आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १८:५५
वासिङटन डिसी 09:10

बेगनासलाई जलकुम्भीबाट जोगाइने

इनेप्लिज २०७३ असार ८ गते ६:५० मा प्रकाशित

Pokhara-Begnas-Tal-100x90लेखनाथ (कास्की), ८ असार । देशका विभिन्न ठाउँका ताल जलकुम्भीको मारमा परिरहेका अवस्थामा लेखनाथ नगरपालिकास्थित बेगनास ताललाई यसको प्रभावबाट मुक्त गर्ने प्रयास थालिएको छ ।

लेखनाथ नगरपालिकाको मुख्य सौन्दर्यका रुपमा रहेको बेगनास ताललाई जलकुम्भीको प्रकोपबाट मुक्त गर्दै यसको संरक्षण गर्न लेखनाथ नगरपालिका कार्यालयसहित विभिन्न सङ्घसंस्था यतिखेर सक्रियताका साथ लागिपरेका छन् । ताललाई जलकुम्भी प्रभावबाट मुक्त गर्नका लागि हालै नगरपालिकाको मुख्य सहयोग एवम् सिड फाउन्डेसन, होटल तथा रेस्टुरेन्ट एसोसिएसन र लिवर्डको सहयोगमा दुईमहिने सरसफाइ अभियानसमेत सम्पन्न गरिएको सिड फाउन्डेसनका निर्देशक दामोदरभक्त थापाले बताउनुभयो ।

थापाका अनुसार तालमा रहेका जलकुम्भी हटाउनका लागि लेखनाथ नगरपालिका कार्यालयको दुई लाख रुपैयाँ, सिड फाउन्डेसन र होटल तथा रेस्टुरेन्ट एसोसिएसनबाट ५०÷५० हजार र लिवर्डको २५ हजार रुपैयाँ सहयोगमा दुईमहिने अभियान सञ्चालन गरिएको हो । “अभियानअन्तर्गत बेगनास तालवरपर फैलिँदै गएको जलकुम्भी झार हटाउनका लागि हरेक दिन ३८ जना मानिसबाट झार फाल्ने काम गरिएको हो”, उहाँले भन्नुभयो ।

आफ्नो आयआर्जनको मुख्यस्रोत बनेको बेगनास ताल जलकुम्भीको मारमा पर्न थालेको भन्दै ताल आसपासमा बसोबास गर्ने जलाहारी समुदाय पनि यसको संरक्षणमा सक्रियताका साथ लागिपरेका बेगनास मत्स्य व्यवसायी समितिका पूर्वअध्यक्ष ज्ञानबहादुर जलाहारीले बताउनुभयो ।

“बेगनास तालमा माछा मार्ने र डुङ्गा सञ्चालन गरी आफ्नो जीविकोपार्जन गर्दै आएका यहाँका जलाहारी समुदायका बासिन्दालाई जलकुम्भीको बढ्दो प्रकोपसँगै व्यवसाय नै धरापमा पर्ने हो कि भन्ने चिन्तासँगै यसको संरक्षणमा जुट्नुपर्छ भन्ने चेतनासमेत जागृत गरेको छ,” उहाँले भन्नुभयो ।

ताल किनारामा बसोबास गर्दै आएका जलहारी समुदायका ४२ घरपरिवार माछा मार्ने एवम् डुङ्गा चलाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । जलकुम्भीको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न नसकेमा आफूहरूको रोजगारी पनि धरापमा पर्ने र तालको सुन्दरता हेर्न आउने पर्यटकको सङ्ख्यामा कमी हुने भएकाले स्थानीय जलाहारी समुदाय यसको संरक्षण जुटेको पिप्ले महिला समूहकी अध्यक्ष माया जलाहारी बताउनुहुन्छ । माछा मार्ने व्यवसायका साथै यस क्षेत्रका २० जनाभन्दा बढी महिला डुङ्गा चलाएर आफ्नो जीविकोपार्जन गरिरहेको उहाँको भनाइ छ ।

“पुरुषले मात्र नभएर यहाँका महिला व्यावसायिक रुपमा पनि डुङ्गा चलाउन थालेका छन्,” उहाँले भन्नुभयो, “माछा मार्ने र डुङ्गा चलाउने व्यवसायमा राम्रो आयआर्जन पनि हुने भएकाले त्यसका लागि तालको संरक्षण गर्नुपर्छ भन्ने चेतना स्थानीयवासीमा आएको छ ।” बेगनास तालको स्याङखुदी, मालादी, लिप्दी लगायतका स्थानमा जलकुम्भीको प्रकोप पर्ने गरेको बताउने बेगनास–रुपाताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकाल जलकुम्भी झिक्ने कामलाई निरन्तर जारी राख्नुपर्ने बताउनुहुन्छ ।

सात तालको बगँैचा सहरका रुपमा विशिष्ट पहिचान कायम गरेको नगरमा बेगनास ताललाई जलकुम्भीको प्रकोपबाट बचाउन र यसको संरक्षण गर्न लेखनाथ नगरपालिका कार्यालय निरन्तर लागिरहने नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले बताउनुभयो । “तालको संरक्षण नगरपालिकाको प्राथमिकतामा छ,” उहाँले भन्नुभयो, “यहाँका आवश्यक पूर्वाधार समेतको विकास गर्न तालपारि किनारमा रहेको बराह क्षेत्रमा विश्व बैंकको सहयोगमा एक करोड पाँच लाख रुपैयाँको सहयोगमा पदमार्ग, पिकनिक स्पट लगायतका भौतिक पूर्वाधार निर्माण गरिएको छ ।”

बराह क्षेत्रमा हाल शिला मात्र रहेको र यस ठाउँमा बराहको मन्दिरसमेत निर्माण गर्न पहल गरिने उहाँले जानकारी दिनुभयो । रामसार सूचीमा सूचीकृत औसत ६.५ (अधिकतम ११ मी) मिटर गहिरो बेगनास ताल समुद्री सतहबाट ६५० मिटरको उचाइमा छ । बाँध निर्माण हुनुअघि २०४४ सालमा २२४ हेक्टर क्षेत्रफल रहेकामा हाल ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया