खोलेसिमल, चितवन, १६ बैशाख ।
यहि बैशाख ३१ गते हुने निर्वाचनलाइ लक्षित गरी नेकपा एमालेले कालिका नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो तथा कोणसभा गरेको छ । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार गोपी श्रेष्ठ, उपमेयरका उम्मेदवार कमला भट्टराई र विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरु सहित सयौं कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागी भएका छन् । कालिका वडा नं. ६ मा मेयरका उम्मेदवार गोपी श्रेष्ठ, उपमेयरका उम्मेदवार कमला भट्टराई, वडाध्यक्षका उम्मेदवार बिनोद रेग्मी, वडा सदस्यका उम्मेदवारहरु दुर्गा सुवेदी, सम्झना परियार, दशरथ सापकोटा र बालकृष्ण अधिकारी सहितका सयौं कार्यकर्ताहरुले वडा भित्रका खोलेसिमल, कमलचोक, क्लवचोक, बाग्लुङ्गेटोल, पाल्देनचोक, सुन्दरवस्ती, सूर्यपुर, लालचोक क्षेत्रमा घरदैलो तथा कोणसभा गरेका थिए । कोणसभामा एमालेका तर्फबाट मेयरका उम्मेदवार गोपी श्रेष्ठले नेकपा एमालेले देखाएको राष्ट्रप्रेम र विकासको अवधारणाबाट विपक्षीहरु अत्तालिएको बताए । एमालेको विजय पश्चात यस नगरको समुन्नत भविष्य रहेको भन्दै नेकपा एमालेलाई विजय गराउन उनले अनुरोध समेत गरेका थिए । सोहि कार्यक्रममा वडा नं. ६ का अध्यक्षका उम्मेदवार बिनोद रेग्मीले वडा भित्रका मठमन्दिर, गुम्बा, चर्चको संरक्षण र सम्वद्र्धन गर्दै यस वडाका सम्पूर्ण बाटोहरु व्यवस्थित गर्दै ढल निर्माण गरी नगरकै नमुना वडा बनाउने बताए ।
घरदैलोको क्रममा क्लवचोक, कमलचोक, बाग्लुङ्गेटोल, सुन्दरवस्ती लगायतका स्थानमा कोणसभा समेत गरिएको थियो । त्यसैगरी नेकपा एमाले कालिका वडा नं. ८ का उम्मेदवार इम प्रसाद अधिकारी सहितको सहभागीतामा मोटरसाईकल ¥याली आज शक्तिखोरमा सम्पन्न भएको छ । सो ¥याली न्यूरेनी, गैरीबारी, छेपेढापसम्म पुगेर कोणसभामा परिणत भएको थियो । त्यस्तै कालिका वडा नं. २, ३, ४ र ५ को पदमपुर क्षेत्रमा उम्मेदवार सहितको घरदैलो गरिएको छ भने वडा नं. १ को लंकालाईन, वडा नं. ७ को सगुनटोल, वडा नं. ९ को शक्तिखोर र वडा नं. १० तथा ११ को सिद्धि क्षेत्रमा पनि उम्मेदवार सहितको घरदैलो कार्यक्रम गरिएको नेकपा एमाले युवा तथा खेलकुद विभाग चितवनका सदस्य दिपक लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया