तल्लो र माथिल्लो डोल्पाबीच सम्पर्कविच्छेद, सात गाविसमा आवागमन ठप्प

इनेप्लिज २०७३ असार २६ गते ६:२५ मा प्रकाशित

दुनै (डोल्पा), २६ असार । शनिबार बेलुकीदेखि अविरल रुपमा परेको वर्षात्ले लावन गाविसमा पर्ने व्यासगाड खोलाको काठेपुल बगाएपछि तल्लो र माथिल्लो डोल्पाबीच सम्पर्कविच्छेद भएको छ ।
यसबाट सात गाविसमा आवागमन ठप्प भएको छ । मध्यरात २ बजेतिर खोलामा पानीको बहाव बढेर पुल बगाएपछि माथिल्लो डोल्पाका लावन, सहरतार, धो, साल्दाङ, तिन्जे लगायत गाविसमा आवतजावत ठप्प भएको स्थानीय समाजसेवी ओम मगरले जानकारी दिनुभयो ।

काठेपुल पुनःनिर्माणको स्थलगत अनुगमनका लागि जिल्ला प्राविधिक कार्यालय र जिविस डोल्पाको टोली आज बिहान गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पुल बगाएपछि माथिल्लो डोल्पामा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । छिट्टै आवागमन खुलाउन पुल निर्माण तत्काल सुरु गरिने बताइएको छ ।

प्रतिक्रिया