भ्यालेन्टाइन कथा ‘रातो गुलाव’

इनेप्लिज २०८१ फागुन २ गते ४:२३ मा प्रकाशित

किशोर सापकोटा / अमेरिका

कथाकार किशोर सापकोटा

साइक्याट्रिक डाक्टरलाई भेट्न केहीबेर कुर्नु पर्ने भयो । करुणालाई एकदमै झिंझो लागिरहेको थियो ।

‘मम् ! अर्को दिन आए हुँदैन ?’, करुणाले संगै भएकी आमालाई सोधी ।

‘एकै छिन त हो नि, यत्रा मानिस कुरिरहेका छन्’, आमाले भनिन् ।

करुणाले पर्खिरहेका मानिसलाई हेरी । सवै चुपचाप पर्खिरहेका थिए ।
एकैछिन मोवाइल चलाई । फेरि थन्काई । मानिसहरुका अनुहार पढ्न थाली ।

‘किन आए होलान् यिनीहरु, यति तन्दुरुस्त देखिन्छन्, के हुँदो हो यिनीहरुलाई ?’, करुणाले मनमनै सोधी ।

केहीबेरमा करुणाको पालो आयो । ऊ आमासंगै डाक्टरको कक्षतिर प्रवेश गरी ।

डा. विनय शर्मा । शहरको नामुद साइक्याट्रिक । अखवारहरुमा उसका मानसिक समस्या र समाधानसम्वन्धी कोलमहरु छापिएका हुन्छन् । अखवारहरुमा विनयको सानो आकारको तस्विर देखेकी थिई तर खास मतलव गरेकी थिइन । करुणालाई जिन्दगीमा कुनै दिन साइक्याट्रिक डाक्टरकोमा जानु पर्ला भन्ने लागेको नै थिएन । चासो पनि दिएकी थिइन ।
आज पनि आफ्नो खुसीले ऊ आएकी थिइन । आमाको जिद्धी थियो ।

‘नमस्कार डाक्टर साव !’, पस्दापस्दै करुणाकी आमाले भनिन् गरिन् । करुणाले पनि आमालाई पछ्याउंदै नमस्कार गरी ।

जब डाक्टर विनयको अनुहार प्रष्ट देखी, उसलाई कस्तो कस्तो लाग्यो ।

‘हत्तेरी, नमस्कार गर्नुपर्ने खालको डाक्टर नै रहेनछ’, करुणाले मनमनै भनी ।

उमेर पनि करुणाको जस्तै नै होला । डाक्टरहरु त सफाचट् हुनुपर्ने हो, विनय त्यस्तो थिएन । अखवारमा छापिएका तस्विरहरुमा सफा देखिने विनयले झुस्स दाह्री पालेको थियो । कपाल राम्ररी कोरेको थिएन, कपालमाथि चाया प्रष्ट देखिन्थ्यो । लगाइरहेको कपडामा कताकता टाटा परेका थिए, सफा थिएनन् । टेवल पनि राम्ररी पुछिएको थिएन । टाढावाट हेर्दा भव्य देखिने डाक्टर अफिसमा नजिकबाट हेर्दा भने राम्रो व्यवस्थापन नभएको प्रष्ट देखिन्थ्यो ।

‘बस्नुहोस्’, विनयले भन्यो ।

आमा अलि असजिलो मान्दै वसिन् । करुणा वेपर्वाह बसिदिई, मानौं उसलाई यो डाक्टरसँग केही लिनुदिनु नै थिएन ।

‘यो मभन्दा पनि वेपर्वाह भएको रहेछ’, करुणाले मनमनै भनी ।

‘करुणा को हो ?’, विनयले सोधे ।

‘मेरी छोरी’, आमाले करुणालाई देखाइन् ।

समस्या के हो ?

