चितवन, ५ साउन
पूर्वी चितवनको रत्ननगर–१०, मंगलपुरमा रहेको गामवेशीको चेपाङ्ग संरक्षण केन्द्रलाई तरकारीमा आत्मनिर्भर बनाउनको लागि सौराहामा रहेको सपना भिलेज सोसियल ईम्प्याक्टले सिंचाईको निम्ति पम्पिङ्ग सेट (बोरिङ्ग) सहयोग गरेको छ ।
सपना भिलेज सोसियल ईम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले आज एक कार्यक्रमका बीच केन्द्रलाई ९६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
मोटर घरदेखि वायरिङ्ग र बोरिङ्ग मोटर फिट गर्नको निम्ती रु ९६ हजार रुपैयाँ खर्च भएको थियो । बोरिङ्ग घरको उद्घाटन ईम्प्याक्टकी सदस्य वर्षा गिरीले गर्नुभएको थियो ।
सोसियल ईम्प्याक्टले केन्द्रलाई पटक–पटक विभिन्न किसिमको सहयोग गरेको छ । निकट भविष्यमा केन्द्रमा बंगुर पालन र कुखुरापालनका निम्ति सहयोग गर्ने ईम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले बताउनुभयो ।
केन्द्रले तरकारी खेतीलाई प्रश्रय दिँदै आत्मनिर्भर बनाउनको निम्ति केन्द्र नजिकै १० कठ्ठा जग्गा भाडामा लिएर अहिले धान खेती लगाएको छ भने धानपछि व्यवसायिक तरकारी खेती गरिने केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताउनुभयो ।
तरकारी खेतीको निम्ति बेर्ना उत्पादन गर्न जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा टनेल नर्सरी घर बनिसकेको छ ।
प्रतिक्रिया