सञ्जय मित्र, रौतहट÷रौतहटको गरुडा नगरपालिका ८ जिंगडियामा सञ्चालनमा रहेको मध्यक्षेत्रीय प्रहरी आवासीय माध्यमिक विद्यालयमा दुईपटक प्रहरी प्रमुख भएर आउनेमा प्रहरी निरीक्षक कृष्णसुन्दर विष्ट हुन् । विद्यालयको लागि राम्रो गरेकै भएर प्रनि विष्टलाई विभागके दुईपटक समादेशक बनाएर पठाएको हुनुपर्छ ।
इलाका प्रहरी कार्यालय गरुडाको समेत प्रहरी निरीक्षकको कार्यभार सम्हालिसकेका प्रनि विष्टको व्यक्तिगत स्वभावले पनि पुलिस बोर्डिङलाई सम्हालेर चलाउन सहयोग गरेको हुनुपर्छ । एकातिर बोर्डिङमा रहेका प्रहरीलाई नियन्त्रण गर्नु र अर्कोतिर विद्यालयलाई सञ्चालन गर्नु दोहोरो जिम्मेवारी हुने पुलिस बोर्डिङमा दोस्रोपटकको कार्यावधि पूरा गरेर काठमाडौँ सरुवा भएर गएपछि प्रनि विष्टको चर्चा चुलिएको छ ।
माध्यमिक तह चल्न थालेको दशक नाघे पनि विष्टले कक्षा ११ सञ्चालनको अनुमति थप्न सफल भएका छन् । लामो समयदेखि कक्षा ११ सञ्चालनको चर्चा चलिरहेको भए पनि विज्ञान संकायमा अब आगामी सत्रदेखि कक्षा ११ सञ्चालन हुने निश्चित हुनुको यश प्रनि विष्टलाई नै गएको छ ।
प्रनि विष्टले विद्यार्थीको पठनपाठनलाई आधुनिक प्रविधिसित जोड्ने काम पनि गरेका छन् । ई–मिठास कक्षा सञ्चालन र एइडिबाट कक्षा सञ्चालन गरी कक्षा कोठालाई प्रविधिमैत्री बनाउने श्रेय प्रनि विष्टलाई जान्छ । यसै गरी छात्रावासको व्यवस्थापन गरेर प्रनि विष्टले आफूलाई उत्कृष्ट साबित गरेका छन् ।
शिक्षक तथा विद्यार्थी दुवैतिर अनुशासन कायम गर्न सक्नु पनि प्रनि विष्टको ठूलो उपलब्धि मानिन्छ । प्रनि विष्टले अनुशासनलाई पालना गराउने सन्दर्भमा आठजना विद्यार्थीलाई स्थानान्तरण पत्र नै थमाएको, कतिलाई सम्झाई बुझाई गरेर सही बाटोमा ल्याएको देखिन्छ । शिक्षकलाई नियमित बनाउनेदेखि केही शिक्षकलाई सम्झाई बुझाई गर्नेसम्म प्रनि विष्टले गर्दा विद्यालयको नतिजा निकै सकारात्मक देखिएको छ । गत एसईई परीक्षामा पुलिस बोर्डिङबाट सहभागी ६७ विद्यार्थीमध्ये ३४ जना ए प्लस र ३३ जना ए ग्रेडमा उत्तीर्ण भएका थिए ।
खेलकूदमा निकै गहिरो रुचि लिने गरेका प्रनि विष्टले देश विदेशमा खेल्ने खेलाडी समेत उत्पादन गरेका छन् । विद्यालयको प्रांगणमा वृक्षरोपण गरेका विष्टले विद्यालयमा अध्ययनरत बालबालिकाबाट असुल उपर गर्नुपर्ने रकममा पनि निकै सुधार गरेका छन् । प्रनि विष्टको कार्यकालमा नै एउटा नयाँ बस पनि विद्यार्थीलाई आवतजावतको लागि थपिएको छ ।
छोटो समयमा निकै प्रशंसनीय कार्य गरेर गएका प्रनि विष्ट अब फेरि पुलिस बोर्डिङमा फर्केर आउने सम्भावना करिब न्युन रहेको छ । उनका उत्तराधिकारीहरुले पनि प्रनि विष्टको जस्तै समाजमा घुलमिल भएर र विद्यार्थीको भविष्यलाई हेरेर पुलिस बोर्डिङको पक्षमा काम गर्दै गए मधेसको धरोहरको रुपमा रहेको यस संस्थाले दिन दुई गुना र रात चौगुना प्रगति गर्ने स्थानीय मनोजकुमार यादवले बताएका छन् ।
प्रतिक्रिया