‘के भन्नु डाक्टर साव, फुलेको रातो गुलावजस्ती थिई । सवैको मनै लोभ्याउने । आकासको चरीजस्ती थिई, साह्रै स्वच्छन्द । भगवानले सारा खुसी उसैलाई खन्याइदिएका छन् कि झै लाग्थ्यो, सारै मस्तराम । तर, पछिल्लो महिनामा एकाएक सबै कुरा बदलियो । आजकल चुपचाप बस्छे । ओइलाएको गुलावजस्तो देखिन्छे । अनुहारमा कुनै क्षण पनि खुसी देखिदैन ।’

विनयले करुणालाई निहालेर हेर्यो । करुणा उस्तै वेपर्वाह बसीरही ।

विनयले आमालाई बाहिर जान भन्यो । कतिपय छोराछोरी आफ्ना समस्या वावुआमाका अगाडि सुनाउन तयार हुंदैनन् भन्ने करुणाकी आमालाई थाहा थियो । उनी बाहिरिइन् ।

विनयले केही औपचारिकताहरु पुरा गर्यो र चेकजाँचको प्रकृयामा प्रवेश गर्यो ।

आजको बार, विक्रम सम्वत, इश्वी सम्वत घरको ठेगाना, देशका प्रधानमन्त्री, राष्ट्रपतिको नाम अनेक प्रश्न सोध्यो ।
उत्तरहरु सही थिए । करुणा हरेक विषयमा अपडेट थिई ।

‘तपाइलाई आत्महत्या गरौं गरौ वा आफैलाई हानी पुर्याऊँ जस्तो लाग्छ’, केही प्रश्नहरुपछि उसले अलि फरक ट्रेन्डको प्रश्न गर्यो ।

‘म बाँच्न चाहन्छु डाक्टर ! मर्न होइन’, करुणाले सोझो जवाफ दिएकी थिई ।

एउटा मनोचिकित्सकले के कस्ता प्रश्नहरु गर्छन् भन्ने करुणालाई जानकारी नभएको होइन । ऊ आफै पनि साइकोलोजीको विद्यार्थी थिई । तर, विनयका कतिपय प्रश्नहरु सही फम्र्याट्मा समेत थिएनन् ।

‘तपाइ प्रेममा हुनुहुन्थ्यो ?’, विनयले अर्को प्रश्न गर्यो ।

‘कुनै अभागी फेला परेको नै थिएन, कहाँबाट प्रेम गर्नु ?’, करुणाले फेरि पनि निस्फिक्री जवाफ फर्काई ।

अरु केही प्रश्नोत्तर जारी राख्यो तर प्रश्नहरुमार्फत करुणालाई के भएको हो भन्ने जवाफ भने पाउन सकेन ।

‘एकै छिन है करुणाजी’, विनयले केही समय माग गरेर कम्प्युटरमा आँखा डुलायो । आफुसँग अप्वाइन्टमेन्ट लिनका लागि करुणाले भरेको फर्मलाई ध्यान दिएर पढ्यो । करुणासँग समय मागेर अर्को कक्षमा गयो । टेलिफोनमा कसैसँग कुरा गर्यो र फर्कियो ।

‘तपाइ माइन्ड गर्नु हुन्न भने म तपाइको मोवाइल हेर्न सक्छु ?’, विनयले एकाएक करुणालाई अर्को प्रश्न गर्यो ।

करुणाले केही असहज मानेको हो कि जस्तो प्रतित भएपछि फेरि भन्यो, ‘म तपाइको गोपनीयताको पुरापुर सम्मान गर्दै फोटो फोल्डर वा बैंक सम्वन्धित एप्सहरु छुने छैन ।’

पासवर्ड अनलक गरिएको करुणाको मोवाइललाई विनयले गौर गरेर हेर्यो । उसले सफारी, मोजिला, क्रोमलगायत सबै व्राउजरहरुलाई खोलेर हेर्यो । हिस्ट्री हेर्यो र फिर्ता दियो ।

