ललितपुरका पाँचवटा वडा बालश्रममुक्त

इनेप्लिज २०७३ जेठ २८ गते ४:४७ मा प्रकाशित

काठमाडौँ, २८ जेठ । ललितपुर उपमहानगरपालिकाले स्थानीय पाँचवटा वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने भएको छ ।

यही जेठ ३२ गते वडा नं १३, १४, १६ १८ र २० लाई बालश्रममुक्त वडाका रुपमा घोषणा गरिन लागेको हो । ललितपुर उपमहानगरपालिका कार्यकारी प्रमुख भरतमणि पाण्डेले बालश्रममुक्त वडा घोषणापछि दीर्घकालीन रुपमा त्यसको निरन्तरताका लागि बालश्रम मुक्त भएको वडाका घरधनीलाई परिचयपत्रसमेत दिइने जानकारी दिनुभयो ।

उहाँले भविष्यमा बालश्रममुक्त भएको घरको परिचयपत्र बनाउने व्यवस्था गरी त्यसलाई स्थानीय निकायले प्रदान गर्ने सेवासुविधामा सम्भावित सहुलियतसमेत रहने बताउनुभयो ।

कार्यकारी प्रमुख पाण्डेले बालमैत्री स्थानीय शासनलाई टेवा पु¥याउने हिसाबले बालश्रममुक्त वडा घोषणा गर्न लागिएको उल्लेख गर्दै त्यसमा सबैको साथ र सहयोग रहने अपेक्षाअनुरुप उपमहानगरपालिकाले कामकारबाही अघि बढाइरहेको छ भन्नुभयो ।

दुई वर्षअघि ललितपुरको वडा नं २१ लाई बालश्रममुक्त वडा घोषणा गरी बालश्रममुक्त घोषणा अभियानको सुरुवात भइसकेको छ । नेपाल सरकारको सन् २०१६ भित्र बालश्रम उन्मूलन गर्ने लक्ष्य लिएको छ । सोही अनुरुप बालश्रम मुक्त गराउन विभिन्न जिल्लामा हरियो झन्डा अभियान सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया