पोखरा महानगरको मतगणना स्थगित, फर्जी मतपत्र भेटिएको कांग्रेस माओवादीको दाबी

इनेप्लिज २०७४ जेठ ६ गते १३:४५ मा प्रकाशित

६ जेठ, पोखरा । वडा नम्बर १७ को मत गणनाका क्रममा फरक मतपत्र भेटिएपछि पोखरा लेखनाथ महानगरपालिकाको सम्पूर्ण मतगणना कार्य रोकिएको छ ।

 

गणनाको क्रममा मतपत्रको कागज फरक भएको, मतदान गर्ने स्वस्तिक छाप केही चाक्लो र रंग फरक भएको भन्दै कांग्रेस, माओवादी केन्द्र, राप्रपासहितका दलहरुले मतगणना बहिस्कार गरेपछि मतगणना रोकिएको हो ।

फर्जी भनिएको मतपत्रमा निर्वाचन अधिकृतको २ वटा हस्ताक्षर रहेको बताइएको छ ।फर्जी भनिएको सो मतपत्रमा सूर्यमा प्यानल भोट हालिएको छ । त्यसरी भेटिएको मतपत्र संख्या ८-१० वटा भएको गणनामा सहभागि कांग्रेस र माओवादी प्रतिनीधिको आरोप छ ।

तर, निर्वाचन कार्यालयले भने मत फर्जी नभएको दाबी गरेको छ । सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले दोश्रो संविधानसभामा प्रयोग गरिएको स्वस्तिक छाप भएकाले केही चाक्लो भएको हुनसक्ने बताए । यद्वपी यसबारे बुझ्ने प्रयास भइरहेको उनको भना छ ।

कांग्रेस-माओवादीले विवादित वडामा पुनः मतदान हुनुपर्ने माग गरेका छन् । उनीहरुले निर्वाचन आयोगले समाधान नखोजेसम्म मतगणनामा नबस्ने घोषणा गरेका छन् । निर्वाचन आयोगले भने सबै दलसँग छलफल भइरहेको र केही समयपछि मतगणना हुने बताएको छ ।

प्रतिक्रिया