‘तपाइले मोवाइल निकाल्दा झोलामा रातो गुलाव देखेको थिएँ, किन बोक्नु भएको ?’, विनयले साना साना कुरामा पनि कुनै संकेत मिलिहाल्छ कि झै सोध्यो ।

‘यो फूल लिने कोही अभागी भेटिन्छ कि भनेर बोकेकी ।’

‘आज त साँझ नै पर्न लाग्यो, मबाहेक कोही भेटिएला जस्तो लाग्दैन’, विनयले भन्यो, ‘अप्ठेरो नमान्ने हो भने मलाई दिनुहोस् ।’

‘तपाइ डाक्टर बन्ने कि प्रेमी ?’ करुणाले आँखामा आँखा जुृधाएर भनी ।

‘दुवै’, विनयले भन्यो, ‘तपाइ प्रेमीको खोजीमा हुनुहुंदो रहेछ, म प्रेमिकाको खोजीमा ।’

‘प्ले व्वाइ हुनुहुंदो रहेछ’, करुणा हाँसी, ‘आफ्नै क्लिनिकमा आएका विरामीलाई पनि नछाड्ने ?’

‘जीवनमा पहिलो पल्ट कसैसँग रातो गुलाव मागी रहेछु, म कसरी प्ले व्वाइ ?’, विनयले प्रतिवाद नै गर्यो, ‘तपाइलाई केवल माया चाहिएको रहेछ, आफ्ना मनभरीका रहरहरुलाई सँगसँगै पुरा गर्ने साथी चाहिएको रहेछ, म त्यो बन्न सक्छु भन्ने आँट देखाएको मात्र हुँ ।’

करुणाले विनयलाई नियालेर हेरी । मनोविज्ञानको विद्यार्थी हो । विनयको मनोविज्ञान पढी ।

‘सत्य भनेको करियर बनाउने नाममा आजसम्म प्रेमबाट भागिरहेँ’, विनय नै फेरि बोल्यो, ‘आज आफ्नै अगाडि आफुलाई सुहाउने मान्छे पाउँदा रोक्न नसकेको मात्रै हो । त्यो झोलामा भएको रातो गुलाव नओइलाओस् भन्ने चाहेको मात्रै हो ।’

विनय र करुणाको संवाद जति लम्विदै थियो उति नै बाहिर बिरामीको लाइन पनि लम्विदै थियो । विनयले आफ्नो सेक्रेटरीलाई अरु बिरामी नलिन कल गर्यो ।

‘जो वाधा किया तो निभाना पडेगा भन्ने खालकी केटी म होइन नि’, आफ्नो एक खालको निश्कर्ष सुनाउंदै करुणाले भनी, ‘एउटा शर्तमा म तपाइको प्रेम स्वीकार गर्न सक्छु ।’

मायामा सदैव एउटै मात्र शर्त हुन्छ, ‘अर्कोको खुसीमा आफु रमाउने । त्यो शर्त मलाई मन्जुर छ ।’
विनयको आँखामा आत्मविश्वास थियो ।

‘म तिमीलाई छाडिदिन सक्छु, कुनै गुनासो गर्न पाइदैन’, करुणाले एकाएक विनयलाई तिमी सम्वोधन गरी ।

‘म थानकोटसम्म जाने टेम्पुलाई काकडभिट्टासम्म पुर्याऊ भन्ने खालको मुर्ख पनि त होइन’, विनयले भन्यो, ‘म गन्तव्यको ख्याल गर्छु, सवारी कति फेरियो भन्ने ख्याल गर्दिन, जीवन पनि यस्तै हो ।’

‘गज्जव ! परिभाषा’, करुणाले भनी, ‘जीवनलाई यति सरल ढंगले बुझेको मानिसको जीवनशैली भने के व्रेकअप भएको मान्छेको जस्तो बनाएको त ? कि भर्खरै व्रेकअप भएको थियो ?’

