रौतहटका किसानले उखुको मूल्य माग्दै बन्द गराए पूर्व–पश्चिम राजमार्ग

इनेप्लिज २०७३ असार ४ गते ११:४३ मा प्रकाशित

13487734_610075595815226_789007691_n

रौतहटको सर्वाधिक ठूलो उद्योगको रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडलाई बिक्री गरेको उखुको मूल्य नतिरेको भन्दै भुक्तानीको माग गर्दै किसानहरुले शनिवार पूर्व–पश्चिम राजमार्ग नै बन्द गराएका छन् । विगत तीन आर्थिक वर्षको गरी नब्बे करोड रुपैया उद्योगसित किसानले लिनुपर्ने बाँकी रहेको भन्दै रौतहटका उखु किसानले सरकारको ध्यानाकर्षण गराउन र उद्योगपतिलाई दबाब दिलाउन चन्द्रपुरमा शनिवार दिउँसो १ बजेदेखि ३ बजेसम्म दुई घन्टा चक्का जाम गरेका हुन् ।

13473987_610075572481895_792468422_n

भुक्तानीको माग र उद्योगपतिविरुद्ध समेत विभिन्न नारा लगाउँदै बजार परिक्रमा गरेर उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवको नेतृत्वमा सयकडौँ किसानले चन्द्रपुर बजारको परिक्रमापश्चात मुख्य सडकलाई जाम गरेका थिए । दिउँसोको चर्को घाममा कालोपत्रेमा बसेर किसानहरुले नाचगान र रमाइलो समेत गर्दै आफ्नो बन्दलाई सफल पारेका थिए ।

लगातार दुई दिनसम्म सदरमुकाम जोड्ने सहायक राजमार्गलाई जाम गरे पनि किसानको मागको विषयमा कतैबाट सकारात्मक प्रतिक्रिया नआएपछि पूर्वघोषित कार्यक्रम अनुसार नै किसानहरुले पूर्वपश्चिम राजमार्गको आवागमनलाई ठप्प गरेका हुन् ।
उद्योग मन्त्री सोमप्रसाद पान्डे तथा उद्योग राज्यमन्त्री मेघराज निषादको उद्योग मन्त्रालयस्थित कार्यकक्षमा कैयौँपटक वार्ता भएर सहमतिमा पुगे पनि उद्योगका उद्योगपति दिवाकर गोल्छाले सहमतिअनुसार भुक्तानीको तालिका सार्वजनिक नगरेको भन्दै किसानहरुले विभिन्न नारा लगाउँदै सडक जाम नै गरेका हुन् । देशको मूल राजमार्गको रुपमा रहेको पूर्वपश्चिम राजमार्गलाई नै किसानहरुले बन्द गरेपछि हजारौँ यात्रु अलपत्र परेका थिए भने सवारी साधनको चापले चन्द्रपुर अस्तव्यस्त बनेका थिए । चन्द्रपुरमा गरिएको दुई घन्टा मुख्य राजमार्ग बन्दले पनि सरकार र सम्बन्धित निकायको ध्यान किासनको मागतिर नगए असार ७ गते काठमान्डौस्थित गोल्छा अर्गनाइजेसनको कार्यालयमा धरना दिने कार्यक्रम तय गरिएको अध्यक्ष यादवको भनाइ छ ।

जिल्लाका करिब १८ हजार उँखु किसानको समस्यालाई उद्योगपतिले ध्यान नदिएको भन्दै बाध्य भएर सडक बन्दजस्तो आन्दोलन गर्नुपरेको अध्यक्ष यादवले बताएका छन् । उँखु खेतीमा किसानको लगानी लाग्ने तर समयमै भुक्तानी पाउने आशामा रहेका किसानलाई समस्या पर्दा भने उद्योगपतिले पैसा नै नदिने भएपछि किसानको अगाडि आन्दोलन बाहेक अरु कुनै विकल्प नभएको यादवको भनाइ छ । उखु किसानहरुले लगानी गरेर र मिहिनेत गरेर उब्जाएको उखु प्रत्येक वर्ष उद्योगलाई उपलब्ध गराइरहेको तर उद्योगले भने किसानको मर्का नबुझिरहेको आरोप अध्यक्ष यादवको रहेको छ ।

उद्योगपति गोल्छालाई आन्दोलनको बारेमा जानकारी गराइ सकिएको र किसानको करोडौँ रुपैया भुक्तानी दिलाउन सहजीकरण गरिदिन रौतहटका प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्रमार्फत जानकारी गराइ सकेको भए पनि कतैबाट कुनै पहल नभएपछि बाध्य भएर आन्दोलनको बाटो अपनाएको संघका कोषाध्यक्ष मनोज कुमार सहनीले बताएका छन् । किसानको उखु किन्ने तर भुक्तानी नै नदिने उद्योगको प्रवृत्तिले किसानहरु निकै मर्कामा परेको सहनीको भनाइ छ ।

जेठको अन्त्यतिर उखु उत्पादक संघ अध्यक्ष यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहट पुगेर गएको किसानको एउटा टोलीले प्रमुख जिल्ला अधिकारी नरहरि बराललाई भेटेर किसानहरुको समस्या अवगत गराएको थियो । प्रजिअ बरालले उद्योगपतिसित सम्पर्क गरी किसानको समस्या समाधानको लागि पहल गरिरहेको बताएका थिए । उद्योगपति दिवाकर गोल्छाले किसानको लागि रकमको व्यवस्था गरिरहेको सूत्र बताउँछ । लामो समयदेखिको नब्बे करोड रुपैया किसानको बाँकी रहेको सन्दर्भमा उद्योगपतिको कुराप्रति किसानको विश्वास नभएकोले किसानले सडक आन्दोलन गर्नु परिरहेको अर्का आन्दोलनमा देखिएका एकजना किसान बताउँछन् ।
चालू आर्थिक वर्षमा किसानसित किनेको उखुबाट उत्पादित सम्पूर्ण चिनी उद्योगले बेचिसकेको छ । किसानको उत्पादन किनेर उद्योगले चिनी उत्पादन गरी बेच्ने तर किसानलाई भुक्तानीको लागि जति ताकेता गर्दा पनि नसुन्ने उद्योगपतिको प्रवृत्तिले किसान विस्तारै हतोत्साहित हुँदै गएका छन् ।

प्रतिक्रिया