प्राधिकरणको बेवास्ताका कारण सर्वसाधारणमा त्रास

इनेप्लिज २०७३ असार १३ गते ४:४२ मा प्रकाशित

मेलम्ची, १३ असार । सिन्धुपाल्चोक जिल्लामा विद्युतीय लाइनको अव्यवस्थित तार, कमसल खम्बा र बेला बेलामा आउने बढी करेन्ट प्रवाह(हाइभोल्टेज)का कारण करेन्ट लागेर तीन वर्षमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

चालु आवमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाए । गत ११ गते मात्र सिपापोखरे गाविस–१ कि ६० वर्षीया फत्तकुमारी घिमिरे खेतमा मकै गोडिरहेको अवस्थामा विद्युत् लाइनको तार चुडिएर करेन्ट लागेपछि खेतमै आफ्नो प्राण त्यागिन् ।

नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीको कारण वर्षौंपिच्छे अकालमा ज्यान गुमाउन बाध्य छन् सिन्धुवासी । विद्युत्कोे उचित व्यवस्थापन नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको मेलम्ची नगरपालिका–१२ का स्थानीय शिक्षक गणेश दाहालले बताउनुभयो ।

०७२ भदौ २३ गते बाटोमा हिँड्दै गर्दा ११ हजार भोल्डकोे हाइटेन्सनको तार चुडिएर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताउनुभयो ।

उहाँका अनुसार चालु आवमा करेन्ट लागेर मृत्यु हुनेमा फुल्पिङडाँडाका ११ वर्षीय बालक अब्राहम सुवेदी बाटो हिँड्दै गर्दा करेन्ट लागेर ज्यान गुमाए । त्यस्तै भोटसिपाका डम्बर तामाङ, हगामका सोमलाल तामाङ र फुल्पिङडाँडाको ५० वर्षीय सार्की भुजेलले बिजुलीकोे पोलमा छुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा तथ्याङ्क रहेको छ ।

आव ०७१-०७२ मा करेन्ट लागेर तीन जनाको मृत्यु भयो । पिसाब फेर्न घरबाहिर जाँदा ढलेको पोलको खम्बामा रहेको तारमा छँदा १९ वर्षीय मेलम्ची नगरपालिका–२ का अनिल तामाङले जीवन गुमाउनु प-यो । त्यस्तै हाइभोल्टेजका कारण मेलम्ची नगरपालिका–८ कि ३१ वर्षीया मनुमाया तामाङको मोबाइल चार्ज गर्ने क्रममा मृत्यु भयो भने धुस्कुन गाविसकी अञ्जली नेपालीले पनि करेन्ट लागेरै आफ्नो प्राण त्यागिन् ।

आव ०७०-०७१ मा मात्र जिल्लाको विभिन्न गाविसबाट एक बालकसहित छ जनाले अकालमा ज्यान गुमाउनु प-यो । करेन्ट लागेर ०७० फागुन २५ गते कुन्चोक गाविसका २२ वर्षीय राजेन्द्र थापाले अकालमा ज्यान गुमाए । त्यस्तै मेलम्चीका भीमबहादुर तामाङ, लक्ष्मी तामाङ, भोटेनाम्लाङकी पुड्की तामाङ र साँगाचोक गाविसका कुमाले विकले करेन्ट लागेरै ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार बस्नेतले बताउनुभयो ।

विभिन्न समयमा कहिले हाइभोल्टेज त कहिले बिजुलीको खम्बा ढलेर र विभिन्न क्षेत्रमा विद्युत्का तार लत्रिएर हुने मानवीय क्षतिप्रति प्राधिकरण मौन रहेको मेलम्चीका प्रकाश श्रेठले बताउनुभयोे ।

जिल्लाको शिखरपुर, नवलपुर, मेलम्चीलगायतका सडक क्षेत्रमा बिजुलीको तार लत्रिएका कारण बसमा छतमा तारले छुने हुँदा र काठको पोल मक्किएर ढल्ने गरेका कारण यसबाट समेत ठूलो दुर्घटना हुने अवस्था देखिएको बाडेगाउँ गाविसका स्थानीयवासी पासाङ तामाङले बताउनुभयो ।

सडक किनारमा रहेको बिजुली तार व्यवस्थापन गर्न निवेदन दिँदा समेत प्राधिकरणले चासो नदिने स्थानीय गुनासो छ । समयमा निवेदन गर्दा ध्यान नदिने र पछि दुर्घटना हुँदा बच्न खोज्ने प्रवृत्ति रहेकाले अब छिट्टै यस्तो गैर जिम्मेवार काम गर्न नहुने सिन्धुवासी बताउँछन् ।

समय समयमा विद्युत्का कारण हुने दुर्घटना रोक्न सम्बन्धित प्रशासनले आफ्नो काम प्रभावकारी रुपमा गर्नुपर्ने देखिन्छ । प्राधिकरणको बेवास्ताले कति बेला बिजुलीकोे तार  चुडियर र पोल ढलेर लाग्ने हो भन्ने त्रासमय जीवन बिताउनु परेको तालामाराङका स्थानीय उमाकान्त लामिछाने बताउनु हुन्छ ।

प्रतिक्रिया