बदर मत कम गर्न गुल्मीमा नमुना मतदान

इनेप्लिज २०७४ जेठ २१ गते ८:२४ मा प्रकाशित

तम्घास (गुल्मी), २१ जेठ । जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न जिल्लाको विकट गाउँ अर्खाबाङ्मा नमुना मतदान गरेको छ । अत्यन्तै विकट र मतदान केन्द्रका लागि अति कठिन मानिएको मालिका गाउँपालिकाको अर्खबाङ् मतदान केन्द्रमा नमुना मतदान गरिएको हो ।

नमुना मतदानमा १०२ मतदाता सहभागी भएकामा खसेको मतमध्ये नौ मत आंशिक र एक मत पूर्ण रुपमा बदर भएको थियो । निर्वाचन कार्यालयले गत साता सत्यवती गाउँपालिकाको हँसरामा पनि नमुना मतदान गरेको थियोे ।
मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना, प्रहरी उपरीक्षक भोला रावल, मालिका गाउँपालिकाका निर्वाचन अधिकृत सशस्त्र प्रहरी नायब उपरीक्षक दिगविजय सुवेदी, नेपाली सेनाका सेनानी दीपक बडुवाल अनुसन्धान अधिकृत प्रभु मल्ल, निर्वाचन अधिकृत गणेश थापा, मालिका गाउँपालिकाको कार्यकारी निर्देशक ऋषिराम पन्थीसहितको टोलीले मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन लगायतका विषयमा जानकारी गराएको थियो ।

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाहरुको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो । नमुना मतदानमा सहभागीले अन्य व्यक्तिलाई मतदान गर्न सिकाउने र जिल्लामा कम मत बदर होओस् भन्ने उद्देश्य रहेको जल्ला निर्वाचन अधिकारी गणेश थापाले बताउनुभयो । साथै मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले निर्वाचन आचारसंहिता र निर्वाचन शिक्षाका बारेमा मतदानस्थलमा आएका मतदातालाई जानकारी गराउनु भएको थियो ।

गुल्मीका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानमा नमुना मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ । गुल्मीमा आगामी स्थानीय तहको निर्वाचनका लागि एक लाख ८० हजार ७७५ मतदाता सहभागी हुँदैछन् । निर्वाचन कार्यालयले निर्वाचनका लागि १४० केन्द्र र १३८ मतदानस्थल तय गरेको छ ।

प्रतिक्रिया