जहाँबाट आएँ उही नै मिलेछु 

राधा क्षेत्री ( माता राधा ) २०८० फागुन २६ गते २१:४१ मा प्रकाशित

जहाँबाट आएँ उही नै मिलेछु
माहाकाश भित्र बिलाउँदै गएछु
जहाँबाट आएँ उही नै मिलेछु
सम्हाल है नाथ मलाई |

       अनन्त जन्म लिँदै यही धर्तिमा रमाएँ
        स्वर्गसुख ठान्दै नरकमा बिताएँ  |

मायामा भुलेर यिनै विष पिएँ
चौरासी लाख जुनि लिँदै कति म आएँ |
वासनाको सुलीमा चढाएँ अनन्त घाउ
यही विष भोगमा न कहिले अघाएँ !

         यो मैलो मनलाई कति रुवाएँ ?
         अन्धकारमा डुबेर जीवनलाई भुलाएँ 
         सहस्र आँशु झार्दै महासागर भराएँ |
          जहाँबाट आएँ उही नै मिलेछु |

यिनै आँशु पिउँदै कति वाण लगाएँ !
यिनै घाउ-पिडामा जीवन जलाएँ
स्वर्ग बनाइ सपना सजाएँ
सुखको शैया ठनी वाण शैयाम बिताएँ |

          जहाँ माहासागर आँसुले भरिएको छ
           मेरा  घाउ-पिडा उनैले देखाँछन्
           अनन्त जन्म बिते न होस पाएँ !
           संसारको बन्धन न कहिले चुडाएँ |

यो प्राण जान खोजि रहेछ
यही श्वासको डोरी अल्झिरहेछ
मेरो श्वासको डोरी प्रभु हातमा लेऊ
हे करुणानिधी तिमी नै चुडाऊ ।

राधा क्षेत्री ( माता राधा )

प्रतिक्रिया