाई लालपूर्जा दिन आतुर रहेको बताउनुभएको छ ।
शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा विजयपछि मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा उहाँले मन्त्रिमण्डल गठनपछि जग्गा समस्या समाधान गर्नका लागि केन्द्रीयस्तरको आयोग गठन गरिने र बसेकै ठाउँमा जग्गा नापी गरी लालपूर्जा उपलब्ध गराइने वचन दिनुभयो ।

दुई वर्षभित्रै राष्ट्रव्यापी नापी लागू गरी भूमिको अभिलेख अद्यावधिक गरेर भूमिसँग सम्बन्धित समस्या समाधान गरिने उहाँले बताउनुभयो । “भूउपयोग नीति, योजना एवं कानूनका आधारमा भूमिको वर्गीकरण तथा उपभोग गरिने छ, भूमि अतिक्रमण गर्न नपाइने व्यवस्था लागू गरिनेछ”, उहाँले भन्नुभयो ।

नवनिर्वाचित प्रदेशसभा सदस्य लालबहादुर खड्काले कृषिमा आधारित योजना सञ्चालन गरी बेरोजगारीको समस्या समाधान तथा नदीले गर्दै आएको भूक्षय रोकावट, नदीनालामा पुलपुलेसा, सडक निर्माण र स्तरोन्नति, शैक्षिक क्षेत्रको विकास, खानेपानी र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने बताउनुभयो ।

स्थानीय बासिन्दाले सांसदलाई नदी नियन्त्रणका लागि तटबन्ध, सनबोरा नदीमा पक्की पुल, खानेपानी र सडकको स्तरोन्नतकिा लागि योजना अघि सार्नुपर्ने सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया