रोपाइँको समयमा मलको अभाव

इनेप्लिज २०७३ असार १६ गते ११:२९ मा प्रकाशित

downloadधनगढी, १६ असार । मुख्य खाद्यान्न बाली धानको रोपाइँमा व्यस्त रहेका कैलाली जिल्लाका किसान डिएपी रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् ।

खेतमा धान रोपेलगत्तै प्रयोग गर्नुपर्ने डिएपी मल अभाव भएपछि समस्या परेको गुनासो स्थानीय कृषक हरि चौधरीले सुनाउनुभयो ।

रोपाइँ भएकै दिन प्रयोग गर्नुपर्ने डिएपी मल नपाउँदा रोपेको बोट नफस्टाउने भई उत्पादन घट्ने चिन्ता लागेको चौधरीले बताउनुभयो ।

सरकारको अनुदानित मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीमा डिएपी मलको मौज्दात सकिएपछि किसानले मल अभाव झेल्नुपरेको हो ।

खेतीको समयमा यसअघिका वर्षमा पनि मलको अभाव झेल्दै आएका किसानले यस वर्ष पनि मल अभाव झेल्नुपरेको हो । कैलाली जिल्लामा झन्डै ७१ हजार २५० हेक्टर जग्गामा वर्षे धान बालीको खेती हुँदै आएको छ ।

सरकारले कृषि सामग्री कम्पनी लिमिटेडमार्फत अनुदानको रासायनिक मल कृषकलाई बिक्री वितरण गर्दै आएकोमा दुई वर्षदेखि अनुदानको मलको बिक्री वितरणको जिम्मा साल्ट टे«डिङ कर्पोरेसनलाई समेत दिइएको छ ।

यद्यपि यस वर्ष जिल्लाका कतिपय सहकारी संस्थाले बिक्री गर्नुपर्ने अनुदानित मल लुकाएर राखेको वा महँगो मूल्यमा बिक्री गरिरहेको आरोप लागेको छ ।

सहकारी संस्थाले अनुदानित मल पारदर्शी ढङ्गले आफ्नो क्षेत्रभित्रका कृषकलाई उचित मूल्यमा बिक्री गरे नगरेकोबारे अनुगमन हुन सकेको छैन ।

साल्ट टे«डिङ कर्पोरेसन लि धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डे कतिपय सहकारीले मल लुकाएर राखेको कारण अहिले डिएपी मलको अभाव सिर्जना भएको हुनसक्ने बताउनुहुन्छ ।

अनुदानित मल बिक्री गर्दै आएको सञ्जीवनी बचत सहकारी संस्था धनगढीका भोजराज जोशीले भने सहकारीले मल लुकाएको, वा कालोबजारी गरेको भन्नेबारेमा आफूलाई थाहा नभएको बताउनुभयो ।

साल्ट टे«डिङका सहायक महाप्रबन्धक पाण्डेले गत १२ महिनामा अनुदानित ५० किलो तौलको युरिया एक लाख तीन हजार ७४४ बोरा, डिएपी ३५ हजार २७ बोरा र पोटास एक हजार ९९२ बोरा सहकारी संस्थालाई बिक्री गरिएको जानकारी दिनुभयो । कार्यालयको गोदाममा अहिले १५ हजार बोरा युरिया र ६०३ बोरा पोटास मौज्दात रहेको छ ।

यस्तै कृषि सामग्री कम्पनी लि धनगढीले १२ महिनामा युरिया तीन हजार २९२ मे टन, डिएपी एक हजार ८३० मे टन र पोटास १०७ मे टन बिक्री गरेको छ ।

कृषि सामग्रीमा अहिले युरिया दुई हजार ४६० मे टन र पोटास १०३ मे टन मौज्दात रहेको छ ।

प्रतिक्रिया