चार अझै बेपत्ता

इनेप्लिज २०७३ वैशाख ४ गते ५:५२ मा प्रकाशित

बेनी (म्याग्दी), ४ वैशाख । बेपत्ता छानबिन आयोगले बिहीबारदेखि बेपत्ता भएकाहरुको विवरण सङ्कलन सुरु गरेको छ ।

माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनका क्रममा बेपत्ता भएकाको लिखित उजुरी सङ्कलन भइरहेको छ । तथ्याङ्क सङ्कलन भएपछि यहाँ समेत बेपत्ता भएकाको खोजी सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समिति र गैरसरकारी संस्थाले तथ्याङ्क सङ्कलन गरेपछि राहतसहितको आधारभूत सुविधाबाट वञ्चित बेपत्ताका परिवारमा केही आशा पलाएको छ ।

जिल्लामा उपलब्ध तथ्याङ्कअनुसार बेपत्ताको सूचीमा बरङ्जा गाविसका दिलबहादुर थापा, ताकम–५ का रेशम मगर, बेगखोला–२ का श्यामप्रसाद रुचाल र तामबहादुर पुर्जा छन् । थापालाई सुरक्षा फौजले स्याङ्जा चित्रेभन्ज्याङाबाट माओवादीको आरोपमा बेपत्ता बनाएको थियो । उनको हत्या भएकोे हुन सक्ने भए पनि कहाँ र कहिले भन्ने बारेमा अझै पत्ता लाग्न सकेको छैन । पश्चिम म्याग्दीको ताकमका मगरलाई छिमेकी देवीस्थान गाविसबाट माओवादी फौजले आन्दोलनमा सहभागी हुन लगेदेखि उनी सम्पर्कमा छैनन् ।

शान्ति प्रक्रियामा आएपछि माओवादी नेताले समेत फरक फरक भनाइ सार्वजनिक गर्ने गरेकाले पनि मगरको अवस्था रहस्यमय बनेको छ । त्यस्तै रुचाल २०६० साल चैत ७ गते म्याग्दी आक्रमणमा सदरमुकाम बेनीबाट बेपत्ता भएको स्थानीय शान्ति समितिका पूर्व अध्यक्ष देवेन्द्र केसीले बताउनुभयो ।

रुचाल भिडन्तमा मारिएको हुन सक्ने आशङ्का गरिएको छ तर पनि त्यसको पुष्टि अझै भएको छैन । तत्कालीन समयमा माओवादीका र बेवारिस शव कालीपुलस्थित पक्की पुलमा गाडिएको थियो । पुर्जा दोस्रो जनआन्दोलनमा बेनीबाट बेपत्ता भएका थिए । राजनीतिक दलको आन्दोलनको दिन उनलाई गाउँलेले देखे पनि त्यसपछि कसैले देखेका छैनन् ।

जनआन्दोलनमा राज्यपक्षबाट कसैलाई पनि नियन्त्रणमा लिएर राखेको देखिएको थिएन भने आन्दोलनमा समेत कोही पनि गम्भीररुपमा घाइते समेत भएका थिएनन् ।

प्रतिक्रिया