‘सत्य भनिरहेको छु, अहिलेसम्म प्रेम गर्ने मौका नै पाइनँ, आज परीक्षा दिंदैछु, पास हुन्छु कि फेल हुन्छु थाहा छैन ।’

‘प्रेमको परीक्षामा एक्लो परीक्षार्थी हुंदैन’, करुणाले भनी, ‘दुइ परीक्षार्थी हुन्छन्, कि दुवै पास हुन्छन् कि दुवै फेल हुन्छन् ।’

विनयले करुणालाई निकै वेर निहालिरह्यो । करुणाले विनयलाई पढीरही ।

‘त्यो फूल दिएर गयौ भने सम्झ एउटा रातो गुलावले मेरो जिन्दगी पुरै रंगिने छ’, विनयले निश्कर्ष सुनायो ।

करुणाले झोलावाट रातो गुलाव निकाली । विनयको सामुमा फिल्मी शैलीमा घुँडा टेकी र गुलाव दिँदै सोधी, ‘वील यु वी मा इभ्यालेन्टाइन ?’

विनयले पहिला फूल समायो र करुणालाई उठाएर छातीमा टाँस्यो । करुणाको निधारमा मायालु चुम्वन गर्यो ।

करुणा विनयबाट छुट्टिएर ढोकातर्फ बढी । ढोकावाट बाहिरिंदै गर्दा फर्किएर मुस्कुराई ।

‘भोलिको पहिलो विरामीमा मेरो नाम राख्नु । म भोलि आउँछु ।’

करुणाले एउटा गुलावको फुल छाडेकी थिई तर करुणाको अनुहार हेर्दा लाग्थ्यो उसको सबै विमारी त्यहीँ छाडिएको थियो ।

बाटोमा आमासँग करुणाले पहिला झैँ कुरा गरी । घरमा खुलेर हाँसी । महिनौपछि फेरि घरमा खुसीको माहोल छायो ।

भोलिपल्ट करुणा एक्लै डा. विनयको अफिस पुगी । सुनसान थियो । विनयको सेक्रेटरीले उसलाई सोझै विनयको कक्षमा पुर्याइ ।

आश्चर्य, आज विनयको कार्यकक्ष पुरापुर सफाचट थियो, मानौ ऊ रातभर यसलाई सजाउन व्यस्त रह्यो ।

‘वाह ! एक रातमा यत्रो परिवर्तन ?’, आंखा चारैतिर घुमाएर करुणाले सोधी ।

‘मैले तिमीलाई भनेको थिएँ, तिमी एउटा रातो गुलाव छाडेर जाऊ, त्यसले मेरो जिन्दगी रंगाउने छ । बाँकी तिम्रो सामु छ ।’

विनयले इज्जतका साथ करुणालाई काउचमा बसायो । विनय आज दाह्री काटेर सफाचट् थियो । पोशाक छुँदा पनि मैलो लाग्ला कि झै सफा थिए । साह्रै हेन्डसम् । परिवर्तन विनयमा मात्रै होइन, करुणामा पनि थियो । रातो गुलावको रंग करुणाको अनुहारमा पनि पोतिएको थियो ।

‘करुणा ! तिम्रो र मेरो भेटघाटको यो दोश्रो दिन हो, मनमा भने लागिरहेछ हामी लामो समयदेखि एकसाथ छौं’, विनयले केही बेर करुणालाई हेरेर भन्यो, ‘तर पनि मनमा एक खालको हतार महसुस हुन्छ, केही रोमाञ्चक क्षणहरुको कल्पना आउँछ । त्यसैले आउन लागेको भ्यालेन्टाइनलाई केही स्पेशल बनाउन चाहना छ, तिमी कस्तो भ्यालेन्टाइन डे को कल्पना गछ्र्यौ ?’

