मोर्चालाई निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

इनेप्लिज २०७४ जेठ ७ गते १६:०७ मा प्रकाशित

जनकपुरधाम, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चा र सङ्घीय गठबन्धनलाई सङ्घर्षको नयाँ रूप नअपनाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

जनकपुरधामबाट प्रकाशित हुँदै आएको जनकपुर टुडेको १८औँ वार्षिकोत्सव र ब्रोडसिट शुभारम्भ समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पारित हुने सकारात्मक परिस्थितिको निर्माण हुँदै गइरहेकाले सबैले आपसी तालमेल गरी निर्वाचनमा जानु आवश्यक भएको धारणा राख्नुभयो ।

संविधान संशोधन विधेयक पारित गराउन लगातार प्रयासमा रहेकाले संशोधन विधेयकको मुद्दालाई चुनावमा लैजानसमेत उहाँले आग्रह गर्नुभयो । मधेसी कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ताका सन्दर्भमा नियमावली कार्यविधि संशोधनको प्रक्रिया अगाडि बढाइएको प्रधानमन्त्री दाहालले जानकारी दिँदै मधेसका अन्य मुद्दाको सम्बोधनका बारेमा पनि घनीभूत रूपले संवाद भइरहेको छ भन्नुभयो ।

प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पारितका लागि दुईतिहाई बहुमतको नजिकै रहेकाले नयाँ वातावरण र संविधानको स्वीकार्यता बढाउने दिशामा मोर्चा र गठबन्धनको अग्रसरताको खाँचौ औँल्याउनुभयो ।

आफू पनि मधेसबाट नै संसद्मा प्रतिनिधित्व गरिहेकाले मधेसको मागको गहिरो हेक्का रहेको बताउँदै उहाँले स्थानीय तहको सङ्ख्या वृद्धि सन्दर्भमा मन्त्रिपरिषद्बाट ऐतिहासिक निर्णय गर्न लागेको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले आफू मधेसका मुद्दालाई सक्ने जति सम्बोधन गराउने प्रयासमा छु भन्दै समस्या समाधानका लागि फुटेर होइन्, जुटेर लडनु आवश्यक भएको धारणा राख्नुभयो ।

सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्रका उपलब्धिलाई समाप्त गर्ने षडयन्त्र भइरहेकाले निर्वाचनलाई षडयन्त्रकारी विरूद्धको अस्त्रका रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधन नभएसम्म मधेसमा चुनाव हुन नसक्ने बताउनुभयो ।

सांसद डा अमरेशकुमार सिंहले मधेससँग विभेद भइरहेकाले त्यसबाट मुक्तिको पहल र लोकतन्त्र, समावेशिता र धर्मनिरपेक्षताको रक्षार्थ सबैको ध्यानाकर्षण गराउनुभयो ।

जनकपुर टुडेका सम्पादक बृजकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री दाहालले वरिष्ठ पत्रकार किशोर नेपाल र राजेश्वर नेपाली, निर्माण व्यवसायी बलराम महतो, संसदीय पत्रकार सङ्घका अध्यक्ष ओमप्रकाश यादवलाई सम्मान तथा पत्रकार काशिन्द्र शर्मा र सुरेश यादवलाई टुडे प्रतिभा पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया