असार २० देखि उखु किसानले प्रतिदिन ५० लाख पाउने सहमति

इनेप्लिज २०७३ असार ७ गते १४:२८ मा प्रकाशित

लामो समयदेखि आन्दोलन गरिरहेका रौतहटका उखु किसान र गरुडास्थित श्रीराम सुगर मिल्सबीच सहमति भएको छ । आगामी असार २० गतेदेखि प्रतिदिन ५० लाख रुपैयाको दरले उद्योगले किसानलाई भुक्तानी दिने सहमति भएको हो । उद्योगसित किसानले तीन आर्थिक वर्षको गरी करिब ९० करोड रुपैया पाउनुपर्ने बाँकी रहेको किसानहरुको दाबी रहेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरि बरालको विशेष पहलमा उद्योग र आन्दोलनरत पक्षबीच मंगलवार सहमति भएको छ । महेन्द्र राजमार्ग र वीरेन्द्र राजमार्गलाई पटक पटक जाम गर्दै आन्दोलन गरिरहेको उखु उत्पादक संघ रौतहटले मंगलवारदेखि राजधानी काठमान्डुस्थित गोल्छा अर्गनाइजेसनको कार्यालयमा धरना दिने कार्यक्रम राखेकोमा प्रजिअ बरालको आग्रहमा एक दिनको कार्यक्रमलाई स्थगित गरी वार्तामा बसेपछि दुवै पक्षबीच सहमति भएको संघले जनाएको छ । सहमतिअनुसार उद्योगले असार २० गतेदेखि साउन ५ गतेसम्म प्रतिदिन ५० लाख रुपैया दिने र बाँकी रहेको रकम कातिक मसान्तसम्म भुक्तानी गरिसक्नु पर्ने छ ।
प्रजिअ बरालले उद्योगपति हितेश गोल्छासित पटक पटक मोबाइल फोनमा वार्ता गरेका थिए । उद्योगको गरुडास्थित कार्यालयमा उद्योगका प्रमुख कर्मचारीहरु तथा आन्दोलनरत उखु उत्पादक संघ रौतहटका पदाधिकारी समेतलाई राखेर उद्योगपति गोल्छासित सम्पर्क गरी दुवै पक्षबीच सहमतिको वातावरण बनाउन सफल भएपछि प्रजिअ बरालले उद्योगपति गोल्छाको हस्ताक्षर इमेलबाट मगाएका थिए । सहमतिमा उद्योगको तर्फबाट उँखु महाप्रबन्धक, फाइनान्स महाप्रबन्धक र प्रशासकीय प्रबन्धकले समेत हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिको प्रजिअ बराल, नेपाल प्रहरीका रौतहट प्रमुख डा.गणेश रेग्मी, राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटका प्रमुख मोहन काफ्ले, सशस्त्र प्रहरी बल रौतहटका प्रमुखसमेत साक्षी बनेको संघका अध्यक्ष अशोक प्रसाद यादवले बताएका छन् ।
पहिले पनि पटकपटक उद्योग मन्त्रालयमा रकम भुक्तानीको विषयमा उद्योगपति गोल्छासित उद्योग मन्त्री सोमनाथ पान्डे र उद्योग राज्यमन्त्री मेघराज निषादको रोहबरमा सहमति भएको भए पनि उद्योगपति गोल्छाले सहमतिको पालन नगरको आरोप संघका कोषाध्यक्ष मनोज कुमार सहनीले लगाएका छन् । तर पनि सहमतिले किसानको हातमा रकम आउने आशा जागेको प्रतिक्रिया कोषाध्यक्ष सहनीले दिएका छन् ।

प्रतिक्रिया