करुणाले केहीबेर त्यो क्षणको कल्पना गरी ।

‘भीडभाडभन्दा पर’, करुणाले आफ्नो कल्पना सुनाउन थाली, ‘सलल बगेको पानीमाथि तैरिएको रातो गुलावले सजाएको एउटा डुंगामा तिमी र म । चिसो साँझमा प्रेमिल न्यानो अंगालो । तिमीमा म र ममा तिमी हराउँदै हराउँदै गरेको क्षणमा क्यान्डिल लाइट डिनर । बेस्करी चिच्याएर तिमीलाई आइ लभ यु भन्न पाउँ, त्यो आवाज तिमी र मबाहेक कसैले नसुनोस्, टाढा टाढा पुगेर आवाज हराओस् । मनमा कुनै संकोच बाँकी नरहोस्, भविष्यको चिन्ता नहोस् ।’

‘तिम्रो प्याकिङ सुरु गर’,, विनयले निश्कर्ष सुनायो ।

दुइ दिनपछि उनीहरु काठमाडौं विमानस्थलवाट दुवइलाई ट्रान्जिट बनाएर अमेरिकाको सिकागो हुंदै केन्टकीको लुइभेल शहर पुगे । विमानस्थलबाट गाल्ट होटल जानका लागि विमानस्थलमा विवाहको लागि सिंगारिएको झैं अष्टिन प्रिन्सेस लिमोजिन कार तयार थियो । कारको पछिल्लो सीटमा करुणा विनयको काँधमा ढल्किएकी थिई । यो यात्रा उसले अनुमान गरे भन्दा बढी रोमाञ्चक भइरहेको थियो ।

करिव १० मिनेटमा नै ओहायो नदीको किनारमा रहेको होटल गाल्टमा उनीहरु पुगे । गाडीबाट उत्रिंदा साँझ पर्न लागिसकेको थियो । यो साँझ विशेष थियो । भ्यालेन्टाइन डे को सांझ । होटलको गेटमा उत्रिदा करुणालाई होटलको छेउबाट बगिरहेको ओहायो नदीले निकै तानेको थियो । साँझको उज्यालोमा लुइभेल डाउनटाउन चम्किएको थियो । कोठामा गएर उनीहरु फ्रेस भए । करुणाले रातो वनपिस लगाई । मेक अप गरी । करुणाले झ्यालबाट आँखाले भ्याउन्जेलसम्म पर ओहायो नदीलाई हेरी, पारी इण्डियना थियो ।

झ्यालबाट बाहिर हेरिरहेकी करुणालाई विनयले विस्तारै पछाडिबाट अंगालोमा कस्यो । करुणा अलिअलि लजाई । विनय रातो टाइका साथ सुटमा सजिएको थियो ।

‘ऊ तलनदीमा हेर, तिम्रो कल्पनाको डुंगा’, विनयले होटलको तलनदीमा रहेको वेले अफ लुइभेललाई औंल्याउंदै भन्यो ।
१ सय १५ वर्ष पुरानो यो स्टिम वोट लुइभेल शहरको आकर्षण मध्ये एक हो ।

होटलवाट निस्कनुअघि विनयले रातै रंगको ओभरकोट करुणालाई लगाइदियो । उनीहरु नदीतर्फ लम्किंदै गर्दा विस्तारै हिउँ पर्न थाल्यो ।

काठमाडौंमा हुर्किएकी करुणाले यति नजिकबाट हिऊ देख्न पाएकी थिइन । उनीहरुलाई वेले अफ लुइभेलमा विशेष स्वागत भयो । वोटलाई पुरै सिंगारिएको थियो ।

विनयले करुणालाई समातेर वोटको छतमा लग्यो । सजाइएको टेवलमा उनीहरु कुर्सी जोडेर बसे । बाँकी सवै टेबलहरु खाली थिए । पीटर वी. हेलेण्डले पियानो र गिटार प्रयोग गरेर तयार गरेको इन्स्ट्रुमेन्टल लभ म्युजिक सानो आवाजमा बजिरहेको थियो । उनीहरु चुपचाप यो क्षणको मजा लिइरहे ।

