चिकित्सक सङ्घको निर्वाचनमा दुई समूहको प्रतिस्पर्धा

इनेप्लिज २०७३ भदौ ११ गते ५:४० मा प्रकाशित

काठमाडौँ, ११ भदौ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।  यही भदौ १७ र १८ तथा भदौ २१ देखि २५ गते हुने दुई चरणको निर्वाचनमा पेसागत समावेशी चिकित्सक समूह (पेसचिस) र प्रजातान्त्रिक चिकित्सक समूह (प्रचिस)बीच प्रतिस्पर्धा हुने भएको हो ।
तीन वर्ष कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह उम्मेदवारी घोषणा गरेर निर्वाचन प्रचारप्रसारमा लागेका छन् ।

पेसचिसका डा रमेश ढकाल र प्रचिसका डा मुक्तिराम श्रेष्ठ अध्यक्षमा उम्मेदवारी घोषणा गरी चुनावी मैदान उत्रिनुभएको छ । पेसचिसबाट वरिष्ठ उपाध्यक्षमा डा सन्तोष पौडेल, उपाध्यक्षमा डा सिवेन्द्र झा, महासचिवमा डा अजयकुमार मिश्र, कोषाध्यक्षमा डा रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समिर शर्मा उम्मेदवार रहनुभएको छ ।

यसैगरी प्रचिसबाट वरिष्ठ उपाध्यक्षमा डा ढुण्डी पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मिप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी रहनुभएको छ ।

विसं २००७ मा स्थापित सङ्घमा पाँच हजार ३०५ चिकित्सक आबद्ध रहनुभएको छ । काठमाडौँ उपत्यका बाहिर १५ स्थानमा भदौ १७ र १८ गते तथा उपत्यकाभित्र भदौ २१ देखि २५ गतेसम्म निर्वाचन हुने छ ।

प्रतिक्रिया