गुड्किने झोला (लघुकथा)

कोमल प्रसाद अधिकारी,लम्की,कैलाली। २०८० फागुन १७ गते १०:०६ मा प्रकाशित

उमेरले ७० को नेटो काटेकी मनमाया।सँगै मनमाया भन्दा अग्लो गुड्किने झोला। सायद मनमाया कुप्रिएर होला झोला अग्लिएको। मनमायाले झोलालाई यसरी समाएकी थिईन् मानौँ उनको सबैथोक त्यही हो र जे छ त्यसै झोलामा छ। नगरून् पनि किन र ? उनको जे भने पनि मान्ने बीरेले उनलाई दिल्लीमा लगेर उपचार गर्छु भनेर उनका चाहिनेजति सामान त्यसैमा राखी दिएको थियो।

आज १० दिन भएछ.. नेपाल आईपुगेपछि भन्सारको चेकिङमा बजारमा के किन्नु छ भनेर बीरे ओर्लेर गएको बेलामा अम्ला भाँच्दै गुनगुनाउँछिन् मनमाया।अब भरे त आफ्नै घर पुगिन्छ भन्ने के सोच्दै थिईन् उनी, प्रहरीले आ-आफ्नो सामान देखाउनुस् र भन्सार बनाउनुस् भन्दै अटो चढ्छन्।यो गुड्किने झोला कसको हो? “मेरो हो बाबु” मनमायाले भनिन्: “उपचार गर्न गएको,त्यही आफ्ना लुगाफाटो र ओखती छ बाबु”
“एक्लै जानु भा’थ्यो?”
“हैन मीत छोरो पनि..”
“खै त?”
“भरखर झरेर कुन्नि के किन्न भनेर गा’को छ बाबु”
प्रहरीले अटो केही बेर रोक्न भन्दै “खै त के किन्न गएको?अहिले सम्म आउँदैनन् त..” भन्दै झोला खोल्न लगाउँछन्।झोला हेर्दै जाँदा प्रहरीका आँखा अचम्मित हुन्छन् र सोध्छन् “यो के हो आमा? थाहा छ?”

“ओखती” मनमाया अझै सामान्य नै छिन्।

“ओखती त ओखती,सारा युवालाई बिगार्ने, जानुस् त्यो मीतछोरोलाई खोजेर ल्याउनुस् नत्र तपाईं नै फस्नुहुन्छ”
एक्कासी मनमायाका नौ-नाडी गल्छन्, आफ्नै छोराले नहेर्ने यो जमानामा यति माया किन देखाएको होला भन्ने उनलाई एक्कासी ज्ञात भएको झैँ भयो, तैपनि उनी ओर्लेर प्रहरीको निगरानीमा सारा बजार घुमिन् अहँ बीरे कतै थिएन।खुईय्य गर्दै.. अटोमा आई पुगेपछि त्यही झोला देख्छिन् गुड्किने।तर,खै किन हो त्यो झोला अघिको जस्तो माया लाग्दो थिएन,बरू त्यो झोलाले बीरेको कर्तुत लिएर हिँडेको जस्तो लाग्यो उनलाई।

प्रतिक्रिया