वले अफ लुइभेल पानीलाई पछाडि हुत्याउँदै अगाडि बढ्यो । द फोर्थ व्रिज साँझको बत्तीमा झलमल्ल देखिन्थ्यो । फोर्थ व्रिजमा भएका प्रेमिल जोडीहरुले उनीहरुलाई हात हल्लाएर स्वागत गरे । यो बेला करुणाको मुटु जोड जोड धड्किएको थियो । व्रिजको मुनिबाट ओहायोमा अगाडि बढिरहेको वोटमा चालक दलका सदस्यबाहेक कोही पनि थिएनन् । उनीहरु लुइभेल डाउनटाउन र ओहायो नदीमा देखिएको यसको रोमाञ्चक छायालाई नियाल्दै अगाडि बढे ।

वोट शहर छाडेर भीडभाडभन्दा टाढा पुग्यो जहाँबाट लुइभेल डाउनटाउन पर देख्न सकिन्थ्यो ।

करुणा कुर्सीबाट दौडिएर वोटको वारतर्फ दौडिई । हिउँ उसको कपालमा झर्दा कपाल कपास झैं फुलेको देखिन्थ्यो । विनय पनि पछिपछि दौडियो ।

‘आइ लभ यु, आइ लभ यु, आइ लभ यु’, करुणाले पुरै वातावरण थर्काउने गरी चिच्याइ ।

‘आइ लभ यु टु, आइ लभ यु टु, आइ लभ यु टु’, विनय उसै गरी चिच्यायो ।

उनीहरु हिऊले पुरै नढाकिउन्जेल अंगालोमा बाँधिइरहे । एकले अर्कालाई किस गरिरहे ।

वोट फेरि लुइभेल शहरतर्फ फर्किएको थाहा पाएपछि उनीहरु फर्किएर डान्स रुममा गए । लभ म्युजिकमा डान्स गरे ।

डिनर टेवलमा क्यान्डल लाइट डिनर सजाइएको थियो । डिनर खाए । एउटा रोमाञ्चक अनुभूतिका साथ होटल फर्किए ।
होटल फर्कदै गर्दा विनयले करुणालाई भ्यु प्वाइन्ट जाने भनेर सोध्यो । विनय युनिभर्सिटी अफ लुइभेलमा पढेको कारण यहाँको बारेमा पुरै जानकार थियो । करुणा विनय सँगको साथ अझ लम्वियोस् भन्ने कामना गरिरहेकी थिई । वेले अफ लुइभेलले दिएको रातो छाता ओढाएर विनयले भ्यु प्वाइन्ट पुर्यायो, जहाँबाट ओहायोको विशालता देख्न सकिन्थ्यो । हिउँ परिरहेको रातमा भ्यु प्वाइन्टको ठुलो मैदानमा करुणा दौडिएर रमाई । उसैगरी फेरि पनि चिच्याई, ‘आइ लभ यु, आइ लभ यु, आइ लभ यु ।’

उनीहरु रोमाञ्चक मुडमा कोठामा फर्किए ।

होटलमा विनयको अंगालोमा बाँधिएर करुणा विना संकोच हिडिरहेकी थिई ।

‘आज परिवारका सबै सदस्यहरु यहाँ भएको भए म तिमीसँग विवाह गर्ने थिएँ, आजको रातमा तिमीसँग सुहागरात मनाउने थिएँ’, विना संकोच करुणाले आफ्नो मनको कुरा सुनाई ।

‘वन्डरफुल आइडिया’, यस्तो कुरा काठमाडौंमा नै किन नभनेको ?

