ए आमा भो …..

इनेप्लिज २०७३ असार २२ गते १:५७ मा प्रकाशित

image2

ए आमा !
देख्यौ !
उ हेर त ! काला मान्छेहरुले…
सेता लुगा लगाएर,
अध्यारोमा उज्यालो सराप्दै बस्नेहरुले,
अचेल भन्न थाल्या छन् रेन्त :
म उज्यालो ल्याउन,
जे पनि गर्छु !

हो ! हाम्रा बाकसहरु,
धमिराले खाँदा,
हाम्रा मान्छेका लासहरु,
रातो बाकसमा भरिएर आउँदा,
हाम्रा चेलीका सिउँदो पुछिँदा,
हाम्रा बूढा बा आमा र लाला बालाहरु,
बेसहारा हुँदा पनि ,
आफ्नै बाकस टन्न भर्नेहरुले:
अचेल भन्छन रेन्त !
म जालों फाल्न जे पनि गर्छु,

बिश्वास त गर्नै पर्यो,
यो पर जा तँ नत्र होईन: प्रजातन्त्र पो त !
यो झोँकतन्त्र होईन, लोकतन्त्र पो त,
खोकतन्त्र, जोकतन्त्र र शोकतन्त्र त,
हुँदै होईन,
अनि काला भएर के भो,
सेता लुगा फेरेकै छन्,
हाम्रा धुरीहरु प्वाल परेर के भो,
उनका छुरीहरुका हामी धार बनेकै छौँ,
आफैले रेटें रेटें गर्दै आफैलाई,
हाम्रा मालिक भएपछि मान्नै पर्यो :
तिनै मालिकले अचेल भन्छन रेन्त !
म कालो फाल्न जे पनि गर्छु !

हो त !
उनीहरु सही छन्,
हामी गलत छौँ,
हाम्रा पाखुरा गलत छन्,
उनका च्याखुरा सहि छन्,
हाम्रा भोक, रोग र शोक गलत छन्,
उनका जोक,तोक र झोँक सहि छन्,
हामी हराउँछौ र पो,
उनीहरु कमाउँछन,
हामी डराउँछौ र पो,
उनीहरु जित्छन्,
सुनेनौ !
यीनीहरु हामी मरेपनि खुशी,
बाँचेपनि खुशी हुनेहरु,
तिनै हामीलाई बाल्ने आगोहरुले भन्छन रेन्त :
म आगो निभाउन जे पनि गर्छु …

भो अब सोच्दिन म,
तिमी पनि भो नसोँच,
आगो गलत हुँदैन,
केहि पकाए भोक मेट्छ,
नभए , डढाउँछ, मेटाउँछ,
तिम्रो प्रमाण, मेरो आर्तनाद,
भो हामी बलेकै ठिक छ,
हाम्रा ईच्छाहरु हामी संगै सती लगेर,
केहि गरि आएछन मलामी भने,
उनीहरु भन्छन रेन्त !
बिचरा मरेछ !
अब म यहाँ शालिक बनाउँछु ।

प्रतिक्रिया