सर्वोच्च धर्मगुरु पोप लियो चौधौंले आफ्नो पहिलो मिसामा पवित्र संस्कार ग्रहण गर्दै ऐतिहासिक क्षणलाई अर्थपूर्ण बनाएका छन्। सिस्टिन प्रार्थनागृह (च्यापेल)मा सम्पन्न यो समारोहमा क्याथोलिक धर्मगुरुहरूले भक्तिभावपूर्वक सहभागिता जनाए।
पोप लियोले आफ्नै मातृभाषा अंग्रेजीमा प्रवचन सुरु गर्दै कार्डिनल(उच्च श्रेणीका धर्मगुरु)हरूलाई “प्रभुले गर्नु भएका चमत्कारहरू पहिचान गर्न” आह्वान गरे। त्यसपछि उनले इटालियन भाषामा बाइबलको मत्ती ग्रन्थबाट सन्त पिटरको उद्धरण प्रस्तुत गर्दै भने, “तपाईइशु हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र।”
उनले आफ्नो प्रवचनमा विश्वभर धर्मप्रचार विस्तारको आवश्यकता औंल्याउँदै भने, “जुन स्थानहरूमा विश्वास गुमिरहेको छ, मानव मर्यादामा भयावह उल्लंघन भइरहेको छ, त्यहीँ हाम्रो मिशनरी सेवा अत्यावश्यक छ।”
पोप फ्रान्सिसले जीवनभर “पछाडि परेका” समुदायहरूसँग सहानुभूति देखाउँदै सुदूर राष्ट्रहरूमा भ्रमण गरेका थिए । पोप लियोले पनि पेरुमा लामो समय सेवा पुर्याएका थिए। आफ्नो पहिलो प्रवचनमा उनले फ्रान्सिसको बाटोलाई पछ्याउने संकेत दिएका छन्।
एक प्रतीकात्मक निर्णयमा पोप लियोले परम्परागत सिस्टिन च्यापेल( सानो प्रार्थनागृह)को भव्य वेदी प्रयोग नगरी उच्च श्रेणीका धर्मगुरुहरूतर्फ फर्किएको वेदीमा बलिदान अर्पण गरे। यो कदमलाई कतिपयले “प्रार्थनामा सहभागी सबैका लागि बुझिने र स्वीकार्य ढंगले प्रार्थना गर्ने” पोपको निर्णयको रूपमा व्याख्या गरेका छन्।
प्रतिक्रिया