‘तिमीलाई पहिलो भेटमा पुरै लथालिङ्ग भेटेको थिएँ, यति राम्रो म्यानेजर होलाऊ भन्ने कल्पना नै गर्न सकिन नि’, उसले प्रशंसा गरी ।

‘तिमीले दिएको एउटा रातो गुलावले मेरो पुरै जिन्दगी रंगिने छ भनेर मैले भनेकै थिएँ नि’, विनयले डोहोर्याउदै करुणालाई होटलको वलरुमतर्फ लग्यो ।

वलरुमको माहोल पुरै फरक थियो । नेपाली पोशाकमा थुप्रै मानिसहरु थिए । पर मण्डप थियो, जहां पुरोहितले मन्त्रोच्चारण गरिरहेका थिए । करुणाले आंखा डुलाइ, जहां उसका सम्पुर्ण परिवार उनीहरुको प्रतिक्षामा थिए ।

‘ह्वाट अ सरप्राइज’, करुणा चिच्याई ।

‘तिमीले केही क्षण अघि भनेको होइन, परिवारका सवै सदस्य भए विवाह गर्थें, आज सुहागरात मनाउँथे भनेर’, विनय मुस्कुरायो, ‘म मनोचिकित्सक हुँ डियर, कस्ले कुन बेला कुन कुरा खोज्छ भन्ने थाहा छ । त्यसैले यी सबै कुराको व्यवस्थापन गरेँ ।’

करुणाले फेरि खुसीले विनयलाई अंगालो हाली ।

उनीहरु मण्डपमा बसे । विवाह सम्पन्न भयो ।

युनिभर्सिटी अफ लुइभेलमा नै पढेको कारण विनयका धेरै साथीहरु उपस्थित थिए । लुइभेलमा नेपाल र भुटानबाट आएका नेपाली भाषीहरुको निकै ठुलो समुदाय छ र त्यहाँ धेरै मानिसहरुको उपस्थिति रहेको थियो । विवाहपछि सबैले उनीहरुलाई बधाई दिए ।

विवाह सकिएपछि करुणाले एकाएक माइक समाई । यति ठुलो आयोजनाका लागि विनयलाई धन्यवाद दिई । शुभकामना दिन उपस्थित सबैप्रति आभार व्यक्त गरी ।

सबैप्रति आभार व्यक्त गरेपछि उसको अनुहार एकाएक बदलियो ।

‘आज म जति खुसी छु, त्यति नै यो मनको एउटा कुनामा अपराधबोध पनि भइरहेको छ, सबैलाई नियाल्दै करुणा बोली, मलाई यति माया गर्ने मान्छेलाई म धेरै समय साथ दिन सक्दिनँ, म चाँडै नै मर्दैछु, म मर्दैछु भन्ने जान्दाजान्दै पनि उसलाई माया गरेँ । विवाहसम्म डोहोर्याएर ल्याएँ ।’

करुणा बोल्न सकिन । घुँक्क घुँक्क रोइ । परिवारका सदस्यहरुमा एक प्रकारको त्रास देखियो । विवाह उत्सव शोकसभा जस्तो भयो ।

विनयले करुणालाई कस्सेर अँगालोमा बाँध्यो ।

‘यो दुनियाँमा अजम्बरी कोही पनि त छैन करुणा’, विनयले माइक समातेर भन्यो, ‘तिमी जुन दिन मेरो क्लिनिकमा आएकी थियौ, त्यही दिन मैले तिमी मर्दैछ्यौ भन्ने थाहा पाएको थिएँ ।’

करुणाले टाउको उठाएर प्रश्नवाचक आँखाले हेरी ।

‘मैले तिमीले अप्वाइन्मेन्ट बनाउँदा भरेको फर्ममा तिम्रा चिकित्सकहरुको सुची हेरेको थिए जहाँ मेरो साथी डा. विमल वाग्लेको नाम समेत थियो । तिमीले घरमा त आफ्नो समस्याबारे बताइनौ तर आफ्ना चिकित्सको सुचीमा वास्तै नगरी विमलको नाम लेखिदियौ । मैले तिमीलाई कक्षमा छाडेर अर्को कोठाबाट विमललाई कल गरेँ । तिमी मेरो र विमल दुवैको विरामी भएकोले सुचना आदानप्रदान गर्न कानुनले वर्जित गर्दैनथ्यो । जब विमलले तिम्रो विमारीको बारेमा बतायो, आइ वाज सक्ड ।’

