पार्टी एकता गर्न मधेसी मोर्चाका पाँच दल सहमत

इनेप्लिज २०७४ वैशाख ७ गते ८:५९ मा प्रकाशित

काठमाडौं ,७ बैशाख, । मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको नेताहरुले बताएका छन् । दिउँसो १ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ ।बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीको नाम र नेतृत्वबारे लगभग सहमति भएको नेताहरूले बताएका छन् ।

मोर्चामा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच पार्टी एकता हुनेछ ।

मोर्चाका दुई दल संघीय समाजवादी फोरम र नेपाल सद्भावना पार्टी भने यो एकता प्रक्रियामा सहभागी भएका छैनन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकताका लागि सम्वादमा छन् भने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले पार्टीमा छलफल गर्नु पर्ने जवाफ दिएका छन् ।

झाले पार्टीमा छलफल गरेर केही पछि एकता प्रक्रियामा सहभागी हुने बचन दिएको नेताहरुले बताए ।

फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पार्टी एकताका लागि सहमति भएको स्वीकार गरे ।

मधेस केन्द्रीय दलहरुबीच एकताबारे लामो समयदेखि छलफल हुँदै आएको थियो । तर, नेतृत्वबारे सहमति जुट्न सकेका थिएन । महन्थ ठाकुरलाई सर्बसम्मत नेता मान्ने गरी भएका छलफलपनि नेतृत्व विवादकै कारण मिलेको थिएन ।

पछिल्लो पटक तीन प्रतिशत थ्रेस होल्ड लागू भएसँगै मधेसी मोर्चामा आवद्ध दलहरुलाई एकताका लागि दबाव बढेको थियो ।

मधेसी मोर्चामा आवद्ध पाँच दलको नयाँ पार्टीको नामबाट मधेस शब्द रहने छैन । पार्टीको नाम राष्टिय जनता पार्टीमा लगभग सहमति भएको छ ।

यस्तै नेतृत्व प्रणालीमा अध्यक्ष मण्डलमा सहमति जुटेको नेताहरुले बताएका छन् । रामसपाका अध्यक्ष महेन्द्र यादवले भने, ‘सामूहिक नेतृत्व प्रणालीमा सहमति भएको छ । आजै पार्टी एकता घोषणा हुनेछ ।’

शीर्ष नेताहरुले पालैपालो नयाँ पार्टीको नेतृत्व लिने सहमति अनुसार सुरुमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पार्टी नेतृत्वको जिम्मेवारी दिइएको छ ।

साथै एकीकृत पार्टीको महाधिवेशन छिट्टै गर्ने ससमति भएको छ । एकता नहुँदासम्म प्रत्येक पार्टीमा पदाधिकारीको पदमा रहेका नेताहरुलाई नयाँ पार्टीमा पनि त्यहि जिम्मेवारी दिने सहमति नेताहरुले बताएका छन् ।

प्रतिक्रिया