नेपालमै पहिलो, ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा

इनेप्लिज २०७४ जेठ १९ गते ५:१५ मा प्रकाशित

नवलपरासी, १९ जेठ । नवलपरासीको गैँडाकोट नगरपालिकाले सम्भवतः नेपालमै पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्करुपमा यात्रा गर्न सकिने व्यवस्था मिलाएको छ ।

गैँडाकोट नगरपालिका कार्यालयले गँडाकोट नगर क्षेत्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि सिटी बसमार्फत निःशुल्क यात्रा गर्न सकिने गरी व्यवस्था मिलाएको हो । गँैडाकोटका ज्येष्ठ नागरिकले स्थानीयस्तरमा गँैडाकोट र चितवनको भरतपुरको सबै क्षेत्रदेखि पश्चिममा नवलपरासीको रजहरको शाश्वतधाम, पूर्वमा देवघाटसम्मको धार्मिक यात्रा अब निःशुल्क गर्न पाउने गैँडाकोट नगर कार्यपालिकाले जनाएको छ ।

अबदेखि गँैडाकोटको महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रमा, घनाबस्ती भएका सम्पूर्ण क्षेत्रमा कुना कुनामा सिटी बस जाने भएको छ । त्यसका लागि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले आ–आफ्नो वडा कार्यालयबाट निःशुल्क यात्राको सिफारिस लिई सिटी बसको कार्यालयमा गएर परिचयपत्र बनाउन सकिने गैँडाकोट नगरकार्यपालिकाले जनाएको छ ।

ग्लोबल मेट्रो सिटी बस प्रालिका अध्यक्ष बद्रीप्रसाद अधिकारीका अनुसार बिहान ६ देखि बेलुका ७ बजेसम्म नारायणगढदेखि शाश्वतधामसम्म ६ वटा बस सञ्चालनमा आउनेछन् ।

त्यसैगरी, स्थानीयस्तरमा पनि सिटी बसमा निःशुल्क यात्रा गर्न ज्येष्ठ नागरिकलाई व्यवस्था मिलाइएको गैँडाकोट नगरकार्यपालिकाले जनाएको हो ।

प्रतिक्रिया