‘कोठामा फर्किएपछि मैले तिम्रो मोवाइल मागेर हिस्ट्री सर्च गरेर हेरेको थिएँ, जहां तिमीले भोगिरहेको क्यान्सरको कुनै उपचार छ कि भनेर खोजेकी थियौ ।’

कोठाको माहोल पुरै स्तव्ध थियो । कसैका नजर उठ्न सकेका थिएनन् । विनय नै बोलिरह्यो ।

‘तिमीले भनेकी थियौ, म यो गुलाव दिने एउटा अभागी खोजिरहेकी छु । तिमीले भनेको जस्तो अभागी मबाहेक कोही अर्को हुनै सक्दैनथ्यो किनकी मेरो पनि जीवन लामो छैन । मलाई पनि तिमीलाई जस्तै मायाको आभाष गर्न मन थियो । जिन्दगी कति लामो बिताइयो भन्ने कुनै मतलव हुँदैन, कति मजाले बिताइयो भन्ने कुराको मतलव हुन्छ । मैले तिमीलाई भनेको थिएँ करुणा, थानकोटसम्म जाने टेम्पुलाई काकडभिट्टा जाऊ भनेर म भन्न सक्दिनँ । मेरो पनि जीवन त्यही थानकोटसम्मको लागिजस्तै हो ।’

करुणाले विनयलाई गम्लङ्ग अंगालो हाली । कहालिएर रोइ । आफु मर्दैछु भन्ने कुराले जति अत्याएको थियो त्यो भन्दा पनि बढी विनय मर्दैछ भन्ने कुराले डराइ ।

विनयले करुणालाई अझ दर्विलो गरी समायो । ‘मैले भनेको थिएँ करुणा, तिमीले छाडेको एउटा रातो गुलावले मेरो जीवन रंगीन हुन्छ भनेर । म आज तिम्रो मायामा रंगिएको छु, आफुलाई अपुरो ठान्दिनँ, आज मेरो अंगालोमा मलाई माया गर्ने मान्छे छे । आफुलाई भाग्यमानी ठानेको छु ।’

वलरुमको कुनाबाट एउटा आकृति विस्तारै उनीहरु तर्फ लम्कियो । ऊ डा. विमल वाग्ले थियो ।

‘तिमीहरुको जीवन धेरै छैन सत्य हो, तर आजै टुँङ्गिने पनि होइन, यो पनि सत्य हो’, विमलले भन्यो , ‘विनयले भने झैँ को कति लामो समय बाँच्छ होइन, कसले कति क्वालिटी लाइफ बिताउँछ, त्यसको महत्व हुन्छ । म सकेसम्म तिमीहरुलाई लामो समय बचाउन प्रयासरत हुनेछु ।’

डा. विमलले विनय र करुणालाई अँगालोमा कस्यो । ऊ घुँक्क घुँक्क रोइरहेको थियो ।

‘मानिस जन्मिन्छ र मर्छ यो सत्य हो’, फेरि विनय बोल्यो, ‘जबसम्म यो रातो गुलाव फुलिरहन्छ, हामीजस्ता प्रेमिल जोडीहरु यो संसारमा रहिरहने छन् । हामी मरेपछि हाम्रो याद आउँदा रातो गुलावमा हेर्नु, हामी त्यहाँ मुस्कुराइरहेका हुनेछौ ।’

विनयले करुणालाई अँगालो हालेर बिस्तारै हलबाट बाहिरियो ।

प्रतिक्रिया