संविधान संशोधन या पुनर्लेखन नभए खारेज: यादव

इनेप्लिज २०७३ भदौ ४ गते २१:४२ मा प्रकाशित

20160820_183312[1]

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सविधान संशोधन या पुनर्लेखन नभए खारेज हुनसक्ने बताएका छन् । रौतहटको चन्द्रपुरमा शनिवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता यादवले देशमा अहिलेसम्म ६ वटा संविधान खारेज भइसकेकाले वर्तमान संविधान पनि खारेज भएमा कुनै फरक नपर्ने बताएका छन् ।

तराई–मधेससहित सिमान्तकृत वर्गको पहिचान, स्वायत्तता, अधिकार र समावेशिताको सुनिश्चितता गराउन नसके दशैँ र तिहारपछि अर्को आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । सर्वप्रथम त्रुटिपूर्ण र अव्यावहारिक संविधानलाई सच्याउनु पर्ने र सच्याउनलाई संसदले पुनर्लेखन गर्नुपर्ने बाटो नै रहेको बताउँदै संघीय गठबन्धनका नेता समेत रहेका यादवले संविधान संशोधन नभएसम्म सिमान्तकृत नागरिकको आवाज नसमेटिने स्पष्ट पारेका छन् ।

संविधानमा रहेको कमीकमजोरीलाई सच्याएर सबैको स्वामित्व ग्रहण ग्रहण गर्न सकिने बनाउनु परेको धारणा राख्दै नेता यादवले वर्तमान सरकारले मधेश आन्दोलनमा सहिद भएकालाई सहिदको सम्मान दिएर सकारात्मक कार्यको थालनी गरेको बताए । माओवादी केन्द्र र नेपाली कांग्रेससित संविधान संशोधन गर्ने विषयमा सहमति भएपछि मात्र सरकार बनाउन सहयोग गरेको नेता यादवले स्पष्ट परेका छन् ।

संविधान संशोधन विधेयक संसदमा पेश भएपछि पारित हुन आवश्यक मत संख्या सरकारसित नभएकोले सहमति गरेर राष्ट्रिय एकता कायम गर्न सरकारले सबै पक्षलाई विश्वासमा लिनुपर्ने सुझाव समेत नेता यादवले दिएका छन् । यदि संविधान संशोधन हुन सकेन भने जनताले खारेजीको मागसमेत गर्न सक्ने भएकोले अहिले संविधानलाई सच्याउने अवसर सरकारसामु रहेको बताए ।

मधेश लगायत सिमान्तकृत जनताको समस्याको समाधान र ठोस कार्य नभएसम्म सरकारमा जाने कुनै सम्भावना नभएको दाबीसमेत नेता यादवले गरेका छन् । विवादित संविधान संशोधन या परिवर्तन नभएसम्म कार्यान्वयन नहुने र कार्यान्वयन नभए खारेजीतर्फ जाने अध्यक्ष यादवले थपेका छन् ।

प्रतिक्रिया